देउखुरी क्षेत्रमा मोरिङ्गा खेती



शिवु खनाल । दाङ ।

वर्षौँदेखि भूमिहीन भएर दैनिक ज्याला मजदुरीमा निर्भर हुँदै आएका देउखुरीका सुकुम्वासी परिवार अहिले नयाँ आशाका साथ मोरिङ्गा (शीतल चिनी) खेतीमा जुटेका छन् । डिजिएम नेपालको आर्थिक सहयोग एवम् दलित सचेतना अभियान दाङले सञ्चालन गरेको भूमिहीन सुकुम्वासीहरूका लागि मोरिङ्गा (शीतल चिनी) खेती तथा प्रशोधन सहपरियोजना लमहीमा सुरु गरिएको छ ।

दलित सचेतना अभियान दाङका अध्यक्ष शशिराम नेपालीले भूमिहीन सुकुम्वासीहरूलाई आर्थिक सशक्तीकरण र रोजगारी सिर्जना गर्ने उद्देश्यले पहिलोपटक देउखुरीमा व्यावसायिक मोरिङ्गा खेती सुरु गरिएको बताए । उनले ८० घरका भूमिहीन सुकुम्वासी परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीसँग सम्झौता गरी करिब चार बिघा नाङ्गो डाँडामा मोरिङ्गा खेती सुरु गरिएको हो ।

खाली रहेको वनको जमिनको सदुपयोग गर्दै भूमिहीन सुकुम्वासीहरूलाई रोजगारीसँगै आयआर्जन बढाउने, पोषणमा सुधार ल्याउने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ मोरिङ्गा खेती विस्तार गरिएको नेपालीले बताए । बिहानैदेखि नाङ्गो डाँडामा पुगेर बिरुवा रोप्दै गरेका लमही ६ कुलमोहरका सानु मगरको मुहारमा अब भविष्यप्रतिको नयाँ भरोसा देखिन्छ । पहिले काम नपाउँदा परिवारको खर्च चलाउनै कठिन हुने उनी अहिले यही खेतीबाट नियमित आम्दानी हुने विश्वास गर्न थालेका छन् ।

उनले भने, ‘हामीसँग आफ्नो जग्गा छैन, दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेका थियौँ । यो खेती सुरु भएपछि अब आफ्नै मेहनतबाट केही आम्दानी गर्न सकिन्छ भन्ने आशा पलाएको छ ।’ अर्का भूमिहीन सुकुम्वासी संगिता बुढाको भनाइ पनि उस्तै छ । हामीलाई राहतभन्दा रोजगारी चाहिएको थियो । मोरिङ्गा खेतीले आत्मनिर्भर बन्ने बाटो देखाएको छ । ‘यदि बजारको व्यवस्था भयो भने हाम्रो जीवनस्तरमा ठूलो परिवर्तन आउन सक्छ । घरखर्च चलाउन निकै कठिन थियो । अब मोरिङ्गाको पात, फल र बिरुवा बिक्री गरेर केही आम्दानी गर्न सकिने अपेक्षा गरेका छौँ । यसले महिलाहरूलाई पनि घरमै बसेर काम गर्ने अवसर दिएको छ,’ उनले भनिन् ।

दलित सचेतना अभियान दाङका पूर्वअध्यक्ष गोपाल विकले मोरिङ्गा खेती केवल आम्दानीको स्रोत मात्र नभई पोषण, स्वास्थ्य र वातावरण संरक्षणका दृष्टिले पनि महत्वपूर्ण मानिने बताए । उनले किसानलाई आवश्यक प्राविधिक ज्ञान, खेती व्यवस्थापन तथा बजारसँग जोड्ने प्रयाससमेत गरिएको बताए । भूमि अधिकार मञ्च लमहीका अध्यक्ष शमसोन गिरीले यस्तो कार्यक्रम निरन्तर सञ्चालन भए भूमिहीन तथा विपन्न परिवारको आर्थिक अवस्था सुधारिनुका साथै वैदेशिक रोजगारीको विकल्पसमेत बन्न सक्ने बताए । देउखुरीमा पहिलोपटक सुरु गरिएको यो मोरिङ्गा खेतीलाई स्थानीयले केवल कृषि कार्यक्रमका रूपमा होइन, आत्मनिर्भर जीवनतर्फको नयाँ सुरुवातका रूपमा हेरेको उनको भनाइ छ । किसान तथा भूमिहीन सुकुम्वासीलाई मोरिङ्गा खेती गर्ने विधिबारे तालिम पनि प्रदान गरिएको छ ।

आर्थिक रूपमा विपन्न तथा भूमिहीन परिवारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा मोरिङ्गा खेतीको महत्व, बिरुवा उत्पादन, रोप्ने सही समय, जग्गा तयारी, मल व्यवस्थापन, सिँचाइ, गोडमेल, रोग तथा किरा नियन्त्रण र उत्पादनको बजारीकरणका विषयमा जानकारी दिइएको कृषि प्राविधिक प्रशिक्षक सागर शर्माले बताए । तालिममा सहभागी किसानहरूले मोरिङ्गा खेतीबाट कम लागतमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफूहरू उत्साहित भएको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार