नाडा अटो शोमा ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा



काठमाडौँ ।

नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो शो २०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले आयोजना गरेको १८औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरे । दुईपाँग्रे, चारपाँग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ । ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ । नेपाली कम्पनीले उत्पादन गरेको सवारीसाधनलाई अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसँगै एउटै प्रदर्शनीमा राखिनुले नेपाली अटोमोबाइल उद्योगको बदलिँदो अवस्थालाई समेत देखाउने आयोजकको भनाइ छ । नाडाले आफ्नो ५०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको यसपटकको प्रदर्शनीमा विदेशी ब्रान्डका सवारी मात्र नभई नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारी तथा अटोमोबाइल सामग्रीलाई छुट्टै प्राथमिकता दिइएको छ ।

प्रदर्शनीस्थलमा ‘मेड इन नेपालरमेड फर नेपाल’ प्याभिलियन राखिएको छ । उक्त प्याभिलियनमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ । नाडाका अनुसार करिब आठ नेपाली उत्पादक यस क्षेत्रमा सहभागी छन् । त्यहाँ विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका सामग्री उत्पादन गर्ने नेपाली कम्पनीको सहभागिता छ । यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादकले आफ्नो उत्पादन प्रदर्शन गर्नेछन् ।

नाडाले नेपाली उत्पादनलाई छुट्टै स्थान दिएर प्रदर्शन गर्नुको उद्देश्य नेपालमा अटोमोबाइल क्षेत्रमा भइरहेको उत्पादन तथा औद्योगिक गतिविधिलाई उपभोक्तासम्म पु¥याउनु पनि रहेको जनाएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादनको सम्भावना बढ्दै गएको बताए । ‘हामीले दिन खोजेको सन्देश यही हो नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन । हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्यमतर्फ बढिरहेका छौँ,’ उप्रेतीले भने ।

उनका अनुसार नाडाको ५० वर्षको इतिहासमा नेपालमा गाडीको बिक्री, खरिद तथा सर्भिसिङ मात्रै होइन, पार्टपुर्जा आपूर्तिदेखि उत्पादनसम्मका गतिविधि विस्तार भएका छन् । नाडाका अनुसार पाँच दशकअघि नेपालमा गाडी व्यवसायीको प्रतिनिधित्व गर्ने उद्देश्यले स्थापना भएको संस्था अहिले गाडी बिक्री गर्ने व्यवसायीको मात्रै प्रतिनिधि नभई गाडी बिक्री, जोड्ने, वित्तीय सुविधा उपलब्ध गराउने, बीमा गर्ने, सर्भिस गर्ने र पाट्र्स आपूर्ति गर्ने व्यवसायीको प्रतिनिधिमूलक संस्था बनेको छ ।

यसपटकको अटो शोमा प्यासेन्जर कारतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायतका ब्रान्ड सहभागी छन् । लाइट कमर्सियल सवारीतर्फ फोटोन, सोकोन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्स सहभागी छन् ।

दुईपाँग्रेमा रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायतका ब्रान्ड रहेका छन्। अटो शोमा सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा, अटो पाट्र्स, ग्यारेज उपकरणलगायतका सामग्रीका २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीलाई चारपाँग्रे, दुईपाँग्रे, वित्तीय संस्था, अटो पाट्र्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपालरमेड फर नेपाल’ तथा इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।

अटो शोमा सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रूपैयाँँ र विद्यार्थीका लागि १५० रूपैयाँँ तोकिएको छ । टिकट खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिनेछ ।प्रदर्शनीस्थलमा पार्किङ, ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको नाडाले जनाएको छ ।
यसपटकको अटो शोमा ठूलो सङ्ख्यामा विदेशी ब्रान्डका नयाँ मोडलसँगै नेपाली उत्पादनलाई समेत एउटै मञ्चमा राखिएकाले नेपालको अटो बजार आयातमा मात्र निर्भर बजारबाट उत्पादनतर्फ पनि अघि बढिरहेको संकेतका रूपमा यसलाई हेरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार