विद्युत् खपतमा भ्याटले भान्सा महंगिने



वीरेन्द्र जैसी । नेपालगन्ज ।

विद्युत्मा पनि भ्याट लाग्ने भनेर सरकारले गर्न लागेको व्यवस्थाले खाद्यान्नदेखि औषधिसम्मको मूल्य बढ्न सक्ने त्यसले नेपालीहरूको चुलो नै महंगिने अवस्था आउने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा ५० युनिटभन्दा बढीको विद्युत् खपतमा पाँच प्रतिशतले भ्याट लाग्ने भनिएको छ ।

विद्युतीय उपकरणको प्रयोग बढ्ने र घरमा पनि विद्युत् खपत बढिरहेको अवस्थामा एकातिर आम नागरिकले विद्युत् प्रयोगकै कर तिर्नुपर्ने अवस्था आउनेछ भने अर्काेतिर दैनिक उपभोग्य खाद्य बस्तुदेखि औषधिसम्मको मूल्य बढ्ने अवस्था आउने देखिएको छ । जसले हरेक नेपालीको चुलो समेत प्रभावित हुने अवस्था आउने देखिएको छ ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको श्री सिद्धिनिवायक फुड प्रोडक्टस् उद्योगका सञ्चालक मिनेश मास्के सरकारले विद्युत्मा लगाउने भनेको भ्याटले उद्योगहरू सिधै प्रभावित हुने बताए । उनका अनुसार खाद्य वस्तुहरूमा भ्याट समायोजन पनि गर्न नपाइने हुँदा खाद्य उत्पादनसम्बन्धिका उत्पादनहरू महंगो हुनसक्ने बताए । ‘हामी बिजुलीको भ्याटकै कारण मूल्य त नबढाऔँला । तर प्याकेजिङ लगायतको मूल्य बढेको बेला बिजुलीमा पनि भ्याट थपिँदा त्यसको असर मूल्यमा पनि पर्नु स्वभाविक हुनेछ,’ मास्केले भने ।

दुग्ध पदार्थको उत्पादन तथा बजारीकरण गरिरहेको ग्लोबल डेरी उद्योगका मार्केटिङ म्यानेर विनोद ढकाल डेरी उद्योगहरू पनि विद्युत्को भ्याटले समस्यामा पर्ने बताए । ठूला प्याकेजिङ गर्ने डेरी उद्योगहरूको विद्युत् खर्च उच्च हुने र प्याकेजिङ खर्च पनि बढिरहेका बेला विद्युत्मै भ्याट लगाउँदा त्यसले सिधा असर गर्ने उनले बताए । अर्काेतिर भ्याटमा दर्ता नभएका र स्थानीयस्तरमा सञ्चालित साना–साना डेरी उद्योगहरूले पनि विद्युत्मा लाग्ने कर उपभोक्ताबाट लिन खोज्दा मूल्य बढ्न सक्ने बताए ।

खजुराका व्यावसायिक कृषक सुरेन्द्र खड्का पनि विद्युत्मा भ्याट लगाउने व्यवस्था आएदेखि चिन्तित छन् । तरकारी खेती गर्दै आएका कृषक खड्काले तरकारी खेती हाल पूर्णतया जमिनमुनिको पानीले हुने सिँचाइमा आधारित रहेको र त्यसका लागि विद्युत् खपत उच्च हुने भएकोले पाँच प्रतिशत भ्याटले पनि किसानलाई मर्का पर्ने बताए । अन्तमा त्यसको असर पनि तरकारीको मूल्यमा पर्ने र उपभोक्ताको भान्सासम्म प्रभावित हुने उनको भनाइ छ ।

खड्काले भने, ‘अहिले हाम्रो फार्ममा मात्रै महिनामा करिब ६०० युनिट जति विद्युत् खपत हुन्छ । यसमा पाँच प्रतिशतका दरले मात्रै कर लाग्ने हो भने पनि त्यो ठूलो रकम हुन जान्छ । कृषकलाई सहुलियत दिनुपर्ने माग उठिरहेका बेला कर थप्दा तरकारीको मूल्य नबढाइकन टिक्न गाह्रो हुने देखिन्छ ।’ विद्युत्मा लाग्ने भ्याटले प्रभावित हुने बस्तुहरूमा मुख्यगरी खाद्यान्न, तरकारीका मसला, औषधीय खोपहरू, सोयाबडी, जुट, चामल, दाल, चिउरा, भुजा, धान, मकै, गहुँ लगायतका उत्पादनमा भ्याट छुट पाइने बस्तुहरूसँगका उत्पादक उद्योगहरू छन् ।

