कैलाली ।
थारू समुदायको पहिचानसहितको कला, संस्कृति तथा मौलिकताको संरक्षण र प्रवद्र्धनका लागि कैलालीको जानकी गाउँपालिकाभित्र थारू होमस्टे सञ्चालन गर्न थालिएको छ । बढ्दै गएको आधुनिकताले नयाँ पुस्तामा पुरानो मौलिकताप्रति ध्यान जान छोडेपछि हराउँदै गएका पुराना कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि भए पनि होमस्टे सञ्चालनमा आउन थालेका हुन् ।
जानकी गाउँपालिका–६ मा जगतपुर होमस्टे सञ्चालनमा रहेको छ । त्यहाँ ७ वटा घरमा होमस्टे सञ्चालनमा रहेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष धनकुमारी चौधरी बताउँछिन् । उनका अनुसार महिनामा दुई सय जनासम्म पर्यटक होमस्टेमा पुग्छन् । ‘यहाँका होमस्टे सञ्चालूकले झण्डै ६० प्रकारका थारू परिकार तयार गर्न सक्छन्,’ उनी भन्छिन्, ‘होमस्टेमा आएका पाहुनाको स्वागतमा थारू पहिचान झल्काउने प्रस्तुतिहरू पनि हुन्छन् ।’
त्यहाँ हरेक प्रस्तुतिमा युवा पुस्तालाई जोड्न थालिएको छ । पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगै राखेर प्रस्तुति दिँदा नयाँ पुस्तामा पुरानो संस्कृति हस्तान्तरण हुने विश्वास त्यहाँका नागरिकहरूको छ । त्यतिमात्र नभई नजिकै रहेको कर्णाली नदीसँगै जोडिएका सामुदायिक वनमा पर्यटकलाई सफारी गराउने योजना होमस्टे सञ्चालूकहरूको छ ।
जानकी गाउँपालिका–५ अमौरीमा थारू होमस्टे सञ्चालनमा आएको छ । हराउँदै गएका थारू नाच, रैथाने उत्पादनलाई जोड दिँदै त्यसलाई आम्दानीको स्रोत बनाउने गरी होमस्टेको अवधारणा अगाडि बढाइएको अमौरी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तुलाराम चौधरी बताउँछन् । ‘थारू परिकार भन्ने बित्तिक्कै ढ्क्रिीलाई मात्रै बुझ्ने गरिन्छ । तर यहाँ सयौँ थारू परिकार बनाइन्छ,’ उनी भन्छन्, ‘आलुबाट मात्रै कैयौँ परिकार बनाउन सकिन्छ । विभिन्न परिकारको अर्गानिक स्वादमा थारू समुदायको रैथाने नाचबाट पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ ।’
चौधरीका अनुसार थारू समुदायका कैयौँ नाच लोप भइसकेका छन् । आजभोलि त्यहीँ झुम्रा, सखियालगायत सीमित नाच चलनमा रहे पनि पुराना हराउँदै गएका थारू संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने माध्यम नै होमस्टे भएको उनको भनाइ छ । होमस्टेले स्थानीयलाई रैथाने बालीप्रति आकर्षित बनाउँदै लगेको छ भने स्थानीयलाई रोजगारीसँग समेत जोड्न थालेको छ ।
जानकी गाउँपालिका–९ स्थित बक्लौवाको थारू बस्ती पनि थारू होमस्टेमा रुपान्तरण हुँदै गएको छ । त्यहाँका आठ घरमा होमस्टे सञ्चालन हुँदै आएका छन् । महिनामा झण्डै दुई सयभन्दा बढी पर्यटक होमस्टेमा आउने गरेका होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष ऐमा चौधरीले बताइन् । उनका अनुसार त्यहाँ आउने पर्यटक विभिन्न थारू परिकार खान र सांस्कृतिक कार्यक्रमका साथ रमाउने गरेका छन् ।
‘घरायसी वातावरण, अर्गानिक थारू परिकार, विभिन्न रैथाने लोकसंस्कृति, पर्यटकलाई गर्ने व्यवहार नै थारू होमस्टेको प्रमुख पहिचान हो,’ उनी भन्छिन्, ‘त्यहीँ पहिचानलाई जगेर्ना गर्दै आयस्रोतको माध्यमको रूपमौ होमस्टे सञ्चालन हुँदा घरमै रोजगारी सिर्जना भएको छ ।’ गाउँपालिकाले स्थानीय उत्पादनलाई विशेष महत्त्व दिँदै आएको छ । होमस्टे सञ्चालन र व्यवस्थापनका लागि होमस्टे सञ्चालूकहरूलाई तालिम लगायतका सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बताए ।
‘हामीले सुरुवातदेखि नै हराउँदै गएको कला, संस्कृति, स्थानीय उत्पादनलाई जगेर्ना गर्नुपर्छ भनेर काम गर्दै आएका छौँ,’ उनी भन्छन्, ‘त्यसको प्रवद्र्धन गर्दै स्थानीयलाई रोजगारसँग जोड्न होमस्टेको अवधारणालाई जोड दिइएको हो ।’ उनका अनुसार थारू समुदाय मात्रै नभई अन्य समुदायले पनि आफ्नो पहिचान र उत्पादनलाई झल्काउने गरी होमस्टे सञ्चालन गर्दा लोप हुँदै गएका पहिचान फर्किनेछन् ।
चालूू आर्थिक वर्षमा मात्रै गाउँपालिकाले होमस्टे सञ्चालूकहरूलाई थारू परिकार बनाउन र लोप भएका नाच सिकाउन तालिम सञ्चालन गरेको थियो ।होमस्टे घरवास महासंघका महासचिव कृष्णलाल चौधरीका अनुसार देशभर सात हजारभन्दा बढी घरमा होमस्टे सञ्चालन हुँदै आएका छन् । उनले होमस्टेले समुदायको पहिचानसँगै पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिँदै आएको उल्लेख गर्दै राज्यबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेका छन् ।
स्वाद र आधुनिकतालाई हेरेर पुर्खाले स्थापना गरेको भान्सा बिगार्न नहुने उनको भनाइ छ । ‘होमस्टेमा हरेक कुरा फरक हुनुपर्छ । होमस्टेको भान्सा पूरा अर्गानिक हुनुपर्छ,’ चौधरी भन्छन्, ‘हामीले आएका पाहुनालाई बाहिरको भन्दा फरक सेवा दिन सकेनौँ भने हामी सफल हुन सक्दैनौँ ।’









प्रतिक्रिया दिनुहोस्