
धनगढी ।
कैलालीको अत्तरियास्थित बसपार्कको स्थलगत अनुगमन गरिएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट, पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्ट, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलगायतको टोलीले आइतबार बसपार्क क्षेत्रको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बसपार्कको हिलाम्मे अवस्था, अव्यवस्था र पूर्वाधार अभावबारे जानकारी लिइएको थियो । त्यसक्रममा मन्त्री भाटले अत्तरिया बसपार्कको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले अत्तरिया बसपार्कलाई सुदूरपश्चिमकै प्रमुख यातायात केन्द्रका रूपमा विकास गर्न आवश्यक योजना र बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
‘अत्तरिया बसपार्क सुदूरपश्चिमको केन्द्र हो,’ मन्त्री भाटले भने, ‘यहाँको हिलाम्मे, अव्यवस्था तथा पूर्वाधार अभावको समस्या समाधान गर्न आवश्यक योजना बनाएर काम अगाडि बढाउनुपर्छ । यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट सुनिश्चित गर्ने विषयमा पहल गर्छु ।’
उनले गोदावरी नगरपालिकासँग समन्वय गरी बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने गरी काम अघि बढाइने बताए । गोदावरीका नगरप्रमुख वीरेन्द्र भट्टले अत्तरिया बसपार्क सुदूरपश्चिमकै महत्वपूर्ण यातायात केन्द्र भएकाले यसको व्यवस्थापन र स्तरोन्नति आवश्यक रहेको बताए । प्रदेश सरकारसँग सहकार्य गरी बसपार्कको दीर्घकालीन व्यवस्थापन तथा पूर्वाधार विकासका लागि ठोस योजना अघि बढाउने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्