यसैगरी औषधि तथा औषधीय खोप तथा इन्जेक्सनमा भ्याट नलाग्ने हुँदा विद्युत्को भ्याट क्रेडिट फिर्ता नपाइने हुन्छ । यसैगरी, दूध र दही जस्ता आधारभूत डेरी उत्पादन र घियु तथा छुर्पी लगायतका निर्यातजन्य दुग्ध उत्पादन पनि महंगो हुने व्यवसायीहरू बताउँछन् । डेरी व्यवसायी तथा साना किसानहरूले सहुलियत मागिरहेका बेला सरकारले भने अपेक्षाविपरीत विद्युत्मै कर लगाउने निर्णय गरेको छ । विद्युत्को खपत बढाउनुपर्ने बेला कर लगाउनु उल्टो बाटो भएको भन्दै अहिले व्यापक विरोध भइरहेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली पनि सरकारले धेरै राम्रा व्यवस्था ल्याएकोमा विद्युत्मा भ्याट लाग्ने व्यवस्था ल्याएर खराब महसुस गराएको बताउँछन् । उनले भने, ‘५० युनिटभन्दा बढीको विद्युत्मा भ्याट लगाउने भन्ने विषय चाहीँ सच्याउनैपर्छ । किनकि भ्याट क्लेम गर्न पाउने व्यवसायीहरूले त क्लेम गरौँला । तर क्लेम गर्न नपाउने र घरेलु उपभोक्ताले त अनपेक्षित मार सहनुपर्ने भयो ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ पनि सरकारले विद्युत् खपत बढाउन प्रोत्साहन गर्नुपर्ने नीति लिनुपर्ने बेला उल्टै कर लगाउनु सही नभएको बताउँछन् ।

‘यसले साना उद्यमीहरूलाई असर गर्छ । उद्यमीहरूलाई असर गर्नु भनेर अन्ततः उपभोक्तलाई नै असर गर्नु हो,’ उनले भने । विद्युत्मा कर लगाइएको विषयमा संसद्मा पनि विरोध भएको छ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले घरघरमा खाना पकाउनेखि अरु काममा विद्युत् खपत बढाउनुपर्नेमा उल्टो कर किन लगाइएको हो ? भन्ने प्रश्न गरेकी थिइन् ।

उक्त प्रश्नमा जवाफ दिँदै प्रधामन्त्री बालेन्द्र शाहले अहिले नै देश विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था नरहेको बताए । उनले भने, ‘साँच्चिकै देशका हरेक किचनमा इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सवस्टेशनहरू पड्कन्छन् । त्यसको क्षमता नै छैन अहिले ।’ प्रधानमन्त्री शाहले विद्युत्को प्रशारण क्षमता बढाउन पैसा चाहिने र त्यसकै लागि पाँच प्रतिशत कर लगाइएको बताए । उनले थपे, ‘त्यो एकदमै धेरै रकम होइन । सय रूपैयाँमा पाँच रूपैयाँ हो । त्यो पैसा चाहीँ के मा खर्च हुन्छ भन्दाखेरि देशभरी ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ ।’

कस्ता बस्तुको बढ्न सक्छ मूल्य ?

नेपालको मूल्य अभिवृद्धि कर (भ्याट) ऐन तथा नियमावली कुनै पनि व्यवसायले आफ्नो व्यवसायिक प्रयोजनका लागि खरिद गरेका बस्तु वा सेवामा तिरेको भ्याट रकमलाई आफूले संकलन गरेको भ्याटसँग कट्टा गर्न पाउँछन् । तर, यस्तो कर कट्टा गर्दा बस्तुमा भ्याट नलाग्ने उद्योगहरूले भने विद्युत्को भ्याट कट्टा गर्न नपाउने हुन्छ । जसको भार बस्तुमा भ्याट छुट भएका उद्योगहरूले उपभोक्तामा सार्ने अवस्था आउँछ ।

भ्याट छुट पाएका बस्तुहरू आधारभूत कृषि उपज, औषधि आदि उत्पादन वा बिक्री गर्दा भ्याट छुुट हुन्छ । यस्ता उद्योगहरूले भ्याट उठाउन नपाउने हुँदा कर कट्टि पनि गर्न पाउने अवस्था रहन्न । यस्ता भ्याट नलाग्ने बस्तुहरूमा आधारभूत कृषि उपज तथा खाद्यान्न जस्तै अन्न तथा गेडागुडीः धान, चामल, गहुँ, मकै, कोदो, फापर र दाल, ताजा तरकारी, आलु, प्याज, फलफूल पर्दछन् ।

यसैगरी, प्याकिङ वा ब्रान्डिङ नगरिएका दूध तथा दुग्धजन्य ताजा दूध, दही, मही र चीज अण्डा जस्ता बस्तुहरूमा पनि भ्याट लाग्दैन । तर यीसँग सम्बन्धित उद्योग तथा व्यापारीहरूले बिजुलीमा लाग्ने भ्याट भने तिर्नुपर्ने हुन्छ । जसलाई उनीहरूले मूल्यमा समायोजन गर्दा यी बस्तुहरूको मूल्य बढ्ने जोखिम छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार