मेरो लुतो लैजा



असार महिनाभरि वर्षाको हिलोमा डुबेर खेतमा काम गर्दा शरीरभरि घाउ, चिलाउने दाना, खटिरा वा छालासम्बन्धी समस्या देखिनु सामान्य थियो । त्यसैले ‘लुतो फाल्ने’ चलन स्वास्थ्यसँग जोडिएको लोकविश्वास पनि थियो । साँझपख सल्ला वा चिलाउने दियालोको चिर्पट बालेर गाउँका सबै मानिस डाँडाकाँडा वा गाउँको सीमासम्म पुग्थे । त्यहाँबाट आगोको अगुल्टो अर्को गाउँतर्फ फाल्दै सामूहिक रूपमा पुकार्थे— ‘मेरो लुतो लैजा, रोगब्याध लैजा ।’

गजेन्द्र गुरुङ

‘मेरो लुतो लैजा… खटिरापटिरा, रोगब्याध सबै लैजा…’ कुनै समय नेपालको पहाडी गाउँहरूमा साउन महिनाको पहिलो साँझ यसरी नै प्रतिध्वनित हुन्थ्यो । एउटा गाउँबाट अर्को गाउँतर्फ पुकारा हुन्थ्यो । पल्लो गाउँले वल्लो गाउँलाई, वल्लो गाउँले पल्लो गाउँलाई जिस्क्याउँदै, हाँसो र उल्लासका बीच रोग, व्यथा र दुःखलाई गाउँबाहिर पठाउने सांस्कृतिक विश्वास बोकेको एउटा अद्भुत परम्परा थियो— लुतो फाल्ने । साउने सङ्क्रान्तिको चर्चा गर्दा आज अधिकांशले हरियो चुरा, मेहेन्दी, लट्टे, कर्कलो, घिरौँला, तितो खाने चलन वा शिवपूजालाई सम्झन्छन् । तर नेपाली समाजको स्मृतिमा साउने सङ्क्रान्तिको एउटा अर्को अनुहार पनि थियो, जसले गाउँको सामाजिक सम्बन्ध, पारिवारिक आत्मीयता, सामूहिक श्रम र सांस्कृतिक एकतालाई एउटै सूत्रमा बाँधेको थियो । त्यो अनुहार आज बिस्तारै धुमिल हुँदै गएको छ । आज साउने सङ्क्रान्ति आउँछ, पात्रोमा मिति फेरिन्छ, सामाजिक सञ्जालमा शुभकामनाको बाढी आउँछ, तर गाउँका डिलडाँडामा ‘मेरो लुतो लैजा’ भन्ने पुकारा सुनिँदैन । दियालोको अगुल्टो आकाशतिर उड्दैन । चेलीबेटीका हाँसोले आँगन गुञ्जँदैन । तीजका भाका पहिल्यैदेखि अभ्यास गर्ने समूहहरू भेटिँदैनन् । परम्परा हराउनु केवल एउटा संस्कार हराउनु मात्र होइन, एउटा जीवनशैली हराउनु पनि हो । साउने सङ्क्रान्ति नेपाली पात्रोको एउटा महत्वपूर्ण पर्व हो । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाइन्छ । यही दिनदेखि दक्षिणायन सुरु हुन्छ । कृषिप्रधान नेपाली समाजमा यसको विशेष महत्व छ, किनकि असारभरि धान रोपाइँ, गोडमेल र अन्य खेतीपातीका कठिन काम सम्पन्न भएपछि किसानले केही राहतको सास फेर्ने अवसर पाउँथे । त्यसैले यो पर्व केवल धार्मिक मात्र नभई श्रमको उत्सव पनि थियो । असार महिनाभरि वर्षाको हिलोमा डुबेर खेतमा काम गर्दा शरीरभरि घाउ, चिलाउने दाना, खटिरा वा छालासम्बन्धी समस्या देखिनु सामान्य थियो । त्यसैले ‘लुतो फाल्ने’ चलन स्वास्थ्यसँग जोडिएको लोकविश्वास पनि थियो । साँझपख सल्ला वा चिलाउने दियालोको चिर्पट बालेर गाउँका सबै मानिस डाँडाकाँडा वा गाउँको सीमासम्म पुग्थे । त्यहाँबाट आगोको अगुल्टो अर्को गाउँतर्फ फाल्दै सामूहिक रूपमा पुकार्थे— ‘मेरो लुतो लैजा, रोगब्याध लैजा ।’

यसमा वैज्ञानिक आधारभन्दा बढी सांस्कृतिक विश्वास थियो । तर यसको सामाजिक अर्थ अत्यन्त गहिरो थियो । यसले मानिसलाई रोगमुक्त जीवनको आशा दिन्थ्यो । निराशाभन्दा आशावाद सिकाउँथ्यो । सबैलाई एकै ठाउँमा उभ्याउँथ्यो । सामूहिक रूपमा दुःखलाई बिदाइ गर्ने प्रतीकात्मक संस्कार बनाउँथ्यो । त्यो दिन चेलीबेटीलाई माइती बोलाउने चलन पनि उत्तिकै महत्वपूर्ण थियो । खेतीपातीको मुख्य काम सकिएपछि छोरीचेलीलाई घर बोलाइन्थ्यो । परिवारका सबै सदस्य भेला हुन्थे । घरमा सेलरोटी पाक्थ्यो । कतिपय ठाउँमा ढकने, फापर वा कोदोका परिकार, मासु तथा स्थानीय परम्परागत खानाका परिकार बनाइन्थे । सँगै बसेर खाने, दुःखसुख साट्ने, आफन्त भेट्ने र रमाइलो गर्ने वातावरण बन्थ्यो । त्यो समय पर्वको अर्थ खर्चिलो प्रदर्शन थिएन । सम्बन्धको पुनर्मिलन थियो । परिवारको पुनर्मिलन थियो । समुदायको एकता थियो । धेरै पहाडी जिल्लामा यही दिनदेखि महिलाहरू तीजको तयारीमा जुट्न थालेका हुन्थे । दिदीबहिनीहरू बेलुकीपख एउटै आँगनमा भेला भएर तीजका गीत अभ्यास गर्थे । गाउँभरि मादल, ताली र स्वरको मिठास फैलिन्थ्यो । ती गीत केवल मनोरञ्जन थिएनन्; समाजका कथा थिए, महिलाका अनुभूति थिए, पीडा, प्रेम, व्यंग्य र आशाका अभिव्यक्ति थिए । त्यतिबेला तीज केवल एक दिनको पर्व थिएन । साउनको सुरुवातसँगै सुरु हुने सांस्कृतिक यात्रा थियो । तर समयसँगै धेरै कुरा फेरिए । आज ती आँगन सुनसान छन् । जहाँ कहिल्यै मान्छे अटाउँदैनथे, त्यहाँ अहिले झार उम्रिएका छन् । जहाँ तीजका गीत घन्किन्थे, त्यहाँ सन्नाटा छ । जहाँ लुतो फाल्ने भीड हुन्थ्यो, त्यहाँ अब अगुल्टो फाल्ने युवा भेटिँदैनन् । यस परिवर्तनको सबैभन्दा ठूलो कारणमध्ये एक हो— बसाइँसराइ र वैदेशिक रोजगारी । पहाडी गाउँका अधिकांश युवा रोजगारीको खोजीमा सहर, तराई वा विदेश पुगेका छन् । गाउँमा बुढाबुढी र बालबालिका मात्र बाँकी छन् । परम्परा पुस्तान्तरण गर्ने पुस्ता नै अनुपस्थित भएपछि संस्कृतिहरू पनि बिस्तारै हराउँदै गएका छन् । संस्कृति किताबमा लेखेर मात्र बाँच्दैन । त्यो अभ्यासमा बाँच्छ । सहभागितामा बाँच्छ । पुस्ताबाट पुस्तामा हस्तान्तरण हुँदा बाँच्छ । जब अभ्यास रोकिन्छ, संस्कृति पनि स्मृतिमा सीमित हुन्छ । आज धेरै बालबालिकाले ‘लुतो फाल्ने’ भन्ने शब्दसमेत सुनेका छैनन् । उनीहरूका लागि यो कुनै लोककथा जस्तो लाग्न सक्छ । तर केही दशकअघि यही संस्कार गाउँको सबैभन्दा ठूलो सामूहिक उत्सवमध्ये एक थियो ।

