दाङ ।
लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पारेका थिए ।
विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गरेका थिए । बुधबारको बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षणसम्बन्धी विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि मन्त्री तिमिल्सिनाले जवाफ दिएका थिए ।
यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेशसभामा पेस गरेका थिए । आगामी बैठक सूचनाद्वारा जानकारी गराइने गरी सभा स्थगित गरिएपछि अहिले नै मन्त्री बन्न अघि सरेका एमाले र काँग्रेसका सांसदहरू आश्चर्यमा परेका छन् ।एमाले संसदीय बोर्डको बहुमत तथा काँग्रेस प्रदेश समितिले अहिलेको मन्त्रीमण्डलबाट बजेट राम्रो आउन नसक्ने भन्दै मुख्यमन्त्री आचार्यलाई यथावत् राखेर सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ राख्ने समझदारी गरेर तयारी गरेका थिए ।
तर काँग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित सबै एकमुष्ट परिवर्तन गर्नुपर्ने निर्णय गरिएसँगै रोकिएको हो । बजेट तयारीका बेला मन्त्रीमण्डल पुनःगठनको विषय दलहरूले अघि सारेर थप आलोचित भएका थिए । यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु सरकारको दायित्व भएको बताएका छन् ।
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनको आठौँ बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयलाई आगामी बजेटमार्फत समेटिने स्पष्ट पारे । ‘सरकार अविच्छिन्न उत्तराधिकारी हो । अघिल्लो सरकारले अगाडि सारेका कार्यक्रमलाई सम्पन्न नगरी बीचमै छाड्नु राम्रो कुरा होइन,’ उनले भने, ‘स्थापनाकालदेखि सञ्चालनमा रहेका धेरै कार्यक्रमलाई निरन्तरताका साथ अघि बढाएका छौँ । नयाँ सोच र दृष्टिकोणका कार्यक्रम पनि समावेश गरेका छौँ ।’
उनले लुम्बिनी प्रदेशको समृद्धि, आर्थिक उन्नति र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै सभामा प्रस्तुत गरिएका कार्यक्रम बजेटमार्फत कार्यान्वयन गरिने बताए । मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले स्थापनाकालदेखि अघि सारेका नीति तथा कार्यक्रमले अहिले भुइँतहमा सकारात्मक परिणाम दिन थालेका छन् ।
उनले चालू आर्थिक वर्ष २०८२–०८३ मा लुम्बिनी प्रदेशको कूल गार्हस्थ उत्पादन ९ खर्ब ३६ अर्ब रूपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा प्रदेशको योगदान १४ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको उनले बताए । प्रदेश स्थापना भएदेखि हालसम्म ३ खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ बजेट विनियोजन गरिएको र त्यसमध्ये २ खर्ब ४ अर्ब ८९ करोड रूपैयाँ खर्च भएको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्