वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ लग्दहवाका किसान रामगोपाल काँदुले यसवर्ष करिब ३ बिघा जमिन मलबिनै रोपिसके । बाँकी करिब दुई बिघा खेतमा रोपाइँका लागि धानको बीउ उखेल्दै गरेको अवस्थामा भेटिएका काँदुले दुःखेसो पोखे, ‘अघिल्लो वर्ष इण्डियाबाट पनि ल्याइन्थ्यो । बरु एसएसबीको गाली खाएरै भए पनि मल ल्याउन सकिन्थ्यो । यसवर्ष त न उता गएर ल्याउन पाइयो, न यहीँ मल पाइयो ।’
काँदुले मल नहुँदा धानले उत्पादन नै नदिने भन्दै यसवर्ष उत्पादन घट्ने चिन्ता व्यक्त गरे । ‘जमिनमा मल नहालिकन उत्पादन नै नहुने भइसक्यो । पहिले पहिले गोबर मल हालेर पनि अलिअलि काम गथ्र्याे । तर अब रासायनिक मल नभई हुँदैन । यस वर्ष धान उत्पादन पक्का घट्छ,’ उनले भने । रामगोपाल जस्तै बाँकेका अधिकांश किसानहरूले यसवर्ष मलबिनै रोपाइँ गरिरहेका छन् । हरेक वर्षझैँ यसवर्ष पनि उनीहरूले न धानको बीउ राख्दा मल पाए, न ‘मानो रोपेर मुरी फलाउने’ भनिने सिजनमै मल पाए ।
नेपालगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठका अनुसार यस वर्ष धान सिजनका लागि भनेर वैशाखमा मल वितरण गरिएकोमा त्यसबेला बीउ राख्ने सिजन नआएकोले किसानहरूले मल लिएनन् । लिए पनि सबै किसानलाई पुग्ने मल उपलब्ध थिएन । बीउ राख्ने सिजन मानिने जेठ महिनामा भैरहवास्थित क्षेत्रीय कार्यालयबाट मलको कोटा स्वीकृत हुन ढिलाइ भएको श्रेष्ठ बताउँछन् । त्यसैकारण जेठको २५ गतेबाट मात्रै मल वितरण हुन सुरु भयो ।
जतिबेला अधिकांश किसानहरूले बीउ राखिसकेका थिए । अहिले रोपाइँ भइरहेकै सिजनमा पुनः मल वितरण रोकिएको छ । अब साउन पहिलो हप्तायता मल वितरण गर्न नसकिने श्रेष्ठ बताउँछन् । श्रेष्ठको भनाइ छ, ‘कम्तीमा पाँच सय मेट्रिकटन मल नभइकन सहकारीलाई वितरण गर्न थाल्ने हो भने त्यसले उल्टै हारालुछ मात्रै गराउँछ । त्यही भएर अलि धेरै किसानलाई पुग्नेगरी मल मौज्दात भयो भने बाँड्ने भनेर साउन पहिलो हप्तालाई समय तोकेको छु ।’
गत वर्ष बाँकेमा धान सिजनमा एक हजार सात सय ८० मेट्रिकटन युरिया र नौ सय ३५ मेट्रिकटन डिएपी कृषि सामग्री कम्पनीबाट वितरण भएको थियो । यस वर्ष असार ४ गतेसम्म चार सय १८ मेट्रिकटन डिएपी र पाँच सय १४ मेट्रिकटन युरिया मल सहकारीहरूमा पठाइएको थियो । यस आधारमा गत वर्षको तुलनामा यस वर्ष हालसम्म करिब २८ प्रतिशत युरिया र ४५ प्रतिशत मात्रै डिएपी मल किसानसम्म पुगेको छ । गत वर्षसम्म सीमा नाकामा कडाइ नहुँदा केही किसानहरूले भारतबाट समेत मल ल्याएर धान रोप्ने गर्थे । यस वर्ष नाकामा कडाइले भारतबाट लुकाइछिपाइ ल्याउने मल पनि ठप्प भएको छ ।
जसले गर्दा यस वर्ष मलको माग अझै बढिरहेको अवस्था छ । रामगोपालले पनि वैशाखमा मल बाँड्दा एक बोरा युरिया मल भने पाएका थिए । उक्त मल केही किलो बीउमै ठिक्क भयो । बँचेको मल धान हुर्किसकेपछि हाल्नुपर्छ भनेर राखेको उनले बताए । उनलाई दुई बोरा मल आवश्यक हुनेमा अहिले बँचेको आधा बोरा मल बालुवामा पानीजस्तै हुने पनि उनको भनाइ छ । अहिले धान रोप्दा युरिया मल नभई डिएपी मल चाहिन्छ । जुन मल उनले यस वर्ष पाउन सकेनन् ।
