कर्णालीमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै



वीरेन्द्रनगर ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक कार्यक्रमअनुसार कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा प्रतियोगिता यही जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुन लागेको हो । सन् २०२७ मा बंगलादेश र नेपालमा संयुक्त रूपमा आयोजना हुने महिला विश्वकप क्रिकेटमा प्रतिनिधित्व गर्ने नेपाली टोलीमा समावेश हुने महिला खेलाडीको छनोटका लागि यो प्रतियोगिता हुन लागेको हो ।

बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै क्यान कर्णाली प्रदेशले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगितामा देशका सातवटै प्रदेशका महिला टोलीहरूको सहभागिता रहने जानकारी दिए । महिला क्रिकेटको इतिहासमा कर्णालीमा हुन लागेको यो पहिलो राष्ट्रिय प्रतियोगिता भएकाले यसलाई ऐतिहासिक अवसरका रूपमा लिइएको उनले बताए ।

खड्काले गत वर्ष सफलतापूर्वक सम्पन्न गरिएको यू–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितापछि कर्णालीले दोस्रोपटक राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको बताए । यसले प्रदेशको क्षमता र सम्भावनालाई थप उजागर गर्ने कोषाध्यक्ष खड्काले बताए । प्रतियोगिताले देशभरका प्रतिभावान महिला क्रिकेटरलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

प्रतियोगिताका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवा लगायतका सम्पूर्ण व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको अयोजक संस्थाले जनाएको छ । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत यो प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको कोषाध्यक्ष खड्काको भनाइ छ ।

प्रतियोगितामा विजेता टोलीले पाँच लाख रूपैयाँ तथा उपविजेता टोलीले तीन लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रूपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ हुने खेलाडीलाई ३ हजार रूपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताअन्तर्गत २२ वटा खेलहरू हुनेछन् । ती खेलहरू वीरेन्द्रनगरको कालुङचोक र कर्णाली रंगशाला नजिकैको मैदानमा सञ्चालन गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार