रातो पासपोर्ट दुरुपयोग प्रकरणः संविधानसभाका तीन सदस्य दोषी ठहर



काठमाडौँ।

उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा संविधानसभाका तीन सदस्यलाई कसुरदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको छ । न्यायाधीशहरू खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले २०६४ सालको संविधानसभाका सभासदहरू गायत्री साह, विश्वनाथप्रसाद यादव, नारदमुनी राना लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको हो ।

साह नेपाली जनता दल, यादव तत्कालीन मधेशी जनाधिकार फोरम र राना एमालेबाट सभासद बनेका थिए । जिल्ला अदालत काठमाडौँले २१ जेठ, २०७१ मा उनीहरूलाई कसुरदार ठहर गरेको थियो । उनीहरूमाथि पाँच महिना कैद र पाँच सय रूपैयाँँका दरले जरिबानाको फैसला भएको थियो । रातो पासपोर्ट प्रकरणमा बिचौलियाको भूमिका खेलेको आरोपमा थप पाँच जना दोषी ठहर भएका छन् ।

उच्च अदालत पाटनले डिलबहादुर घर्ती, गोपाल बानियाँ, पृथ्वी छन्त्याल, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई सरकारी कागजात किर्ते गरेको आरोपमा एक वर्ष कैद र पाँच लाख ५४ हजार रूपैयाँँ जरिबानाको फैसला सदर गरेको हो । उनीहरूमाथि शुरुमा भ्रष्टाचार मुद्दा चलिसकेको थियो ।

विशेष अदालतले सभासदहरू शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गरेको थियो । उनीहरूलाई तीन महिनाका दरले कैद र १५ हजार रूपैयाँँका दरले जरिवाना भएको थियो । त्यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । पूर्वसांसदहरूका कानुन व्यवसायीहरूले किर्तेको मुद्दा उच्च अदालतमा विचाराधीन भएकाले सुनुवाइ अघि नबढाउन माग गरेपछि सर्वोच्च अदालतले मुद्दालाई मुल्तवीमा राखेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार