हरेक मुलुकको शिक्षाले बालबालिकाहरूको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गरी उक्त प्रतिभाको सदुपयोगको माध्यमबाट बालबालिकालाई परिवार, समाज र समग्र मुलुकका लागि सक्षम नागरिक बनाउने उद्देश्य निर्धारण गरेको हुन्छ । हाम्रो मुलुकले पनि यो कुरामा कन्जुस्याइ गरेको छैन् । पाठ्यक्रम र शिक्षाका राष्ट्रिय उद्देश्यहरूमा बकाइदा पहिलो बुँदामै राखेर प्राथमिकतामा राखेको देखिन्छ ।
जीतबहादुर शाह
केही महिना पहिले मैले सामाजिक सञ्जालमा भेटाएको थिएँ, प्युठानको झिमरुकमा एउटा विद्यालय छ, जसको नाम हो बालज्योति आधारभूत विद्यालय । उक्त विद्यालयको कक्षा ४ मा अध्ययन गर्ने छात्रा आशाकुमारी विक एउटा समस्याका कारण उदास देखिन्थिन् । बुवा भारतमा काम गर्थे, आमा पनि आशा चार वर्षको हुँदै अर्कोसँग विवाह गरेर गइसकेकी थिइन् । सौतेनी आमा भीरबाट लडेर भारतमै उपचाररत थिइन् । अनि घरमा केही गर्न नसक्ने बुढी हजुरआमा मात्र थिइन् । त्यसैले घरको सबै जिम्मेवारी उनकै काँधमा थियो । अनि त्यही बेला पाकेको कोदो भित्र्याउनु पर्ने भएको थियो । पाकेको कोदो अविलम्ब भित्र्याउन नसके बाँदरले सखाप पार्ने डर थियो । एघार वर्षकी आशालाई सबै कोदो एक्लै काटेर थन्क्याउनका लागि कम्तीमा चार दिनको बिदा चाहिएको थियो । यो कुरा जब उनका प्रअ शंकरबहुदर बस्नेतले थाहा पाए, उनले आशालाई बिदा दिएनन् बरु स्कुलका सबै विद्यार्थी र शिक्षकलाई भेला पारे, गाउँघरबाट हँसिया लिएर आए, त्यसपछि सबै जनालाई आशाको खेतमा लगेर सबै कोदो एकैदिनमा काटेर भित्र्याइदिए । विद्यालयबाट आशाले कहिल्यै आशा नगरेको सहयोग पाइन् । कोदो काट्न आएका शिक्षक र विद्यार्थीहरूलाई पनि सहयोग गर्न पाएकोमा सुखद अनुभूति र व्यावहारिक सिकाइ भएकोले मक्खै देखिए । हरेक मुलुकको शिक्षाले बालबालिकाहरूको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गरी उक्त प्रतिभाको सदुपयोगको माध्यमबाट बालबालिकालाई परिवार, समाज र समग्र मुलुकका लागि सक्षम नागरिक बनाउने उद्देश्य निर्धारण गरेको हुन्छ । हाम्रो मुलुकले पनि यो कुरामा कन्जुस्याइ गरेको छैन । पाठ्यक्रम र शिक्षाका राष्ट्रिय उद्देश्यहरूमा बकाइदा पहिलो बुँदामै राखेर प्राथमिकतामा राखेको देखिन्छ । तर जब बालबालिका जिन पियाजेको वर्गीकरणमा ठोस र अर्धठोस अवस्थाबाट गुज्रिरहेका हुन्छन् त्यही अवस्थामै उनीहरूलाई शारीरिक क्रियाकलापहरूबाट टाढा बनाएर मानसिक क्रियाकलापहरूमा अल्झाउने काम गरिन्छ ।
हाम्रो शिक्षाले यहीँनेरबाट बाटो बिराउन सुरु गर्छ । बालबालिकाको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने काममा भोटे ताल्चा लगाएर हामीले किताबमा भएका सङ्केत (अक्षरहरू) चिनाउन वा घोकाउनतिर लाग्छौँ । सुरुको दिन रमाउँदै विद्यालय गएका बालबालिका हप्तादिन पुगेपछि स्कुल नजानका लागि बहाना बनाउन थाल्छन् । उनीहरूको नदुखेको पेट दुख्न थाल्छ, नदुखेको टाउको दुख्न थाल्छ । खाना पनि नखाइदिने अवस्था सिर्जना हुन्छ । किनभने खाना खायो भने विद्यालय जानुपर्छ । विद्यालय सम्झ्यो भने जान मनै लाग्दैन । किनभने विद्यालयले उनीहरूको अन्तरनिहित भावनाको प्रष्फुटन गर्ने गराउने काम गर्न सकेन । विद्यालयहरू जीवनशाला नभइ पाठशालामा सीमित देखिए । २०औँ शताब्दीका विश्व प्रसिद्ध स्पेनिस चित्रकार पाब्लोपिकासो कलामा जति तीक्ष्ण थिए, विद्यालयको औपचारिक शिक्षा र अनुशासनमा त्यत्ति कै कमजोर र विद्रोही थिए । उनलाई कक्षाकोठामा बस्न, अक्षरहरू चिन्न र गणितका हिसाब गर्न कत्ति पनि मन पर्दैनथ्यो । विद्यालयले नियम पालन नगरेका कारण उनलाई धेरैपटक सजायस्वरुप एउटा खाली कोठामा थुन्ने गथ्र्योे । तर पिकासोका लागि त्यही सजाय नै उनको चित्रकारिताका लागि उपयुक्त अवसर भएको थियो । उनले त्यही कोठामा स्केचप्याड लिएर जान्थे र दिनभरि त्यही कोठामा बसेर चित्र कोर्थे । विद्यालयले उनको अन्तरनिहित प्रतिभाको रूपमा रहेको चित्रकारितालाई जति प्रोत्साहित गर्नु पथ्र्यो गरेन र बरु हिसाबलगायत अन्य विषयहरूमा भएको कमजोरीलाई मुद्दा बनाएर सजायको काम जारी राख्यो । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र थोमस अल्बा एडिसनको बाल्यकालको विद्यालयको जीवन पनि अपमानजनक नै रह्यो । उनीहरूमा भएको जीवन र जगतप्रतिको जिज्ञाशा र उत्सुकतालाई विद्यालयले प्रोत्साहन गर्नुको सट्टा उनीहरूले पढाइप्रति देखाएको आलस्यका निम्ति सजाय दिने काम जारी राख्यो । विश्वप्रसिद्ध व्यक्ति र व्यक्तित्वहरूको जीवनी अध्ययन गर्दा अधिकांशले बाल्यकालको विद्यालय जीवन सुखद देखिँदैन ।
विद्यालयका सुरुवाती दिनहरू बालबालिकाका निम्ति प्रतिकूल हुनुको प्रमुख कारण भनेको विद्यालयले बालबालिकालाई चिन्न नसक्नु र उनीहरूको पृष्ठभूमि र अन्तरनिहित प्रतिभाको बारेमा बेखबर हुनु हो । बरु गर्नुपथ्र्यो के भने विद्यालयको कक्षाकोठामा उनीहरूलाई विभिन्न किसिमका खेलकुद सामग्री, चित्र सामग्री, पाठ्यसामग्री र लगायत विभिन्न बस्तुहरूको व्यवस्थापन गरेर उनीहरूकै रुचिअनुसार खेल्न र चल्न दिनु पथ्र्यो । बालबालिकाले गरेका क्रियाकलापहरूको अध्ययन गरेर उनीहरूसँग बेलाबेलामा मुस्कुराउँदै उनीहरूले गरिरहेको काम र खेलिरहेको खेलको खुलेर प्रशंसा गर्नुपथ्र्यो । त्यस्तो काम हाम्रा विद्यालयहरूले गर्न सकेनन् । यसका लागि विद्यालय र त्यहाँ अध्यापन गर्ने शिक्षकले मात्र नसोचेर सरकारले पनि सोच्नु पथ्र्यो । सरकारलाई त घाम पानी छेक्ने रित्तो कक्षाकोठा मात्र बालबालिकालाई दिन समेत हम्मेहम्मे भइरहेको अवस्था छ । रित्तो कक्षाकोठा र त्यहाँ शिक्षकको रूपमा बसेको अपरिचित र मन नपर्ने कुरा गर्ने व्यक्ति देखेपछि त बालबालिकाका निम्ति त्योभन्दा अरु सजाय के हुन्छ ? त्यसपछि नै बालबालिकाहरू क्रमशः कक्षाप्रति र विद्यालयप्रति नकारात्मक हुन थाल्छन् । विद्यालयमा गएपछि पनि फुर्तिलो र जागरुक हुन सक्दैनन् । टोनी रविन्सले भनेका छन्, ‘मानिसले कुनै काम गर्न अल्छी ग¥यो भने बुझ्नु पर्छ कि उसलाई त्यो कामले आकर्षित गर्न सकेन ।’ हाम्रा बालबालिकाहरू खुसी मनले रमाउँदै विद्यालय जान नसकेको कारण विद्यालयमा उनीहरूका निम्ति सम्पादन गरिने क्रियाकलापहरूले उनीहरूलाई आकर्षित गर्न नसकेकै हो । बालबालिकाहरू वयस्कको तुलनामा अलि बढी चञ्चल स्वभावका हुन्छन् । हामी र हाम्रा विद्यालयहरूले उनीहरूमा रहेको चञ्चल स्वभावको न्यूनीकरण गर्नका लागि शिक्षा दिने कसरत गरिरहेका हुन्छन् । धेरै चञ्चले बालबालिकालाई त विद्यालयले अनुशासनहीन भनेर ट्याग लगाउन पनि पछि पर्दैन । उनीहरूलाई तुल्बुल् नगरेर शान्त रहन भन्नु भनेको ९० वर्षको पृद्धलाई फुटबल मैदानमा लिएर फुटबल खेल्न लगाउनुजस्तै कष्टकर हुन्छ भन्ने कुरा बिर्सिनु हुँदैन ।
