बाँदरपीडित किसान भन्छन् ‘कुकुरलाई पनि पिट्छन्, मकै कसरी जोगाउने ?’



गजेन्द्र गुरुङ । प्युठान ।

बाँदर धपाउन राखिएको कुकुरलाई समेत कुट्छन् । बाँदर धपाउन गएको कुकुरलाई एउटा बाँदरले पुच्छर समात्छ, अरु बाँदरले झ्यामझ्याम पिट्छन्, कुकुर पनि डराएर बाँदर धपाउन जान मान्दिन, महिलालाई त झनै टेर्दै टेर्दैनन्, मानिस देखेर पनि डराउन छाडिसके । अब मकै कसरी जोगाउने भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन । अहिले अधिकांश किसानहरुका खेतबारीमा लहलहाउँदा मकै बाली रहेका छन् । मकैका रुखमा भर्खर घोँगा लाग्न सुरु भएको छ ।

त्यही मकैमा पनि बाँदर पसेर उपद्रो मच्चाउँदा किसानहरु बाँदरबाट पीडित बनेका छन् । पहाडी जिल्लाका ग्रामीण बस्तीमा यस वर्ष पनि बाँदरको आतङ्कले किसानको निद्रा हराम बनाएको छ । मेहनत गरेर लगाएको मकैमा घोँगा लाग्न थालेसँगै बाँदरका हुल बारीमा पसेर मकै भाँच्ने, खाने र नष्ट गर्ने क्रम बढेपछि प्युठानका किसान चिन्तित बनेका छन् । बाँदर धपाउन परम्परागत रूपमा अपनाइएका सबै उपाय असफल हुन थालेपछि किसानले आफ्नो उत्पादन जोगाउनै मुस्किल परेको ऐरावती गाउँपालिका वडा नम्बर ६ महेन्द्रदीपकी किसान निर्मला गुरुङले गुनासो गरिन् ।

किसान गुरुङका अनुसार बिहानदेखि साँझसम्म बारी कुरेर बस्दा पनि बाँदर धपाउन सकिएको छैन । केहीबेर मानिसको उपस्थिति देखिएपछि भागेझैँ गर्ने बाँदर फेरि मौका पाउनासाथ बारीमा पस्ने गरेका उनी बताउँछिन् । उनीहरूले केही मकै खाने मात्र होइन, धेरै मकैका बोट नै भाँचेर नष्ट गर्ने भएकाले झन् ठूलो क्षति हुने गरेको उनले बताइन् । उनले पीडा सुनाउँदै भनिन्, ‘बाँदर धपाउन राखिएको कुकुरलाई समेत कुट्छन् । बाँदर धपाउन गएको कुकुरलाई एउटा बाँदरले पुच्छर समात्छ, अरु बाँदरले झ्यामझ्याम पिट्छन्, कुकुर पनि डराएर बाँदर धपाउन जान मान्दिन, महिलालाई त झनै टेर्दै टेर्दैनन्, मानिस देखेर पनि डराउन छाडिसके । अब मकै कसरी जोगाउने भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन ।’

बाँदर धपाउन किसानले आगो बालेर धुवाँ लगाउने, टिनका पाता पिटेर ठूलो आवाज निकाल्ने, कराउने, कुकुर लगाउनेलगायत विभिन्न घरेलु उपाय अपनाउँदा पनि यी सबै प्रयास प्रभावकारी हुन नसकेका उनको भनाइ छ । उल्टै बाँदर झन् आक्रामक बन्दै गएको र मानिसमाथि पनि आक्रमण गर्न लागेको उनकोे अनुभव छ । उनका अनुसार बाँदरका हुलले मानिसमाथि समेत झम्टिने र कुकुरमाथि आक्रमण गर्ने घटना बढेका छन् । कतिपय अवस्थामा खेतबारीमा काम गरिरहेका महिला, वृद्धवृद्धा र बालबालिकासमेत बाँदरको डरले एक्लै खेतबारी जान हिच्किचाउने अवस्था सिर्जना भएको छ ।

अर्का किसान टेकबहादुर बस्नेतले वर्षभरि परिवार र गाईबस्तुलाई हुने अन्नपात बाँदरले नोक्सान गरिँदिँदा कसरी जीवनयापन धान्ने भन्ने चिन्ताले सताउने गरेको बताए । उनले भने, ‘बिहान उज्यालो नहुँदै बारीको कुनामा गएर बस्यो, खाना पनि घरबाट मगाएर यहिँ ल्याएर खायो, दिनभर डिउटी ग¥यो, एकातिरबाट बारीमा बाँदरका हुल पस्छन्, धपाउँदै जङ्गलतिर लैजाँदा अर्कोतिरबाट अर्को हुल बाँदर बारीमा छिरेर नोक्सान गरिसकेको हुन्छ, रातभर निद्रा पर्दैन, बाँदर धपाउन गरिएका सबै घरेलु उपाय पनि काम लागेन ।’

कृषिप्रति निर्भर अधिकांश किसानका लागि मकै प्रमुख खाद्यान्न र पशुचौपायाको आहार हो । वर्षभरिको मेहनतको मुख्य उत्पादन बाँदरले केही दिनमै नष्ट गरिदिँदा आर्थिक मात्र नभएर मानसिक तनाव पनि बढेको किसानहरू बताउँछन् । उत्पादन घट्दा परिवारको खाद्य सुरक्षासमेत प्रभावित हुने चिन्ता उनीहरूमा छ । स्थानीय बासिन्दाले बाँदरको समस्या बर्सेनि दोहोरिँदै आए पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन् ।

किसानका अनुसार व्यक्तिगत रूपमा बाँदर धपाएर मात्र समस्या समाधान हुने अवस्था छैन । गाउँभरि एकैसाथ व्यवस्थापन गर्ने योजना आवश्यक भइसकेको उनीहरूको भनाइ छ । कृषि तथा वनसँग सम्बन्धित निकायले पनि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि व्यवहारिक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग किसानले गरेका छन् । आवश्यक स्थानमा बाँदर नियन्त्रण तथा व्यवस्थापन, बाली संरक्षणका प्रभावकारी प्रविधि, सुरक्षित तारबार, सामूहिक हेरालु व्यवस्था र क्षतिको उचित मूल्याङ्कनसहित राहतको व्यवस्था गर्न उनीहरूले आग्रह गरेका छन् ।

बाँदरको बढ्दो आतङ्कले किसानलाई खेतबारीमा पस्नै डर लाग्ने अवस्था सिर्जना गरेको छ । समयमै प्रभावकारी उपाय नअपनाइए आगामी वर्षहरूमा मकै खेतीप्रति किसानको आकर्षण घट्ने र कृषि उत्पादनमा समेत नकारात्मक असर पर्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् । किसानको पसिना र मेहनत जोगाउन सम्बन्धित निकायले तत्काल दीर्घकालीन समाधानको पहल गर्नुपर्ने उनीहरुको माग छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार