काठमाडौँ ।
सभामुख डीपी अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन राज्यका निकायसँगै नागरिक समाज र सामाजिक संघसंस्थाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्ताे बताएका हुन् । उनले कानुन निर्माण प्रक्रियामा सरोकारवाला पक्षहरूले व्यवस्थापिकालाई आवश्यक सुझाव दिनुपर्ने बताए । देशको विकास, जनताको सुख–समृद्धि र सुशासनका लागि कस्ता कानून आवश्यक छन् भन्ने विषयमा नागरिक समाजले मार्गदर्शन गर्नुपर्ने उनको भनाइ थियो ।
‘कानून निर्माणमा व्यवस्थापिकालाई सघाउने, सुझाव दिने, कहाँ कस्तो कानून चाहिन्छ, कस्तो कानून बनाएमा जनता खुशी हुन सक्छन्, देश समृद्ध हुन सक्छ, त्यो बाटो तपाईंहरूले देखाउनुपर्छ,’ उनले भने ।
अर्काे प्रसंगमा सभामुख अर्यालले सरकारका कामकारबाहीमाथि पनि निरन्तर खबरदारी गर्न आग्रह गरे । ‘तपाईंहरूले जसरी लायन्स क्लबमा बिहानै उठेर घण्टी बजाउने गर्नुहुन्छ, अब सरकारलाई पनि घण्टी बजाइदिनुहोला, यहाँनेर गलत हुँदैछ, यो छिटो गर्नुस्, यसरी काम गर्नुस्, जनताको माग यही हो भनेर खबरदारी गर्नुस्,’ उनले भने ।
सभामुख अर्यालले कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई समेत आवश्यक सुझाव र दबाब दिन आग्रह गरे । उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिहरूलाई जनताको आवश्यकता र अपेक्षाप्रति सचेत गराइराख्नु नागरिक समाजको महत्त्वपूर्ण दायित्व हो ।









प्रतिक्रिया दिनुहोस्