नेपालगन्ज (बाँके) ।
मानवता सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देशलाई व्यवहारमा उतार्दै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० स्थित सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले रसुवा बाढीपीडित नागरिकहरूको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा गर्नको लागि प्याब्सन बाँकेलाई रु. ३ लाख ४५ हजार ७ सय ७१ रूपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवस्थापनको सामूहिक पहलमा संकलित उक्त राहत रकमको चेक शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
हालै नेपालका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी र पहिरोले सयौँ परिवार विस्थापित भएका छन् । हजारौँ नागरिकले घरबार गुमाएका छन् भने धेरैले आफ्ना आफन्त र जीविकोपार्जनका आधारसमेत गुमाएका छन् । यस्तो पीडादायी परिस्थितिमा सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले केवल शैक्षिक संस्था मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने मानवीय संस्थाको रूपमा आफूलाई प्रस्तुत गरेको छ । चेक हस्तान्तरण कार्यक्रममा प्याब्सन बाँकेका सचिव विज्ञान शाह, नगरअध्यक्ष मानबहादुर थापासहित प्याब्सनको टोली विद्यालय पुगेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन, शिक्षक, कर्मचारी र विद्यार्थी सहभागिता रहेको थियो ।
विद्यालयका संस्थापक सदस्य डा. डक्टप्रसाद धितालले प्राकृतिक विपद्का बेला सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै विद्यालय परिवारले दुःखमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडालाई आफ्नै पीडा सम्झेर राहत संकलन गरेको बताए । उनले भने, ‘हामीले संकलन गरेको रकम ठूलो होइन, तर यसमा हजारौँ संवेदनशील मनहरूको माया र सहानुभूति मिसिएको छ ।विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट सहयोग गरे, शिक्षक र कर्मचारीहरूले स्वेच्छिक योगदान गर्नुभयो, विद्यालयले पनि जिम्मेवारी बोध गर्दै यस अभियानलाई सफल बनायो । विपद्को बेला हातेमालो गर्नु नै साँचो शिक्षा हो ।’
डा. धितालले विद्यालयले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई समाजप्रतिको दायित्व, सहानुभूति, सेवा र मानवीय मूल्य सिकाउने उद्देश्य राखेको उल्लेख गरे । उनका अनुसार यस राहत अभियानले विद्यार्थीहरूमा सामाजिक चेतना र जिम्मेवारीको भावना अझ बलियो बनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष केबी बसेलले बाढीबाट आएको मानवीय क्षतिले आफूहरूलाई अत्यन्त मर्माहत बनाएको बताए । उनले बाढीका समाचार, पीडित परिवारका अवस्था र बालबालिकाको दुःख देख्दा हृदय नै चिराचिरा भएको अनुभूति भएको उल्लेख गर्दै भने, ‘देशका नागरिक रोइरहेका बेला हामी मौन बस्न सक्दैनौँ । यो सहयोगले सबै समस्या समाधान गर्दैन भन्ने हामीलाई थाहा छ, तर दुःखको घडीमा साथ दिनु नै हाम्रो कर्तव्य हो । यो राहत हाम्रो करुणा, प्रेम र सामाजिक उत्तरदायित्वको प्रतीक हो ।’
उनले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सेवाका अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।विद्यालयकी निर्देशक तथा संस्थापक सुशीला बसेलले राहत अभियानलाई अझ व्यापक बनाउने तयारी भइरहेको जानकारी दिइन् । उनले विपद्पीडित नागरिकहरूलाई आवश्यक सामग्री र सहयोग जुटाउने प्रयास अझै जारी रहेको बताइन् । उनले भनिन्, ‘संकटमा परेका नागरिकहरूको पीडा हाम्रो साझा पीडा हो । हामीले आर्थिक सहयोग हस्तान्तरण गरेका छौँ, तर आवश्यकता अझै धेरै छ । त्यसैले विद्यालय परिवार आगामी दिनमा पनि राहत तथा पुनःस्थापनाका अभियानमा सक्रिय रहनेछ ।’ उनले विद्यार्थीहरूमा सेवा, दया र सहयोगको संस्कार विकास गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै यस्ता अभियानले शिक्षालाई जीवनसँग जोड्ने काम गर्ने विश्वास व्यक्त गरिन् ।
चेक ग्रहण गर्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले देखाएको सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गरे । उनले भने, ‘प्राकृतिक विपद्को बेला शिक्षण संस्थाहरू समाजका अग्रपंक्तिमा उभिनुपर्छ भन्ने उदाहरण सोफिया स्कुलले प्रस्तुत गरेको छ । विद्यार्थीहरूको सानो–सानो योगदानले ठूलो सहयोग जुटेको छ । यो रकम प्रधानमन्त्री राहत कोषमार्फत वास्तविक पीडितसम्म पुग्नेछ ।’
उनले बाँके जिल्लाका अन्य निजी विद्यालयहरूलाई पनि यस्ता मानवीय अभियानमा सहभागी हुन आग्रह गर्दै विपद्को सामना सामूहिक एकताबाट मात्रै सम्भव हुने धारणा राखे । कार्यक्रममा प्याब्सन बाँकेका सचिव विज्ञान शाह र नेपालगन्ज उपमहानगर अध्यक्ष मानबहादुर थापाले पनि विद्यालय परिवारको प्रशंसा गर्दै शिक्षा क्षेत्रले समाज परिवर्तनमा खेलेको भूमिकाको चर्चा गरे । उनीहरूले विपद्को समयमा विद्यालयहरूले मानवीय नेतृत्व प्रस्तुत गर्नु प्रेरणादायी भएको बताए ।
राहत संकलन अभियानमा विद्यालयका विद्यार्थीहरूको उत्साह विशेष रूपमा उल्लेखनीय रहेको विद्यालयले जनाएको छ । धेरै विद्यार्थीहरूले आफ्ना व्यक्तिगत बचत, खाजा खर्च र स–साना रकम स्वेच्छिक रूपमा योगदान गरेका थिए । शिक्षक र कर्मचारीहरूले पनि एक दिनको तलब तथा स्वेच्छिक सहयोग उपलब्ध गराएका थिए । विद्यालय व्यवस्थापनले सबै योगदानलाई पारदर्शी रूपमा संकलन गरी प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
नेपालमा बारम्बार दोहोरिने प्राकृतिक विपद्ले मानवीय, आर्थिक र सामाजिक क्षेत्रमा ठूलो क्षति पु¥याइरहेको छ । यस्ता संकटका बेला सरकारी प्रयाससँगै समुदाय, शैक्षिक संस्था, सामाजिक संघसंस्था र नागरिक समाजको सक्रिय सहभागिता अत्यन्त आवश्यक हुने देखिन्छ । सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलको यो पहलले शिक्षा केवल परीक्षा र प्रमाणपत्रमा सीमित नभई मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको सन्देश दिएको छ ।









प्रतिक्रिया दिनुहोस्