सरकार र चिकित्सकबीच तीन ऐन संशोधन गर्ने सहमति



नेपालगन्ज ।

आन्दोलनरत चिकित्सक र सरकारबीच तीनवटा ऐनहरु संशोधन गर्ने सहमति भएको छ । नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुव्र्यवहारपछि चिकित्सकहरु आन्दोलित भएकोमा सरकारले चिकित्सक संघका प्रतिनिधिहरुसँग तीनवटा ऐन संशेधन गर्न प्रक्रिया अघि बढाउने सहमति गरेको हो । सरकार र चिकित्सकहरुबीच भएको पाँबुँदे सहमतिअनुसार स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६, मुलुकी अपराध संहिता २०७४ र उपभोक्ता संरक्षण ऐन २०७५ मा आवश्यक संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख छ ।

सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन पनि फिर्ता लिएका छन् । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच सहमति भएको हो । सहमतिअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुव्र्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ बमोजिम थप कारबाही अगाडी बढाउने भएको छ ।

यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को दफा २, ३ र १५ र मुलुकी अपराध संहिता २०७४ को दफा २३२ र २३३ को सम्बन्धमा आवश्यक संशोधनको लागि आगामी प्रतिनिधिसभाको अधिवेशनमा विधेयक पेस गर्ने सहमति गरेको छ । त्यसका लागि तत्काल प्रक्रिया अगाडी बढाउने र उक्त प्रक्रियामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख छ ।

यसैगरी, उपभोक्ता संरक्षण ऐन २०७५ मा पनि स्वास्थ्यसम्बन्धी विषयमा आवश्यक संशोधन गर्न प्रक्रिया थालनी गरिने सहमति गरिएको छ । सहमतिअनुसार उक्त ऐनमा संशोधनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल चिकित्सक संघ समेतको सहभागितामा सात दिनभित्र एक कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलको प्रतिवेदन समेतको आधारमा ऐनमा संशोधन प्रस्तावमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठोस सहजीकरण गर्ने सहमति पत्रमा भनिएको छ ।

यसका साथै अघि सरकार र चिकित्सकबीच भएका सम्झौताहरुको कार्यान्वयन गर्न तीन दिनभित्र कार्यदल गठन गर्ने सहमति पनि भएको छ । अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण र अस्पतालमा तोडफोड गरिएपछि चिकित्सक संघले बुधबार देशभरका स्वास्थ्य सेवा ठप्प पारेको थियो । आकस्मिकबाहेकका सबै सेवामा चिकित्सकहरु सहभागी नभएपछि बिरामीहरुको भने बिचल्ली भएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार