सामुदायिक वनहरू अहिले ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधार बनेका छन् । वन उपभोक्ता समूहहरूले काठ, दाउरा, घाँस तथा विभिन्न गैरकाष्ठ वन पैदावारको व्यवस्थापन गरेर वार्षिक लाखौँ रूपैयाँँ आम्दानी गरिरहेका छन् । ती रकम वन संरक्षण, सामुदायिक विकास, विद्यालय, सडक तथा विपन्न परिवारको सहयोगमा खर्च गरिँदै आएको छ । यसले वन संरक्षण र सामाजिक विकासलाई एकसाथ अगाडि बढाएको छ ।
गजेन्द्र गुरुङ ।
एक समय बाँकेका धेरै वन क्षेत्रमा अवैध कटानी, अतिक्रमण र डढेलोका घटना सामान्यजस्तै थिए । वन संरक्षणलाई केवल वातावरणसँग जोडेर हेरिन्थ्यो । तर पछिल्ला वर्षहरूमा समुदाय, वन कार्यालय र सामुदायिव वन उपभोक्ता समूहको सक्रियताले वन संरक्षणको स्वरूप मात्र बदलेको छैन, यसले आर्थिक समृद्धिको नयाँ आधारसमेत निर्माण गरिरहेको छ । आज बाँकेमा जंगल जोगाउने अभियान वातावरणीय दायित्वमा मात्र सीमित नभएर यो स्थानीय रोजगारी, आयआर्जन, पर्यटन प्रवद्र्धन र जैविक विविधताको संरक्षणसँग जोडिएको आर्थिक अभियानका रूपमा विकसित हुँदै गएको छ । बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र सरकारद्वारा व्यवस्थित वनहरूले जिल्लाको ठूलो भूभाग ओगटेका छन् । यहाँका वन क्षेत्रमा बाघ, गैँडा, हाती, चितुवा, जरायो, बँदेल, नीलगाई लगायतका दुर्लभ वन्यजन्तुको वासस्थान रहेको छ । वन संरक्षण प्रभावकारी बन्दै जाँदा वन्यजन्तुको सङ्ख्या बढेको छ भने वन क्षेत्रको घनत्वसमेत सुधारिएको छ । वन विज्ञहरूका अनुसार स्वस्थ वनले केवल वातावरणीय सन्तुलन कायम मात्रै नगरेर यसले स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउँछ । बाँकेका सामुदायिक वनहरू अहिले ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधार बनेका छन् । वन उपभोक्ता समूहहरूले काठ, दाउरा, घाँस तथा विभिन्न गैरकाष्ठ वन पैदावारको व्यवस्थापन गरेर वार्षिक लाखौँ रूपैयाँँ आम्दानी गरिरहेका छन् । ती रकम वन संरक्षण, सामुदायिक विकास, विद्यालय, सडक तथा विपन्न परिवारको सहयोगमा खर्च गरिँदै आएको छ । यसले वन संरक्षण र सामाजिक विकासलाई एकसाथ अगाडि बढाएको छ ।
वनबाट प्राप्त हुने गैरकाष्ठ वन पैदावारको सम्भावना पनि बाँकेमा उल्लेखनीय छ । सतुवा, कुरिलो, हर्रो, बर्रो, अमला, बेल, मह तथा विभिन्न जडीबुटीजन्य उत्पादनहरू स्थानीय समुदायका लागि आम्दानीको स्रोत बनेका छन् । पछिल्लो समय यस्ता उत्पादनको व्यावसायिक खेती तथा प्रशोधनतर्फ आकर्षण बढ्दै गएको छ । वनमा आधारित उद्यम सञ्चालन गरेर धेरै युवाले रोजगारी पाएका छन् । विदेश जानुपर्ने बाध्यता केही हदसम्म कम गर्न पनि यस्ता गतिविधिले सहयोग पु¥याइरहेका छन् । राष्ट्रिय वनसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जले पनि पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याएको छ । निकुञ्ज स्थापना भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । वन्यजन्तु अवलोकन, जंगल सफारी, प्रकृति अध्ययन र पर्यावरणीय पर्यटनका गतिविधिले स्थानीय होटल, यातायात तथा अन्य व्यवसायलाई चलायमान बनाएको छ । पर्यटनसँग जोडिएका स्थानीय युवाले प्रकृति पथप्रदर्शक, होटल व्यवसायी तथा सेवा प्रदायकका रूपमा रोजगारी प्राप्त गरिरहेका छन् । यसले वन संरक्षणबाट प्रत्यक्ष आर्थिक लाभ लिन सकिने उदाहरण प्रस्तुत गरेको छ । वन संरक्षणले कृषि क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको छ । स्वस्थ वनले पानीका स्रोतहरूको संरक्षण गर्छ । बाँकेका धेरै क्षेत्रमा वन संरक्षणका कारण मुहान र जलाधार क्षेत्र सुरक्षित भएका छन् । यसबाट खेतीपातीका लागि आवश्यक पानी उपलब्ध हुन मद्दत पुगेको छ । जलवायु परिवर्तनका असर बढ्दै गएको अवस्थामा वनले तापक्रम नियन्त्रण, वर्षा चक्र सन्तुलन र माटो संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यसले अन्ततः कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षामा योगदान पु¥याउँछ।डिभिजन वन कार्यालय बाँकेले पछिल्लो समय वन्यजन्तु संरक्षणसँगै वन क्षेत्रमा सोलार प्रणालीमार्फत पानीको व्यवस्था गर्ने, डढेलो नियन्त्रण गर्ने तथा वन अतिक्रमण रोक्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । हालै राप्ती सोनारी गाउँपालिकाको शमसेरगञ्ज–माथेवास चक्ला वन क्षेत्रमा सोलार पम्पमार्फत वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिएको छ । यस्ता कार्यक्रमले वन्यजन्तुको संरक्षणमा सहयोग पुग्नुका साथै वन क्षेत्रको दिगो व्यवस्थापनमा पनि टेवा पु¥याएको छ ।
यद्यपि चुनौतीहरू अझै बाँकी छन् । डढेलो, अवैध कटानी, वन अतिक्रमण र मानव–वन्यजन्तु द्वन्द्व अझै पनि प्रमुख समस्या बनेका छन् । विशेषगरी निकुञ्ज आसपासका बस्तीमा बाघ, हाती तथा अन्य वन्यजन्तुको प्रवेशले स्थानीयलाई समस्या हुने गरेको छ । वन संरक्षणबाट हुने लाभको न्यायोचित वितरण र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ । संरक्षणका नाममा स्थानीयको जीवनयापन प्रभावित भए संरक्षण अभियान दिगो बन्न सक्दैन । विज्ञहरूका अनुसार अब वनलाई केवल संरक्षणको दृष्टिले मात्र होइन, हरित अर्थतन्त्रको आधारका रूपमा हेर्न आवश्यक छ । कार्बन व्यापार, पर्यावरणीय सेवा, प्रकृतिमा आधारित पर्यटन तथा वनजन्य उद्योगहरू विकास गर्न सके बाँकेले आर्थिक समृद्धिको नयाँ उचाइ हासिल गर्न सक्छ । यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक छ । जंगल जोगाउनु भनेको विकास रोक्नु नभएर बरु दिगो विकासको आधार तयार गर्नु बाँकेको अनुभवले एउटा महत्वपूर्ण सन्देश दिएको छ । वन विनाश गरेर प्राप्त हुने