सम्पादकीयः एकल महिलाको सम्मान र सशक्तीकरण



हरेक वर्ष जुन २३ तारिखका दिन अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइन्छ । समाजमा विभिन्न कारणले एक्लो जीवन बिताउन बाध्य भएका महिलाहरूको अधिकार, सम्मान, सुरक्षा र सशक्तीकरणको विषयलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । पति गुमाएका, सम्बन्धविच्छेद भएका, अविवाहित, परित्यक्त वा अन्य कुनै कारणले एक्लै जीवनयापन गरिरहेका महिलाहरूलाई एकल महिलाको रूपमा चिनिन्छ । नेपालजस्तो परम्परागत सामाजिक संरचना भएको देशमा एकल महिलाले अझै पनि विभिन्न प्रकारका सामाजिक, आर्थिक र मनोवैज्ञानिक चुनौती सामना गरिरहेका छन् । पछिल्लो समय कानुनी तथा नीतिगत सुधारका कारण एकल महिलाको अवस्था केही सुधार भए पनि उनीहरूप्रति गरिने विभेद र पूर्वाग्रह पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । समाजमा अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । कतिपय ठाउँमा उनीहरूलाई शुभ–अशुभको आधारमा मूल्यांकन गरिन्छ भने सामाजिक तथा पारिवारिक निर्णय प्रक्रियामा समेत उनीहरूको सहभागितालाई सीमित गरिन्छ । यस्तो सोच लोकतान्त्रिक र समानतामूलक समाज निर्माणको मार्गमा बाधक हो । नेपालमा द्वन्द्व, वैदेशिक रोजगारीका क्रममा भएका दुर्घटना, प्राकृतिक विपद् तथा विभिन्न सामाजिक कारणले एकल महिलाको सङ्ख्या बढ्दै गएको छ । यस्ता महिलामध्ये धेरैजना आर्थिक रूपमा कमजोर छन् ।
परिवारको सम्पूर्ण जिम्मेवारी आफैँले वहन गर्नुपर्ने अवस्था, रोजगारीको अभाव, सम्पत्तिमाथिको सीमित पहुँच तथा सामाजिक असुरक्षाले उनीहरूको जीवन थप कठिन बनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रका एकल महिलाले शिक्षा, स्वास्थ्य र आर्थिक अवसर प्राप्त गर्न अझ बढी संघर्ष गर्नुपरेको यथार्थ छ ।

एकल महिलाको सशक्तीकरणका लागि राज्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सामाजिक सुरक्षा भत्ता, सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण तथा उद्यमशीलता विकासका कार्यक्रम सकारात्मक प्रयास हुन् । तर यी कार्यक्रमको प्रभावकारिता अझै अपेक्षाकृत छैन । लक्षित वर्गसम्म सेवा र सुविधा सहज रूपमा पुग्न नसक्नु, जानकारीको अभाव तथा कार्यान्वयनमा देखिने कमजोरीका कारण धेरै एकल महिला अझै पनि सरकारी सहयोगबाट वञ्चित छन् । एकल महिलाको समस्या केवल आर्थिक पक्षसँग मात्र सम्बन्धित छैन । मानसिक स्वास्थ्य, आत्मसम्मान र सामाजिक स्वीकार्यता पनि उत्तिकै महत्वपूर्ण विषय हुन् । जीवनका कठिन परिस्थितिबाट गुज्रिरहेका महिलाहरूलाई समाजले सहानुभूति मात्र होइन, सम्मान र अवसर प्रदान गर्नुपर्छ । उनीहरूलाई दया वा कमजोर व्यक्तिका रूपमा होइन, सक्षम र आत्मनिर्भर नागरिकका रूपमा हेर्न आवश्यक छ ।

सञ्चारमाध्यम, शैक्षिक संस्था र सामाजिक संघसंस्थाहरूले सकारात्मक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । अन्तर्राष्ट्रिय एकल महिला दिवसले समाजलाई आत्मसमीक्षा गर्ने अवसर पनि प्रदान गर्छ । महिलाको वैवाहिक अवस्थाका आधारमा उनको मूल्यांकन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । संविधानले सुनिश्चित गरेको समानता, स्वतन्त्रता र सम्मानको अधिकार व्यवहारमा पनि लागू हुनुपर्छ । स्थानीय तहदेखि संघीय सरकारसम्मका निकायले एकल महिलाका आवश्यकता पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्छ । साथै, उनीहरूको नेतृत्व विकास, राजनीतिक सहभागिता र आर्थिक सशक्तीकरणमा विशेष ध्यान दिन आवश्यक छ । एकल महिलाहरू समाजका बोझ होइनन्, परिवर्तनका संवाहक हुन् । धेरै एकल महिलाले कठिन परिस्थितिलाई चुनौतीका रूपमा स्वीकार गर्दै परिवार, समुदाय र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । उनीहरूको संघर्ष, साहस र आत्मविश्वास सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत हो । एकल महिलाको सम्मान, अधिकार र अवसर सुनिश्चित गर्दै उनीहरूलाई समाजको मूलधारमा अझ सशक्त रूपमा स्थापित गर्नु अन्तर्राष्ट्रिय एकल महिला दिवसको सार हो । जबसम्म एकल महिलाले पूर्ण सम्मान र समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक र समावेशी समाज निर्माणको लक्ष्य अधुरै रहनेछ । त्यसैले यो दिवस केवल औपचारिक कार्यक्रमको अवसर नभई सामाजिक सोच परिवर्तन गर्ने अभियानका रूपमा मनाइनु आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार