मिसन टुडे राष्ट्रिय दैनिक १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको अवसरमा तपाईँ आदरणीय पाठक, वितरक, विज्ञापनदाता र शुभेच्छुकबाट अनवरत प्राप्त स्नेह, सद्भाव, साथ र सहयोगका लागि कृतज्ञ छौँ, सबैप्रति आभार व्यक्त गर्दछौँ । निरन्तर बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिवेशबीच सत्य, तथ्य र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै अघि बढ्नु हाम्रो मुख्य मिसन रहिआएको छ । पछिल्लो समय मुलुक आर्थिक मन्दीको चपेटामा छ । उद्योग, व्यापार, रोजगारी र विज्ञापन बजारमा आएको संकुचनले सञ्चार क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ । छापाखाना, कागज, वितरण र जनशक्ति व्यवस्थापनको लागत बढ्दो छ भने परम्परागत आम्दानीका स्रोतहरू घटिरहेका छन् । यस्ता चुनौतीका बीच पनि स्वतन्त्र पत्रकारितालाई जीवित राख्नु आजको सबैभन्दा ठूलो जिम्मेवारी बनेको छ । परम्परागत मुद्रित माध्यमका लागि लागत बढ्नु, विज्ञापन घट्नु र पाठकको रुचि डिजिटल प्लेटफर्मतर्फ सर्नु ठूलो चुनौती बनेको छ । यससँगै प्रविधिको तीव्र विकासले सञ्चारको स्वरूप नै परिवर्तन गरिदिएको छ । डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई)को विस्तारले सूचना प्रवाहलाई छिटो र व्यापक बनाएको छ । तर गलत सूचना, अफवाह र अपुष्ट सामग्रीको जोखिम पनि उत्तिकै बढेको छ । यही कारण विश्वसनीय पत्रकारिताको आवश्यकता झन् बढी महसुस गरिएको छ । मिसन टुडे अब प्रिन्टसँगै डिजिटल प्लेटफर्ममार्फत थप सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ । हामी समयको मागसँगै डिजिटल प्रविधिलाई अवसरका रूपमा उपयोग गर्दै तथ्यमा आधारित, जिम्मेवार र जनमुखी पत्रकारितालाई अझ मजबुत बनाउने हाम्रो अठोट छ । ‘सूचनामा तपाईँसँगको साझेदारी’ हाम्रो मूल मन्त्र हो । सञ्चार क्षेत्रको बदलिँदो समयमा विभिन्न चुनौती सामना गर्दै व्यावसायिक र मर्यादित पत्रकारिताप्रति पाठकले गर्नुभएको विश्वास र मायानै हाम्रो सम्पत्ति हो । यही सम्पत्ति हामी सधैँ कायम गरिराख्ने प्रण गर्दछौँ । १६ वर्षको अनुभव, पाठकको विश्वास र नयाँ पुस्ताको ऊर्जा हाम्रो सबैभन्दा ठूलो पूँजी हो । १७औँ वर्षमा प्रवेश गर्दै मिसन टुडे सत्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वको यात्रामा अझ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्