गोरखाले मनायो २५औँ वार्षिकोत्सव



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले २५औँ वार्षिकोत्सव मनाएको छ । शनिबार विद्यालयले एक औपचारिक कार्यक्रमकाबीच २५औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले गोरखा स्कुल बाँकेको मात्र नभई पश्चिम नेपालको उत्कृष्ट विद्यालय रहेको बताइन् ।

उनले सञ्चालक समिति, अभिभावक र शिक्षकहरूको सहकार्यका साथै मिहिनेतले पश्चिम नेपालको उत्कृष्ट विद्यालय बन्न सफल भएको बताएकी हुन् । कोहलपुर नगरपालिकालाई शैक्षिक केन्द्र बनाउन गोरखालगायत निजी विद्यालयहरूको पनि महत्वपूर्ण भूमिका रहने उनले बताइन् । २५ वर्षसम्मको यात्रा केवल एउटा विद्यालयको इतिहास मात्र नभइ हजारौँ विद्यार्थीका सपना, अभिभावकको विश्वास र शिक्षकहरूको अथक मेहनत रहेको उनको भनाइ थियो ।

उनले विद्यालयलाई थप सफलताको शुभकामना दिँदै स्थानीय सरकार सधैँ सहकार्य र समन्वय गर्न तयार रहेको बताइन् । नगरपालिकाले पनि शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्दै आएको र परिणाम पनि देखिन थालेको उनको भनाइ थियो । विद्यालयका संस्थापक अध्यक्ष केशरबहादुर आलेले विद्यालयको शैक्षिक यात्रामा सधैँ साथ दिने अभिभावक, शिक्षक र सञ्चालक समितिलाई कृतज्ञता प्रकट गरे ।

विद्यालयले यस अवधिमा केवल शैक्षिक उपलब्धि मात्र हासिल नगरेर असल नागरिक, सक्षम नेतृत्वकर्ता र जिम्मेवार युवा उत्पादन गर्ने अभियानलाई पनि निरन्तरता दिइरहेको आलेले बताए । वार्षिकोत्सव समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने ५०० भन्दा बढी विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूको मिहिनेत र सफलतालाई कदर गर्दै विद्यालयले थप हौसला प्रदान गर्न सम्मान र छात्रवृत्ति वितरण गरेको छ । उक्त अवसरमा विद्यार्थीहरूले सांस्कृतिक झल्किने नृत्य तथा विविध प्रतिभा प्रस्तुत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार