शारदाको एम्बुलेन्स अब बिरामी बोक्ने अवस्थामा छैन



सुुर्खेत ।

बिरामीलाई नेपालगन्ज पु¥याएर फर्किएको शारदा नगरपालिकाको एम्बुलेन्स अब बिरामी बोक्ने अवस्थामा छैन । अर्को बिरामीका लागि अक्सिजन सिलिन्डर भर्न बाँके पुगेको एम्बुलेन्स सिलिन्डर पड्किएर लागेको आगोमा पूर्ण रूपमा जलेपछि नगरपालिकाको आपत्कालीन स्वास्थ्य सेवा नै प्रभावित हुने अवस्था आएको हो । बिहीबार बिरामीलाई नेपालगन्ज पु¥याएर सल्यान फर्कँदै गरेको कर्णाली प्रदेश ०२००१ झ ०२४५ नम्बरको ‘ख’ श्रेणीको एम्बुलेन्स बाँकेको जानकी गाउँपालिका–६ स्थित सूर्यशक्ति ग्यास उद्योगमा रोकिएको थियो । अर्को बिरामी ल्याउनुपर्ने भएकाले एम्बुलेन्समा प्रयोग हुने अक्सिजन सिलिन्डर भर्न खोजिएको थियो । त्यही क्रममा सिलिन्डर पड्किएपछि एम्बुलेन्समा आगो सल्किएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख प्रकाश भण्डारीले आगो तीव्र रूपमा फैलिँदा एम्बुलेन्स जोगाउन नसकिएको बताए । उनका अनुसार एम्बुलेन्स पूर्ण रूपमा जलेर काम नलाग्ने अवस्थामा पुगेको छ भने घटनामा चालक लोकेन्द्र बस्नेत घाइते भएका छन् । सामान्य उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको नगरप्रमुख भण्डारीले जानकारी दिए । चालकको उपचारपछि घटना तत्कालका लागि टरे पनि नगरपालिकाका लागि आकस्मिक बिरामीलाई कसरी अस्पताल पु¥याउने भन्ने अर्को ठूलो समस्या आएको छ,’ उनले भने, शारदा नगरपालिकामा नगर क्षेत्रका बिरामीका लागि यही एउटा एम्बुलेन्स प्रमुख आकस्मिक यातायातको साधन थियो ।

एम्बुलेन्स जलेपछि विशेषगरी राति, दुर्घटना, गर्भवती तथा सुत्केरी महिला र तत्काल उपचार आवश्यक पर्ने बिरामीलाई अस्पताल पु¥याउने व्यवस्थामा प्रत्यक्ष असर पर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकामा एउटा मात्रै एम्बुलेन्स थियो । त्यही पनि जलेर काम नलाग्ने अवस्थामा पुगेपछि आकस्मिक बिरामी तथा गर्भवती महिलालाई सेवा दिन समस्या हुने अवस्था आएको हो ।
नगरपालिकाले उक्त एम्बुलेन्सबाट ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र विपन्न नागरिकलाई स्वास्थ्य संस्थासम्म पु¥याउने सेवा दिँदै आएको थियो । दुर्गम तथा ग्रामीण भेगबाट बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने अवस्थामा एम्बुलेन्सको उपलब्धता आफैँमा स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा बन्दै आएको छ ।

एम्बुलेन्स नहुँदा अब त्यस्ता बिरामीलाई निजी सवारी, अन्य स्थानीय तहका एम्बुलेन्स वा वैकल्पिक साधनमा निर्भर हुनुपर्ने अवस्था आएको छ । आकस्मिक अवस्थाका बिरामीका लागि केही समयको ढिलाइ पनि महत्वपूर्ण हुनसक्ने भएकाले नगरपालिकाले तत्काल वैकल्पिक व्यवस्थाको खोजी गर्ने जनाएको छ ।तर सिलिन्डर किन पड्कियो भन्ने प्राविधिक कारण भने तत्काल स्पष्ट भइसकेको छैन । अक्सिजन सिलिन्डर भर्ने क्रममा विस्फोट भएपछि एम्बुलेन्समा आगो लागेको प्रारम्भिक विवरण भए पनि सिलिन्डरको अवस्था, भर्ने प्रक्रियामा अपनाइएको सुरक्षा मापदण्ड, भर्ने उपकरणको अवस्था तथा विस्फोटको प्राविधिक कारणबारे सम्बन्धित निकायबाट विस्तृत छानबिन हुने देखिएको छ ।

घटना भएको स्थान ग्यास उद्योग भएकाले त्यहाँको सुरक्षा व्यवस्थासहित एम्बुलेन्समा रहेको सिलिन्डरको अवस्था र प्रयोगसम्बन्धी पक्ष पनि अनुसन्धानको विषय बनेका छन् । तर प्राविधिक अनुसन्धानको निष्कर्ष नआएसम्म विस्फोटको कारणबारे कुनै एक पक्षलाई दोषी ठहर गर्न सकिने अवस्था छैन ।जलेको एम्बुलेन्स शारदा नगरपालिकाको आफ्नै स्रोतबाट तत्काल खरिद गरिएको साधन मात्र थिएन । काठमाडौँको तारकेश्वर नगरपालिका र शारदा नगरपालिकाबीच २०८० सालमा भगिनी सम्बन्ध स्थापना भएपछि तारकेश्वर नगरपालिकाले शारदालाई उक्त एम्बुलेन्स सहयोग गरेको थियो ।

एम्बुलेन्स प्राप्त भएपछि स्थानीय नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा लिन सहज भएको नगरपालिकाको भनाइ छ ।तर सहयोगमा प्राप्त भएको त्यही एउटा साधन अहिले पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नगरपालिकाले फेरि शून्यबाट आकस्मिक यातायातको व्यवस्था मिलाउनुपर्ने भएको छ । एम्बुलेन्स जलेपछि सबैभन्दा तत्कालको आवश्यकता वैकल्पिक एम्बुलेन्स व्यवस्था गर्नु हो । एउटा एम्बुलेन्स जलेको घटना केही घण्टाको दुर्घटना भए पनि त्यसको असर भने अस्पतालको ढोकासम्म पुग्ने बिरामीको यात्रासँग जोडिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार