सीमा विवादबारे भारतको जवाफ– द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका हुँदैन



काठमाडौँ । 

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा समस्याबारे उनकै शब्दमा ‘इंग्ल्यान्डसँग पनि कुरा गर्ने’ बताएको बारे भारतले प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री शाहले आइतबार व्यक्त गरेको अभिव्यक्तिमा मंगलबार जवाफ फर्काउँदै भारतले द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने बताएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकारहरूले नेपालका प्रधानमन्त्रीले सीमाबारे चीन र बेलायतसँग कुरा गरिरहेको बताएको विषयमा भारतको प्रतिक्रिया मागेका थिए ।

जवाफमा जैसवालले भने, ‘भारत–नेपाल सीमाको सम्बन्धमा नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जुन अभिव्यक्ति आएको छ, त्यसलाई हामीले सुनेका छौँ । भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत निर्धारित भइसकेको छ । केही हिस्सामा समस्या छ, गण्डक नदीको बहावमा परिवर्तन भएको कारण यो स्थिति उत्पन्न भएको छ ।’

‘यसका अलावा सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र नो म्यान्स ल्यान्डमा अतिक्रमणका मामिला पनि छन् । जसको संयुक्त रूपले सीमांकन गरिँदै छ । सीमासम्बन्धी सबै मामिला समाधान गर्न दुईपक्षीय संयन्त्र स्थापित गरेका छौँ । सबै पक्षलाई यो स्पष्ट हुन जरुरी छ, भारत र नेपालको बीचमा जेजति द्विपक्षीय मामिला छन्, त्यसमा कुनै पनि तेस्रो पक्षको भूमिका छैन’, उनले थपे ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार