कैलाली ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएको १० दिनमै आफ्नै दलका एक प्रदेशसभा सदस्यले सरकार ढाल्ने चेतावनी दिएका छन् । २९ साउनमा नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए । सरकारले भदौ ५ गते मात्रै पूर्णता पाएको थियो ।
सरकार गठन भएको छोटो समयमै नेकपा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीले आफ्ना माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका हुन् । टीकापुर विद्रोह दिवसका अवसरमा बोल्दै नागरिक उन्मुक्ति पृष्ठभूमिका चौधरीले थारूबहुल क्षेत्रमा पर्याप्त विकास बजेट विनियोजन नगरिए सरकार ढाल्न सक्ने चेतावनी दिए ।
‘अहिले प्रदेशमा लाल सरकार छ । हामी प्रदेशमा सात जना छौँ । हाम्रै सहयोगमा प्रदेशमा लाल सरकार बनेको छ,’ चौधरीले भने, ‘यो क्षेत्रमा पर्याप्त विकास बजेट नदिए लाल सरकार ढाल्न पनि सक्छौँ ।’
उनले थारूबहुल क्षेत्रमा विकास निर्माणसँगै सर्वसाधारणको जीविकोपार्जन सुधारका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । नेकपा नेतृत्वको सरकारलाई आफ्नो समूहको समर्थन महत्वपूर्ण रहेको उल्लेख गर्दै चौधरीले माग सम्बोधन नभए सरकार ढाल्ने चेतावनी दिएका हुन् ।









प्रतिक्रिया दिनुहोस्