काठमाडौँ।
नेपाल र भारतबीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त (डाइरेक्ट ट्रान्सफर) गर्न सकिने सेवा सुरू भएको छ । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा यस्तो सेवाको सुरूवात गरेका हुन् ।
भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेसनल पेमेन्ट इन्टरफेसको प्रणालीबीचको अन्तर आबद्धतामार्फत दुवै मुलुकबीच पैसा पठाउन सकिने भएको हो । २०८० मा नेपाल र भारतबीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौताअन्तर्गत नै यो सेवाको सुरूवात भएको हो । अब भारतका बैंकबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिने भएको हो । तर अहिलेलाई यस्तो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले पाउने भएका हुन् ।
यहाँबाट भारतीयहरूले भने प्रतिपटक १५ हजार भारूसम्म पठाउन सक्ने नेपाल क्यिरिङ हाउस (एनसिएचएल)का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बताए । नेपालबाट प्रतिमहिना २ लाख भारूसम्म पठाउन पाइनेछ । ‘भारतबाट भने रोजगारीमा रहेका नेपाली वा त्यहीँका बासिन्दाले प्रतिपटक दुई लाख भारूसम्म पठाउन सक्नेछन्,’ प्रधानले भने ।
दैनिक वा मासिक सीमा तोकिएको छैन । बैंकको खाताबाट बैंकको खातामा रकम पठाउन सकिने भएको हो । हाल नेपालका करिब आधा दर्जन बैंकहरूमार्फत् यो सेवाको प्रयोग गर्न सकिने भएको छ । यसअघिदेखि नै नेपाल भ्रमणमा आउने भारतीयहरूले यहाँ क्युआरमार्फत भुक्तानी गर्न पाउने सुविधा पाइरहेका छन् । तर नेपालबाट भारत जानेहरूले क्युआरमार्फत् त्यहाँ भुक्तानी गर्न पाइरहेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्