आधुनिकताले समाजलाई धेरै सुविधा दिएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको विकासले जीवन सहज बनाएको छ । तर यही विकासको यात्रामा कतिपय सांस्कृतिक सम्पदा चुपचाप हराइरहेका छन् । प्रश्न आधुनिकता स्वीकार गर्ने वा नगर्ने होइन । प्रश्न आधुनिकतासँगै आफ्नो मौलिकता कसरी जोगाउने भन्ने हो । साउने सङ्क्रान्तिका धेरै परम्पराको स्वास्थ्यसँग पनि सम्बन्ध छ । यस दिन तिता परिकार खाने चलन छ । कर्कलो, घिरौँला, लौका, फर्सीका मुन्टा, नीमका कोपिला वा अन्य स्थानीय तिता वनस्पति खाने चलनलाई आयुर्वेदले पनि मौसमी सन्तुलनसँग जोडेर हेर्छ । वर्षायाममा शरीरमा संक्रमण बढ्ने भएकाले खानपानमा विशेष ध्यान दिने परम्परा विकसित भएको मानिन्छ । यसरी हेर्दा साउने सङ्क्रान्ति धर्म, कृषि, स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक एकताको संगम हो । साउने सङ्क्रान्तिको अर्को महत्वपूर्ण पक्ष प्रकृतिसँगको नेपाली समाजको सम्बन्ध पनि हो । नेपाली लोकजीवनमा कुनै पनि चाडपर्व केवल धार्मिक कर्मकाण्डमा सीमित थिएनन् । ती ऋतु परिवर्तन, कृषि चक्र, वातावरण र मानव जीवनबीचको सम्बन्धलाई सहज रूपमा बुझाउने माध्यम पनि थिए । साउनको आगमनसँगै वर्षाले धर्तीलाई हराभरा बनाउँछ । खोलानाला भरिन्छन् । वनजंगल नयाँ पालुवाले सजिन्छन् । किसानका खेतमा रोपिएको धान उम्रिन थाल्छ । यस्तो समयमा प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने र आगामी खेती राम्रो होस् भन्ने कामना गर्ने भाव पनि साउने सङ्क्रान्तिसँग गाँसिएको पाइन्छ । पहाडका धेरै गाउँमा यस दिन बिहानै खोल्सा, पँधेरा वा मूलधारामा स्नान गर्ने चलन थियो । शारीरिक शुद्धिसँगै मानसिक पवित्रताको प्रतीक मानिने यो संस्कारले मानिसलाई प्रकृतिसँग जोड्ने काम गथ्र्यो । त्यतिबेला नदी केवल पानीको स्रोत थिएन, जीवनको आधार थियो । वन केवल काठको भण्डार थिएन, गाउँको संरक्षक थियो । त्यसैले पर्वहरूमा प्रकृतिको स्वतः सहभागी हुन्थ्यो । हाम्रा पुर्खाले कुनै औपचारिक विश्वविद्यालयमा पढेर संस्कृति निर्माण गरेका थिएनन् । उनीहरूले जीवनका अनुभवबाट समाजलाई आवश्यक पर्ने नियम, संस्कार र परम्परा विकास गरेका थिए । त्यसैले धेरै लोकसंस्कारभित्र स्वास्थ्य, वातावरण, सामाजिक सद्भाव र मनोवैज्ञानिक सन्तुलनका सन्देश लुकेका भेटिन्छन् । लुतो फाल्ने परम्परालाई पनि यही सन्दर्भमा बुझ्न आवश्यक छ । यसले मानिसलाई रोग हटाउने आशा मात्र दिएको थिएन, मनमा जमेको त्रास, दुःख र निराशालाई पनि सामूहिक रूपमा विसर्जन गर्ने अवसर दिएको थियो । आज मनोवैज्ञानिक स्वास्थ्यबारे धेरै चर्चा हुने गरेको छ, तर त्यतिबेला गाउँका यस्ता सामूहिक संस्कारले नै मानिसलाई मानसिक रूपमा पनि बलियो बनाउने काम गर्थे ।

गाउँका बुढापाकाहरूले भन्ने एउटा रोचक कुरा थियो— ‘पर्व भनेको घरभित्र मात्र होइन, गाउँभरि मनाइनुपर्छ ।’ यही सोचका कारण साउने सङ्क्रान्ति व्यक्तिगत होइन, सामुदायिक उत्सव बनेको थियो । कुनै घरमा अभाव भए छिमेकीले साथ दिन्थे । कसैका छोरीचेली आउन नसके उनीहरूको चर्चा हुन्थ्यो । कसैको परिवारमा दुःख परे सबैले सँगै उभिने वातावरण हुन्थ्यो । पर्वले सम्बन्धलाई नवीकरण गर्ने काम गथ्र्यो । आजको समाजमा भने सम्बन्धको स्वरूप बदलिँदै गएको छ । एउटै गाउँका मानिस वर्षौँसम्म भेट नहुने अवस्था छ । मोबाइल फोन र सामाजिक सञ्जालले सम्पर्क सजिलो बनाएको भए पनि आत्मीय भेटघाट क्रमशः कम हुँदै गएको छ । एउटै घरभित्र रहेका सदस्य पनि फरक–फरक पर्दामा व्यस्त देखिन्छन् । यस्तो अवस्थामा साउने सङ्क्रान्तिजस्ता पर्वले बोकेको सामूहिकताको सन्देश अझ बढी सान्दर्भिक बनेको छ । युवा पुस्ताले संस्कृति छाडेका हुन् कि संस्कृतिले युवालाई गुमाएको हो भन्ने प्रश्न पनि आज उत्तिकै महत्वपूर्ण छ । जब गाउँमा विद्यालय बन्द हुन्छन्, स्वास्थ्य सेवा कमजोर हुन्छ, रोजगारीको अवसर हुँदैन र आधारभूत सुविधा अभावमै रहन्छन्, तब युवा गाउँ छाड्न बाध्य हुन्छन् । गाउँबाट मानिस गएपछि परम्परा पनि बिस्तारै ओझेलमा पर्नु स्वाभाविक हो । त्यसैले संस्कृति संरक्षणलाई केवल सांस्कृतिक कार्यक्रमको विषय बनाएर पुग्दैन । गाउँमा जीवन टिकाउने आर्थिक र सामाजिक आधार पनि सुदृढ हुनुपर्छ । नेपालका धेरै स्थानीय तहले पछिल्ला वर्षहरूमा पर्यटन प्रवद्र्धनका नाममा विभिन्न महोत्सव आयोजना गरिरहेका छन् । तर आफ्नै गाउँका मौलिक संस्कार र परम्पराको अभिलेखीकरण र पुनर्जीवनमा भने पर्याप्त ध्यान पुगेको देखिँदैन । लुतो फाल्ने, तीजको सामूहिक भाका, रैथाने परिकार बनाउने कला, गाउँका लोकविश्वास र मौखिक इतिहासहरू अहिले पनि जीवित रहेका बुढापाकासँग सुरक्षित छन् । यदि अहिले नै ती अनुभव सङ्कलन गरिएन भने केही वर्षपछि तीसँगै एउटा पुस्ताको स्मृति पनि सधैँका लागि हराउनेछ । संस्कृति संरक्षणको जिम्मेवारी सरकार वा कुनै संस्थाको मात्र होइन । परिवार पनि यसको पहिलो विद्यालय हो । हजुरबुवा–हजुरआमाले आफ्ना नातिनातिनालाई गाउँका पुराना कथा सुनाउने, अभिभावकले आफ्ना बालबालिकालाई पर्वको वास्तविक अर्थ बुझाउने, विद्यालयले स्थानीय संस्कृतिमाथि आधारित कार्यक्रम सञ्चालन गर्ने र सञ्चारमाध्यमले यस्ता विषयलाई प्राथमिकताका साथ उठाउने हो भने धेरै हराउँदै गएका परम्पराले नयाँ जीवन पाउन सक्छन् ।

वास्तवमा साउने सङ्क्रान्ति हामीलाई एउटा गहिरो प्रश्न पनि सोध्छ— विकासको यात्रामा हामीले के–के जोगायौँ र के–के गुमायौँ ? पक्की सडक, अग्ला भवन र आधुनिक प्रविधि निस्सन्देह आवश्यक छन् । तर त्यससँगै यदि गाउँको साझा आँगन, सामूहिक हाँसो, लोकभाका र पुस्तौँदेखि चलिआएका संस्कार हराउँदै गए भने विकासको त्यो यात्रामा केही न केही अधुरोपन अवश्य रहनेछ । समयलाई पछाडि फर्काउन सकिँदैन । आजका गाउँ उही पुराना गाउँ बन्न पनि सक्दैनन् । तर त्यसको अर्थ आफ्नो सांस्कृतिक स्मृतिलाई बिर्सनु भने होइन । परिवर्तनलाई स्वीकार गर्दै परम्पराको सारलाई बचाइराख्नु नै आजको आवश्यकता हो । किनकि कुनै पनि समाजको वास्तविक शक्ति केवल उसको अर्थतन्त्रले होइन, उसले आफ्ना जरा कति मजबुतसँग समातेको छ भन्ने कुराले पनि निर्धारण गर्छ । सायद यही कारणले ‘मेरो लुतो लैजा’ भन्ने पुकारा आज केवल एउटा पुरानो चलनको सम्झना होइन । यो हामीले हराउँदै लगेको सामूहिक जीवन, आत्मीय सम्बन्ध र सांस्कृतिक चेतनालाई पुनः सम्झाउने एउटा भावनात्मक आह्वान पनि हो । तर अहिले पर्वको स्वरूप बदलिँदै गएको छ । धेरैका लागि यो सामाजिक सञ्जालमा शुभकामना पोस्ट गर्ने दिन बनेको छ । गाउँमा हुने सामूहिक गतिविधि व्यक्तिगत उत्सवमा सीमित हुँदै गएको छ । सामूहिक श्रमको संस्कृति व्यक्तिगत व्यस्तताले विस्थापित गरिरहेको छ । अर्कोतर्फ, गाउँमा रहेका पुराना पुस्ताले पनि आफ्ना अनुभव नयाँ पुस्तासम्म पु¥याउने अवसर कम पाएका छन् । विद्यालयका पाठ्यक्रममा स्थानीय संस्कृतिको पर्याप्त स्थान छैन । स्थानीय सरकारले पनि यस्ता अमूर्त सांस्कृतिक सम्पदाको दस्ताबेजीकरण, संरक्षण र पुनर्जीवनमा अपेक्षित ध्यान दिन सकेका छैनन् । संस्कृति संरक्षण भनेको केवल संग्रहालय बनाउनु होइन । संस्कारलाई फेरि अभ्यासमा ल्याउनु हो । विद्यालय, समुदाय, स्थानीय सरकार, सांस्कृतिक संस्था र परिवार सबैले मिलेर यस्ता परम्परालाई नयाँ पुस्तासँग जोड्नुपर्छ । लुतो फाल्ने चलनलाई जस्ताको तस्तै दोहो¥याउन आवश्यक नहुन सक्छ, तर त्यसको सांस्कृतिक अर्थ, सामूहिकता र सामाजिक सन्देशलाई जीवन्त राख्न सकिन्छ । आज गाउँ फर्किने युवाको सङ्ख्या न्यून छ । फर्किनेहरू पनि छोटो समयका लागि मात्र पुग्छन् । उनीहरू गाउँमा हुँदा यस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, स्थानीय इतिहास अभिलेखीकरण गर्ने, बुढापाकाका अनुभव र लोकगीत रेकर्ड गर्ने अभियान चलाउन सकिन्छ । यसले संस्कृति र नयाँ पुस्ताबीचको दूरी घटाउन मद्दत गर्नेछ ।

नेपालको पहिचान हिमाल, पहाड र तराईको भौगोलिक विविधताले मात्र बनेको होइन । यिनै असंख्य स्थानीय परम्परा, लोकविश्वास, पर्व र सामुदायिक संस्कारले पनि बनेको हो । यदि यस्ता परम्परा हराउँदै गए भने भविष्यमा हामीसँग केवल तिनको वर्णन बाँकी रहनेछ, अनुभव होइन । साउने सङ्क्रान्तिले हामीलाई अर्को सन्देश पनि दिन्छ— जीवनमा दुःख स्थायी हुँदैन । वर्षभरि खेतमा पसिना बगाएपछि विश्राम आउँछ । रोगपछि स्वास्थ्यको कामना हुन्छ । कठिनाइपछि उत्सव आउँछ । यही आशावाद नेपाली लोकजीवनको सबैभन्दा ठूलो शक्ति हो । आज ‘मेरो लुतो लैज’ भन्ने पुकारा शायद पहिलाजस्तो सुनिँदैन । तर त्यसको अर्थ अझै सान्दर्भिक छ । आजको समाजमा पनि हामी बेरोजगारी, निराशा, पलायन, सामाजिक विखण्डन, एक्लोपन र सांस्कृतिक विस्मृतिजस्ता अनेक ‘लुतो’ बोकेर बाँचिरहेका छौँ । ती लुतो शरीरमा होइन, समाजको मनमा उम्रिएका छन् । साउने सङ्क्रान्तिको वास्तविक सम्मान तब हुनेछ, जब हामी केवल पर्व मनाउने होइन, पर्वले बोकेको सामाजिक दर्शनलाई पनि सम्झिनेछौँ । पुस्तालाई आफ्नो इतिहास सुनाउनेछौँ । गाउँसँग सम्बन्ध टुट्न दिनेछैनौँ । चेलीबेटी आउने आँगन फेरि खुला राख्नेछौँ । सामूहिकताको मूल्य पुनः स्थापित गर्नेछौँ । किनकि कुनै समाज आफ्नो भविष्य केवल नयाँ भवनले निर्माण गर्दैन, उसले आफ्ना स्मृति, संस्कृति र साझा परम्पराको जगमाथि भविष्य उभ्याउँछ । सायद त्यसैले आज पनि साउने सङ्क्रान्तिको सन्देश समयको भीडमा हराएको छैन । बदलिएको अर्थसहित उसले हामीलाई फेरि सम्झाइरहेको छ— समाजलाई कमजोर बनाउने सबै विकृति, विभाजन र विस्मृतिलाई सामूहिक रूपमा बिदाइ गर्ने साहस जुटाऔँ । र हाम्रा गाउँका डिलडाँडामा एक दिन फेयरि, नयाँ पुस्ताको स्वरमा, संस्कृतिप्रतिको नयाँ प्रतिबद्धतासहित प्रतिध्वनित होस् — ‘मेरो लुतो लैजा…।’

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार