गण्डकी महिला टी–२० क्रिकेट उपाधिमा स्याङ्जाको ‘ह्याट्रिक’



कास्की ।

पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । महिला क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा तथा प्रदेश खेलकुद परिषद्को सहकार्यमा प्रतियोगिता सुरु भएको थियो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा घरेलु टोली कास्कीलाई ७१ रनले हराउँदै स्याङ्जा लगातार तेस्रो पटक च्याम्पियन बन्यो ।

‘राउण्ड रोविन लिग’मा अपराजित रहँदै फाइनल पुगेको स्याङ्जाले उपाधि भिडन्तमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो दबदबा कायम राख्यो । ‘टस’ जितेर पहिले ‘फिल्डिङ’ रोजेको कास्कीले स्याङ्जालाई ११० रनमा सीमित गरेको थियो । स्याङ्जाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११० बनाउँदा सलिना सेनले सर्वाधिक २२ रन तथा सिमाना केसीले ११ रन, ज्योत्स्निका मरासिनीले नौ बलमा दुई चौकासहित १४ रन तथा अरमिना अधिकारीले ३४ बलमा १८ रनको योगदान दिइन् ।

कास्कीका लागि यशोदा भुजेल र मुस्कान जैसवालले समान दुई÷दुई विकेट लिए । वर्षा पौडेल र सोनिमा थापा मगरले समान एक÷एक विकेट हात पारे । खेलमा जितका लािग १११ रनको सामान्य लक्ष्य पछ्याएको कास्कीको ब्याटिङ भने स्याङ्जाका बलरसामु पूर्ण रूपमा धराशायी बन्यो । कुनै पनि ब्याटरले ठूलो ‘इनिङ्स’ खेल्न नसक्दा कास्की १६ ओभरमा ३९ रनमा ‘अलआउट’ भयो । कास्कीका लागि रेखा तामाङले सर्वाधिक १२ रन बनाइन् भने चन्द्रमाया बरालले १० रनको योगदान दिइन् ।

स्याङ्जाको ‘बलिङ’मा रबिना बुढाले तीन र सिमाना केसीले पनि समान तीन विकेट हात पारिन् । निरु जिटीले दुई विकेट लिइन् । ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै स्याङ्जाले प्रतियोगिताभर अपराजित यात्रा कायम राख्दै लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भयो । फाइनल खेलकी ‘प्लेयर अफ दी म्याच’ स्याङ्जाकी रबिना बुढामगर घोषित भइन् । प्रतियोगितामा च्याम्पियन बनेको स्याङ्जाले उपाधिसहित स्याङजाले नगद रु ३० हजार र उपविजेता कास्कीले नगद रु २० हजार प्राप्त गरे ।

त्यस्तै, प्रतियोगितामा स्याङजाकी रविना बुढा मगर ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भइन् र रु पाँच हजार पुरस्कार पाइन् । ‘वेष्ट ब्याटर’को उपाधि चन्द्रमाया बराल (कास्की), ‘बेष्ट बलर’को उपाधि स्याङ्जाकी सिमान केसी बने । उनीहरूले जनही नगद रु दुई हजार ५०० प्राप्त गर्दा उदीयमान खेलाडी पर्वतकी जिविका क्षेत्री घाषित हुदै नगद रु दुई हजार प्राप्त गरेकी छन् ।

विजेता खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, आयोजक गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले नगद, मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरे । महिला क्रिकेटको स्तर उकास्दै प्रतिभावान् खेलाडी उत्पादन गर्ने तथा महिला क्रिकेटको प्रवद्र्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा उत्पादनको लक्ष्यसहित आयोजित प्रतियोगितामा कास्की, स्याङ्जा, नवलपुर, बागलुङ र पर्वत गरी पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार