सुदूरपश्चिम ।
सुदूरपश्चिमका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ता समस्यामा परेका छन् । ग्यास लिन बिहानै खाली सिलिण्डर पसलमा राख्नुपर्ने र केही दिनपछि मात्रै ग्यास पाउने अवस्था आएको छ । धनगढी– १३ की हरिना श्रेष्ठले ग्यास पाउन मुस्किल भइरहेको गुनासो गरिन् । ‘शनिबार बिहान ग्यास सकिएको थियो,’ उनले भनिन्, ‘दुई वटा पसलमा जाँदा पनि पाइएन ।’
ग्यासका लागि पसलपसल चाहार्नुपरेको उनको भनाइ छ । होटल तथा व्यवसायीले समेत मागअनुसार ग्यास पाउन सकेका छैनन् । पाँच सिलिण्डर माग गर्दा दुई–तीनवटा मात्रै उपलब्ध हुने गरेको व्यवसायीहरूको भनाइ छ । नेपाल आयल निगम सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख कुम्भराज जोशीले ग्यासको आयातमा समस्या नभए पनि वितरण प्रणालीमा समस्या देखिएको बताए ।
उनका अनुसार बिहान ग्यास नपाएका उपभोक्ताले साँझसम्म पाउने अवस्था रहेको छ । ‘पहिले आधा सिलिण्डर दिँदा सबैतिर पुगेको थियो,’ उनले भने, ‘अहिले एकातिर भरि सिलिण्डर दिइएको छ । अर्कोतिर एउटै उपभोक्ताले दुई–तीनवटा सिलिण्डर राखिदिन थालेका छन् । यसले ग्यास वितरणमा समस्या परेको हो । तर, यहाँ धेरै ठूलो समस्या भने छैन ।’
ग्यास उद्योगहरूले भने पछिल्लो समय बजारमा माग अस्वाभाविक रूपमा बढेको बताएका छन् । उद्योगका अनुसार अघिल्लो समयको तुलनामा ग्यासको माग झन्डै दोब्बर भएको छ । माग बढेसँगै भारतबाट ग्यास बोकेर आउने बुलेट लोड भएर आउनसमेत ढिलाइ हुने गरेको उद्योगीहरूको भनाइ छ । पहिले चार दिनमै लोड भएर धनगढी पुग्ने बुलेट अहिले सात–आठ दिनमा पुगिरहेको उद्योगहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्