एक बोरा युरिया मल पाउन पनि उनले ठूलै संघर्ष गर्नुप¥यो । दुई तीन दिन धाएर लाइनमा लागेपछि बल्ल उनले मल पाए । रामगोपालले भने, ‘एक बोरा युरिया पाउन पनि झगडा गर्नुप¥यो । किसानलाई जहिल्यै रोपाइँको सिजनमा तनावमाथि तनाव मात्रै हुन्छ । कहिल्यै सुविधा नपाइने भो ।’ उनले मल नपाउँदाको समस्या मात्रै सुनाएनन् । सिक्टाको नहर नबन्दा सिँचाइ सुविधा नभएर छिमेकीको मोटरबाट भाडामा सिँचाइ गर्नुपरेको, डिजलको मूल्य बढेर सिँचाइ र जोताइको लागत बढेको उनले बताए ।
जहिले पनि नेताहरूले किसानहरूको मल, बीउ र सिँचाइको समस्या समाधान गर्ने भाषण गरे पनि व्यवहारमा झन्झट मात्रै व्यहोर्नु पर्ने गरेको उनले बताए । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख श्रेष्ठका अनुसार जिल्लाका लागि सात हजार मेट्रिकटन वार्षिक रूपमा आवश्यक पर्ने भनेर माग गरिएकोमा बढीमा चार हजारदेखि चार हजार पाँच सय मेट्रिकटन मल प्राप्त हुन्छ । त्यही मल पनि समयमा प्राप्त भइदिँदैन । उनका अनुसार यस वर्ष वैशाखमा धानको सिजनका लागि आवश्यक मल वैशाखमा आइपुग्ने भनेर गोदामहरू खाली राख्न भनिएको थियो । तर मध्यपूर्वको तनावले होर्मुज जलडमरु बन्द भएपछि उक्त मल समयमा आइपुगेन । अहिले भने मल आउने क्रम सुरु भएको उनले बताए ।
श्रेष्ठका अनुसार वैशाखसम्म पाँच सय ८७ मेट्रिकटन युरिया र चार सय ८४ मेट्रिकटन डिएपी मल मौज्दात थियो । तत्पश्चात् हाल थप आएको मलसमेत गरेर असार २४ गतेसम्म १५ मेट्रिकटन डिएपी र तीन सय २६ मेट्रिकटन युरिया मल मौज्दात भएको छ । ‘कम्तीमा पाँच सय मेट्रिकटन मल नभइकन वितरण गर्नु र नगर्नुको अर्थ छैन । हारालुछ मात्रै हुन्छ,’ श्रेष्ठ भन्छन् । त्यही अवस्थालाई ध्यानमा राखेर साउन पहिलो हप्ता मल वितरण गर्ने तालिका बनाएको उनको भनाइ छ । तर कृषि सामग्रीले बनाएको तालिका पर्खिन किसानहरूलाई सम्भव छैन । रामगोपाल भन्छन्, ‘पहिलेजस्तो राँगा गोरुले खेत जोत्ने जमाना छैन । ढिलो भयो भने वरिपरिकाले रोपेर ट्याक्टर आउने बाटो नै पाइँदैन । अर्काेतिर बीउ हुर्किसकेको छ । मल पाइएपछि रोपौँला भनेर पर्खिने हो भने धान झनै फस्टाउँदैन ।’
‘मलका लागि हरसम्भव प्रयास जारी छ’
संघीय सरकारका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाली लगाउने मुख्य याममा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको बताएकी छन् । मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पूरा भएको अवसरमा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको दाबी गरिन् ।
मन्त्री चौधरीका अनुसार आगामी साउन महिनाभित्र थप दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात गरी किसानलाई वितरण गर्ने प्रकिया अगाडि बढाइएको छ । आर्थिक वर्ष २०८२–०८३ मा चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७ सय १६ दशमलव ४५ मेट्रिकटन तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट ३५ हजार ४७८ दशमलव १० मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरिएको उनले बताइन् । गत चैतयता दुवै कम्पनीबाट तीन लाख ५० हजार मेट्रिकटनको बोलपत्र आह्वान गरिएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्