अल्पकालीन लाभभन्दा वन संरक्षणबाट प्राप्त हुने दीर्घकालीन आर्थिक, सामाजिक र वातावरणीय लाभ धेरै ठूलो हुन्छ । हरियाली जोगाउन सकियो भने त्यसबाट रोजगारी, पर्यटन, कृषि, उद्योग र समग्र अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । आज बाँकेमा वन संरक्षण र आर्थिक विकासबीचको सम्बन्ध स्पष्ट रूपमा देखिन थालेको छ । जंगललाई सम्पत्तिका रूपमा संरक्षण गर्दै त्यसको दिगो उपयोग गर्न सकियो भने हरियाली नै समृद्धिको आधार बन्न सक्छ । बाँकेले यही मार्ग समातेको छ, जसले अन्य जिल्लाका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ । हरियो वन, सुरक्षित वन्यजन्तु र समृद्ध समुदायको सपना साकार पार्ने आधार यही हो ।
सामुदायिक सेवामा समर्पित सामुदायिक वन
वनको अवस्था सुधार गर्न र ग्रामीण जनताका वनपैदावरसम्बन्धी आवश्यकता पूरा गर्ने, परम्परादेखि वनको प्रयोग गरिरहेका र वनक्षेत्रबाट नजिक रहेका तथा वनको संरक्षणमा र उपयोगमा प्रत्यक्ष योगदान तथा पहुँच पु¥याउन सक्ने समुदायलाई वन व्यवस्थापनको जिम्मा हस्तान्तरण गर्दै सामुदायिक वनको नीतिअनुरुप दर्ता भई सञ्चालनमा रहेका बाँकेमा ११८ वटा सामुदायिक वनहरू रहेका छन् । यी सामुदायिक वनहरूले २६११६.५८ हेक्टर क्षेत्रफल जमिन ओगटेका छन् । जसमध्ये वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणाली लागू भएका ५८ वटा सामुदायिक वन रहेका छन् । यी वनले १२१५३ हेक्टर क्षेत्रफल जमिन ओगटेका छन् । यी सामुदायिक वनहरू जीविकोपार्जनको माध्यम बन्नुका साथै आफ्ना गाउँठाउँको विकास निर्माणमा समेत अग¬¬्रसर हुँदै गएका छन् । स्थानीय सरकारसँग समन्वय गरि विद्युत् विस्तार, बाटाघाटा, सडक निर्माण तथा नाला निर्माण लगायतका थुप्रै विकासका काममा साझेदारी गरिरहेका छन् ।
स्थानीय विद्यालयहरूमा शिक्षकको बन्दोबस्तदेखि लिएर विद्यालय निर्माण मर्मतसम्भार लगायत पनि गर्दै आएका छन् । त्यसैगरी समूहका सदस्यहरूलाई स्वरोजगार बनाउने, तालिम दिने, आयआर्जनसँग जोड्ने, सिँचाइका लागि मोटर पाइप खरिद, विभिन्न अन्नबालीका बीउ खरिदमा अनुदान तथा समूहको आम्दानी बढाउन विभिन्न क्रियाकलापहरू गर्दै आएका छन् । यी समूहहरूले स्वयंसेविकाहरूलाई प्रोत्साहन रकम प्रदान, गभवती आमाहरूलाई शिशु स्याहार कार्यक्रमअन्तर्गत पोसिलो खानेकुरा तथा आवश्यक सामग्रीदेखि लिएर बच्चालाई न्यानो कपडा प्रदान गर्दै आएका छन् । व्यापार व्यवसाय गर्न चाहने समूहका सदस्यहरूलाई बिनाब्याजमा एक लाख रूपैयाँँसम्म सापटी प्रदान, सामूहिक हितका लागि वनको संरक्षण, सम्वद्र्धन तथा सदुपयोग गर्नुका साथै हरेक वर्ष खाली वनक्षेत्रमा वृक्षारोपण, मानव बस्ती र वनक्षेत्रबीच तारबार लगाउने काम गर्दै आएका छन्, जसका कारण वन्यजन्तु र मानवबीच हुने सम्भावित द्वन्द्वलाई न्यूनीकरण गरेको छ । सामुदायिक वनहरूले आफूले आम्दानी गरेर आफ्ना सदस्यहरूको रेखदेख, विकास निर्माण लगायतका सामाजिक कार्य गर्नुका साथै वन जंगल जोगाएर वातावरण संरक्षणमा उल्लेख्य योगदान पु¥याएका छन् भने वन्यजन्तु संरक्षणमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।
वन कार्यालयको भूमिका
देशको आर्थिक विकासका लागि मेरुदण्ड मानिएको कृषि, जलस्रोत, उद्योग, वातावरणीय सन्तुलन, पर्यटन आदिको विकासका लागि वनक्षेत्रले ठूलो योगदान पु¥याएको छ । वन क्षेत्रको संरक्षण एवम् दिगो व्यवस्थापनमार्फत वनपैदावरको उत्पादन र वन क्षेत्रको उत्पादकत्व वृद्धि गरी प्राप्त बस्तु तथा सेवाको सदूपयोगबाट वृहत् रोजगारीको अवसरहरू सिर्जना गरी समृद्ध नेपाल निर्माण गर्ने अभियानमा डिभिजन वन कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । डिभिजन वनको क्षेत्रभित्रको राष्ट्रिय वनको संरक्षण, सम्वद्र्धन तथा सदुपयोग गर्न, डिभिजनस्तरीय संघीय र प्रदेश सरकारका वनसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरूको प्रभावकारी गर्न, प्रचलित ऐन, नियम र नीतिअनुसार सम्भाव्य चक्ला, सामुदायिक तथा धार्मिक वन क्षेत्रहरूको पहिचान, विकास र व्यवस्थापन गर्न, डिभिजनस्तरीय वन किास कार्यमा जनसहभागिता परिचालन गर्दै वन निकायबाट जनतालाई प्रवाह गर्नुपर्ने सेवासुविधा चुस्त, दुरुस्त, प्रभावकारी वन प्रशासनलाई कायम गर्न, नीजि वन र कृषि वन प्रणालीको विकास विस्तार गर्न एवम् आवश्यक सीप, ज्ञान र प्रविधि हस्तान्तरण गर्न लगायतका कार्यहरूमा वन कार्यालयको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
विशेषगरी तराईका जिल्लाहरूमा वनको संरक्षणसँगै यसको दिगो उपयोगमार्फत आर्थिक समृद्धिको आधार निर्माण गर्ने प्रयासहरूमा डिभिजन वन कार्यालयहरूको भूमिका महत्वपूर्ण रहिआएको छ । वन क्षेत्रको संरक्षण र व्यवस्थापनलाई मात्र प्राथमिकता दिने पुरानो सोचबाट बाहिर निस्कँदै अहिले वन कार्यालयहरूले उत्पादनमुखी र आयमूलक कार्यक्रमहरू सञ्चालन गर्न थालेका छन् । समुदायमा आधारित वन व्यवस्थापन, जडीबुटी खेती, बाँस तथा बेतजन्य उद्योग, वन उद्यम विकास, पर्यापर्यटन प्रवद्र्धन तथा वन पैदावारको दिगो वन व्यवस्थापनजस्ता कार्यक्रममार्फत वनलाई आर्थिक विकाससँग जोड्ने काम भइरहेको छ । बाँके जिल्लालाई उदाहरणका रूपमा हेर्ने हो भने डिभिजन वन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै वन संरक्षणसँगै आयआर्जनका गतिविधि विस्तार गरिरहेको छ । सामुदायिक वनहरूमा दिगो वन व्यवस्थापन लागू गरी काठ, दाउरा तथा अन्य वनपैदावार उत्पादन बढाउने प्रयास भइरहेको छ । यसबाट उपभोक्ता समूहको आम्दानी बढ्नुका साथै स्थानीय तहमा रोजगारका अवसर पनि सिर्जना भएका छन् । यति मात्रै नभएर सरकारद्वारा व्यवस्थित चक्ला वन व्यवस्थापतर्फ ध्यान दिएको देखिन्छ । बाँकेमा गत वर्षसम्म एउटा मात्र चक्ला वन रहेकोमा यस वर्ष थप दुई वटा चक्ला वनको व्यवस्थापन गरी तीन वटा पु¥याइएको छ । वन कार्यालयले पछिल्लो समय जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको उत्पादन र बजारीकरणमा समेत जोड दिएको छ । वन क्षेत्रमा पाइने विभिन्न जडीबुटी, लोक्टा, चिराइतो, सतुवा, अमला, हर्रो, बर्रो लगायतका वनजन्य उत्पादनलाई व्यवसायिक रूपमा उपयोग गर्ने वातावरण तयार गरिएको छ । यसले ग्रामीण समुदायको आम्दानी बढाउन सहयोग पुगेको छ ।
त्यसैगरी बाँस तथा बेतजन्य बस्तुको उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्न तालिम, प्रविधि तथा आवश्यक सहयोग उपलब्ध गराउने काम पनि वन कार्यालयले गर्दै आएको छ । यसबाट घरेलु तथा साना उद्योगको विकासमा टेवा पुगेको छ । वनमा आधारित उद्यम सञ्चालन गर्ने युवाहरूको सङ्ख्या पनि बिस्तारै बढ्दै गएको देखिन्छ । वन क्षेत्रलाई पर्यटनसँग जोड्ने प्रयास पनि उल्लेखनीय छ । संरक्षण गरिएको वन, वन्यजन्तु, ताल तथा प्राकृतिक सम्पदालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वन कार्यालयले स्थानीय तह र समुदायसँग सहकार्य गरिरहेको छ । वन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दा होटल, यातायात, गाइड तथा अन्य सेवा क्षेत्रमा समेत आर्थिक गतिविधि विस्तार हुने सम्भावना रहन्छ । वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पनि वन कार्यालय सक्रिय छ । वन्यजन्तुका लागि पानी, घाँस तथा सुरक्षित वासस्थानको व्यवस्था गर्ने, सोलार पम्पमार्फत कृत्रिम पोखरी निर्माण गर्ने, वन डढेलो नियन्त्रण गर्ने लगायतका कार्यक्रमले वनको दिगोपन कायम राख्न मद्दत पुगेको छ । दिगो वन व्यवस्थापनबिना आर्थिक लाभ पनि दीर्घकालीन हुन सक्दैन भन्ने तथ्यलाई वन कार्यालयले व्यवहारमै उतार्ने प्रयास गरिरहेको छ । यद्यपि केही चुनौतीहरू अझै विद्यमान छन् । वनजन्य उत्पादनको प्रशोधन उद्योगको अभाव, बजार पहुँचको समस्या, पर्याप्त लगानीको कमी तथा वन उद्यम सञ्चालनमा जटिल कानुनी प्रक्रियाले अपेक्षित उपलब्धि हासिल गर्न कठिनाइ भइरहेको छ । वनलाई आर्थिक विकासको आधार बनाउन नीतिगत सुधार, निजी क्षेत्रको सहभागिता र स्थानीय समुदायको सक्रिय सहकार्य आवश्यक देखिन्छ । वनलाई जोगाउँदै यसको दिगो उपयोग गर्न सकिएमा यसले हजारौँ नागरिकको जीवनस्तर उकास्न सक्छ । यही उद्देश्यलाई आत्मसात् गर्दै वन कार्यालयहरूले संरक्षणसँगै उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिन थालेका छन् । हरियालीको संरक्षणमार्फत आर्थिक समृद्धिको आधार निर्माण गर्ने यो अभियान सफल भएमा वन नेपालको आर्थिक विकासको महत्वपूर्ण खम्बा बन्न सक्नेछ ।









प्रतिक्रिया दिनुहोस्