एसियन गेम्स महिला क्रिकेटमा भारतलाई स्वर्ण



काठमाडौँ ।
जापानमा जारी २०औँ एसियन गेम्स अन्तर्गत महिला क्रिकेटमा भारतले स्वर्ण जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा श्रीलंकालाई १४७ रनको फराकिलो हन्तरले हराउँदै भारतले २०औँ एसियन गेम्सको पहिलो स्वर्ण पदक जितेको हो । भारतले यसअघि सन् २०२२ को एसियन गेम्स महिला क्रिकेटमा पनि स्वर्ण जितेको थियो । भारतले दिएको २१७ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.२ ओभरमा ६९ रनमै अलआउट भयो । कप्तान चमारी अथापथुले सर्वाधिक २९ रन बनाइन् । कौशनी नुथ्याङ्गनाले १४ रन बनाइन् ।

भारतका लागि दीप्ति शर्माले ३ विकेट लिँदा शेफाली वर्मा, श्रेयंका पाटिल र श्री चरणीले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाएको थियो । स्मृति मन्धनाले सर्वाधिक ७९ रन बनाइन् । रिचा घोशले अविजित ४९ रन बनाउँदा शेफाली वर्माले ४८ रन बनाइन् । श्रीलंकाका लागि सुगन्धिका कुमारी, कविशा दिलहारी र चमुदी प्रबोदाले १–१ विकेट लिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार