सम्पादकीयः विपत्तिमा आशाको उज्यालो



रसुवामा आएको बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति पु¥याएको दशौँ र एघारौँ दिनमा भएका जीवित उद्धारका घटनाले विपत्तिको पीडाबीच आशाको सञ्चार गराएका छन् । बाढी गएको लामो समयपछि पनि मानिस जीवित भेटिनुले उद्धार प्रयासप्रति भरोसा बढाएको छ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दशौँ दिन दुई जना नेपाली नागरिकको जीवित उद्धार हुनु र एघारौँ दिन अपर त्रिशूली–१ को सुरुङबाट एक जना विदेशी नागरिक तथा नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित चारतले घरको चौथो तलाबाट एक महिलालाई जीवितै उद्धार गरिनु सामान्य घटना होइन । यी घटनाले विपत्तिमा अन्तिम सम्भावनासम्म खोजी जारी राख्नुपर्ने मानवीय पाठ दिएका छन् । विपत्तिपछि पहिलो प्राथमिकता उद्धार नै हो । तर कठिन भौगोलिक अवस्था, अवरुद्ध सडक, सञ्चार सम्पर्कमा आएको समस्या, सुरुङभित्रको जोखिम र बाढीको तीव्र बहावले उद्धार कार्यलाई अत्यन्त चुनौतीपूर्ण बनाएको थियो । यस्तो अवस्थामा उद्धारकर्मीले देखाएको धैर्य, साहस र निरन्तर प्रयास प्रशंसनीय छ । सुरुङजस्तो अँध्यारो, जोखिमपूर्ण र सीमित पहुँच भएको स्थानबाट धेरै दिनपछि मानिसलाई जीवित निकालिनुले उद्धारमा प्रविधि, दक्षता र धैर्यको महत्व पनि उजागर गरेको छ । यी घटनाले विपत्तिमा ‘अब सम्भव छैन’ भन्ने निष्कर्षमा छिट्टै पुग्नु हुँदैन भन्ने सन्देश दिएका छन् ।

मानिस कति समयसम्म जीवित रहन सक्छ भन्ने कुरा स्थान, अवस्था, उपलब्ध हावा, पानी, आश्रय र अन्य परिस्थितिमा निर्भर गर्छ । त्यसैले बेपत्ता नागरिकको खोजीमा वैज्ञानिक विधि, आधुनिक उपकरण र प्रशिक्षित जनशक्तिको अधिकतम प्रयोग आवश्यक हुन्छ । खोजी तथा उद्धारलाई केही दिनको औपचारिक प्रक्रियाका रूपमा होइन, सम्भावित जीवन बचाउने अभियानका रूपमा लिनुपर्छ । विशेषतः सुरुङ, भवन, पहिरोले पुरिएका संरचना तथा नदी किनारमा खोजीका लागि अत्याधुनिक उपकरणको उपलब्धता बढाउनुपर्छ । ड्रोन, थर्मल इमेजिङ, भू–भेदी उपकरण, जीवन संकेत पहिचान गर्ने प्रविधि तथा दक्ष उद्धार टोली विपद् व्यवस्थापनको स्थायी संरचनामा जोडिनुपर्छ । अहिलेको घटनाले नेपालमा विपद् उद्धारका लागि आवश्यक पूर्वतयारी अझै पर्याप्त नभएको देखाएको छ । विपत्ति आएपछि स्रोतसाधन जुटाउनेभन्दा विपत्तिअघि नै आवश्यक उपकरण, तालिम र जनशक्ति तयार राख्नु बुद्धिमानी हुन्छ । जीवित उद्धार भएका नागरिकको शारीरिक उपचारसँगै मनोसामाजिक हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ । लामो समय भय र असहाय अवस्थामा रहेका व्यक्तिमा त्यसको गहिरो मानसिक प्रभाव पर्न सक्छ । परिवारका सदस्यले पनि लामो समयसम्म भोगेको त्रास र अनिश्चितताबाट बाहिर आउन समय लाग्छ । त्यसैले उद्धारपछि उपचार, पुनस्र्थापना र मनोसामाजिक परामर्शलाई एउटै प्रक्रियाका रूपमा अघि बढाउनुपर्छ । जीवित उद्धारका यी घटनाले खोजीमा रहेका परिवारलाई पनि आशा दिएका छन् ।

आफ्ना प्रियजनको अवस्था थाहा नपाउँदा परिवारले भोगिरहेको पीडा शब्दमा व्यक्त गर्न कठिन हुन्छ । त्यसैले अन्तिम सम्भावनासम्म खोजी जारी राख्नु राज्यको दायित्व हो । मृत्युको पुष्टि नहुँदासम्म हराएका नागरिकको खोजीमा कुनै कसर बाँकी राखिनु हुँदैन । रसुवाको विपत्तिले ठूलो क्षति पु¥याएको छ । तर दशौँ र एघारौँ दिनमा भएका यी जीवित उद्धारले अँध्यारोबीच पनि जीवनको सम्भावना बाँकी रहन्छ भन्ने प्रमाणित गरेका छन् । अब यी घटनालाई केवल भावुक बनाउने समाचारका रूपमा होइन, नेपालको विपद् व्यवस्थापन प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छ । जीवन बचाउने आशा अन्तिम क्षणसम्म जीवित राख्नु नै विपद् व्यवस्थापनको पहिलो मानवीय धर्म हो । अबको चुनौती विपत्तिबाट सिकेर आगामी जोखिम न्यूनीकरण गर्नु हो । बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपलाई केवल आकस्मिक घटना मानेर पन्छिने प्रवृत्तिको अन्त्य आवश्यक छ । जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित पूर्वाधार निर्माण, प्रभावकारी पूर्वसूचना प्रणाली र स्थानीय तहसम्मको तयारीलाई प्राथमिकतामा राखिनुपर्छ । साथै, विपद्का बेला नागरिक आफैँले अपनाउनुपर्ने सावधानीबारे नियमित सचेतना विस्तार गर्नुपर्छ । राज्यका संयन्त्रबीच स्पष्ट जिम्मेवारी र चुस्त समन्वय भएमा क्षति कम गर्न सकिन्छ । त्रासदीका बीच जीवन जोगिएका यी घटनाले भविष्यप्रतिको हाम्रो तयारी अझ जिम्मेवार, संवेदनशील र परिणाममुखी हुनुपर्ने स्मरण गराएका छन् । यही सिकाइलाई व्यवहारमा उतार्नु नै पीडितप्रतिको वास्तविक सम्मान हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार