२६ वर्षदेखि मौन रहेको हेटौँडा कपडा उद्योगका तान फेरि चल्न थालेको खबर आफैँमा उत्साहजनक छ । लामो समयदेखि बन्द रहेको राष्ट्रिय उद्योगमा परीक्षण उत्पादन सुरु हुनु केवल एउटा कारखानाको मेसिन चल्नु होइन, वर्षौँदेखि थन्किएको राज्यको औद्योगिक सोचलाई पुनः गतिशील बनाउने प्रयास पनि हो । तर तान चलेको आवाजलाई सफलताको अन्तिम प्रमाण मान्ने हतार गर्नु हुँदैन । वास्तविक सफलता उद्योग निरन्तर, प्रतिस्पर्धी र आत्मनिर्भर ढङ्गले सञ्चालन हुन सकेमा मात्र प्रमाणित हुनेछ । नेपालमा सरकारी स्वामित्वका उद्योग स्थापनाको इतिहास लामो छ । तीमध्ये कतिपयले देशको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पनि दिएका थिए । तर समयक्रममा राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, अनुत्पादक कर्मचारी संरचना, प्रविधि अद्यावधिक हुन नसक्नु, बजारको बदलिँदो स्वरूप बुझ्न नसक्नु र सरकारको अस्थिर नीतिका कारण धेरै उद्योग रुग्ण बने । हेटौँडा कपडा उद्योगको बन्द हुनु पनि यही समस्याको एउटा प्रतिनिधि उदाहरण हो । सबैभन्दा विडम्बनापूर्ण पक्ष के हो भने उद्योग बन्द भएपछि पनि त्यसलाई पुनः सञ्चालन गर्ने चर्चा रोकिएन । पटकपटक अध्ययन भए, समिति बने, सम्भाव्यता खोजियो र पुनः सञ्चालनका घोषणा गरिए । तर व्यवहारमा उद्योग सञ्चालन हुन सकेन ।
यसले नेपालमा योजना र प्रतिबद्धताको कमीभन्दा पनि कार्यान्वयनको कमजोरी ठूलो समस्या रहेको देखाउँछ । अबको प्रयासले विगतका यिनै कमजोरीबाट पाठ सिक्नुपर्छ । सरकारले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै एउटा महत्वपूर्ण प्रश्न उठेको छ—के पुरानो संरचना र मेसिन मर्मत गरेर मात्र आजको बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ? यसको उत्तर सहज छैन । निजी क्षेत्रका कपडा उद्योग आधुनिक प्रविधि, लागत नियन्त्रण, उत्पादनको गुणस्तर र बजार रणनीतिमा धेरै अगाडि पुगिसकेका छन् । त्यसैले पुराना मेसिन चलाउनु सुरुवात हुन सक्छ, समाधान होइन । उद्योगलाई दीर्घकालीन रूपमा सफल बनाउन व्यावसायिक व्यवस्थापन पहिलो आवश्यकता हो । राजनीतिक नियुक्ति, पहुँचका आधारमा जिम्मेवारी र प्रशासनिक हस्तक्षेपबाट सार्वजनिक उद्योगलाई मुक्त गर्नुपर्छ । उद्योग सञ्चालन गर्ने नेतृत्वलाई स्पष्ट लक्ष्य, अधिकार र जिम्मेवारी दिनुपर्छ । नाफा–घाटा, उत्पादन, बजार विस्तार र कार्यसम्पादनको नियमित मूल्यांकन हुनुपर्छ । राज्यको स्वामित्वमा छ भन्दैमा उद्योगलाई बजारको प्रतिस्पर्धाबाट उन्मुक्ति दिनु हुँदैन । हेटौँडा कपडा उद्योगलाई सफल बनाउन अर्को महत्वपूर्ण पक्ष बजार हो । सरकारी तथा सुरक्षा निकायका पोशाकमा स्वदेशी कपडालाई प्राथमिकता दिने नीतिले प्रारम्भिक बजार सुनिश्चित गर्न सक्छ । तर सरकारी संरक्षणलाई स्थायी बैसाखी बनाउनु हुँदैन । गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निजी बजारमा समेत आफ्नो स्थान बनाउन सक्ने क्षमता उद्योगले विकास गर्नुपर्छ ।
यससँगै हेटौँडा कपडा उद्योगलाई छुट्टै एउटा कारखानाका रूपमा हेर्नुभन्दा समग्र कपडा उत्पादन शृंखलासँग जोड्न आवश्यक छ । कपास खेतीदेखि धागो उत्पादन, कपडा बुनाइ, प्रशोधन र बजारसम्मको प्रणाली विकास गर्न सके मात्र यसको दीर्घकालीन औचित्य पुष्टि हुनेछ । बुटवल धागो कारखाना तथा कपास खेतीलाई समेत अघि बढाउने योजना यसै सोचसँग जोडिन सके नेपालको कपडा क्षेत्रमा आत्मनिर्भरताको नयाँ आधार तयार हुन सक्छ । नेपालमा उद्योग स्थापना गर्नुभन्दा बन्द भएका उद्योगलाई पुनर्जीवन दिन कठिन हुन्छ । त्यसैले हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनलाई प्रचारको विषय होइन, औद्योगिक सुधारको परीक्षणका रूपमा लिनुपर्छ । यसमा राज्य असफल भयो भने सार्वजनिक उद्योगप्रतिको जनविश्वास अझ कमजोर हुनेछ । सफल भयो भने अन्य रुग्ण उद्योगका लागि पनि नयाँ सम्भावनाको ढोका खुल्नेछ । २६ वर्षपछि तान चल्नु आशाको सुरुवात हो । अब ती तान फेरि नरोकिने सुनिश्चितता गर्नु सरकारको मुख्य परीक्षा हो । उद्योगका भवन र मेसिन मात्र होइन, त्यसको व्यवस्थापन संस्कृति पनि नयाँ बनाउन सक्नुपर्छ । हेटौँडा कपडा उद्योगको तानमा कपडा मात्र बुन्ने होइन, स्वदेशी उत्पादन, रोजगारी र आत्मनिर्भरताको भविष्य पनि बुन्न सक्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्