बालबालिकामा ऊर्जा छ त्यसकारण चञ्चल छ । वृद्धमा ऊर्जा छैन त्यसैले एकैठाउँमा बस्दछ । विद्यालय र शिक्षकले उनीहरूमा भएको ऊर्जा र चञ्चलतालाई मर्न नदिएर बरु झन् बढी सक्रिय हुने गरी सिकाइका विधि र प्रक्रियाहरू छनोट गरेर प्रयोग गर्नु पर्दछ । हामीले त्यस्तो गरेनौँ । बालबालिकाको रुचि र आवश्यकतालाई पनि ख्याल गर्नतिर लागेनौँ । कक्षाभरिका सबै बालबालिकालाई एउटै पाराले शिक्षण सिकाइ ग¥यौँ । बालबालिकाहरूले कक्षामै पनि समयसमयमा प्रदर्शन गर्ने प्रतिभा र क्षमतालाई जगेर्ना गर्नका लागि समेत हामीले बेवास्ता ग¥यौँ । यो त कक्षाभरिका सबै बालबालिकालाई एउटै नापोको लुगा सिलाएर लगाउन दिएजस्तै भएन र ? के हामीले बालबालिकाहरूलाई असफल र जोक्कर बनाउन खोजेकै हो त ? तालिम, प्रशिक्षण र भेटघाटको क्रममा विद्यालयका शिक्षक र अन्य पदाधिकारीहरूसँग उल्लिखित प्रसङ्गहरूमा छलफल गर्दा साधन र स्रोत नभएको कुरा उठ्छ । यो कुरा केही हदसम्म सही पनि हो । कुनै विद्यालय आफ्नै कारणले राम्रो भयो भने अहिले भएका तीनवटै सरकारहरूले यो हाम्रो योगदान हो भनेर चौतारी र चोकहरूमा गफ हाँकिरहेका हुन्छन् । तथापि गफ दिएजति योगदान दिएको देखिँदैन । अहिलेको पाठ्यक्रमले कक्षा ४ देखि कक्षा ८ सम्म चालिस प्रतिशत भार प्रयोगात्मक र परियोजना कार्यका निम्ति छुट्याएको छ । त्यस्तैगरी कम्तिमा पनि पच्चिस प्रतिशत भार अन्य कक्षाका सबै विषयहरूमा व्यवस्था गरेको छ । तथापि यी कामहरू पाठ्यक्रमले व्यवस्था गरेअनुसार कार्यान्वयन भएका देखिँदैनन् । शिक्षालाई पाठशालाबाट बाहिर निकालेर जीवनशालासम्म लैजानका लागि यस्ता प्रयोगात्मक एवम् परियोजना कार्यहरूले कोसेढुङ्गाको रूपमा काम गर्न सक्थे तर चासो कसैको छैन ।
परियोजना कार्यका लागि जति सकिन्छ, जो कोही सरकारले पनि लगानी गरेको भए विद्यालयलाई किन परियोजना कार्य नगरेको भनेर पुच्छर अमेठ्न पनि सकिन्थ्यो । नरहे बाँस, नबजे बाँसुरी । बजेट नै विनियोजन नभएपछि टन्टै साफ । अरुको त के कुरा, अहिलेको अति क्रियाशील सरकारको दृष्टिमा समेत यो विषयले स्थान पाउला जस्तो लाग्दैन । सरकारले पेट्रोलियम पदार्थको असहज आपूर्तिको कारण देखाएर विद्यालय, बैङ्क लगायत सरकारी कार्यालयहरूमा दुई दिन बिदा गर्ने र खुलेको दिन १ घण्टा समय बढाएर सेवाको व्यवस्थापन गर्ने निर्णय गरी कार्यान्वयन गरेको छ । विद्यालयहरूलाई भने अफिसहरूलाई झैँ बिहान ९ देखि बेलुका ५ सम्म सञ्चालन गर्न सम्भव भएन र पहिलेकै समय कायम गरियो तर बिदा भने अफिस र बैङकहरूमाजस्तै २ दिन नै गरियो । यसरी विद्यालयहरू समय नतन्काएर दुई दिन बिदा गरिँदा सरकारले लागू गरेको पाठ्यक्रम सरकारले नै तहसनहस बनाएको छ । यसलाई व्यवस्थापन गर्ने सान्दर्भिक, उपयुक्त र प्रभावकारी उपाय के हुन्थ्यो भने दुई दिन बिदामध्ये एक दिन वास्तविक बिदा र अर्को एक दिन परियोजना कार्य गर्नका लागि बिदा (फिल्ड भ्रमण) गर्न सकेको भए अति जाति हुन्थ्यो । शिक्षकको निम्ति उल्लिखित एक दिन बिदा परियोजना कार्य मूल्याङ्कन भनेर व्यवस्थापन गर्न सकिन्छ । यसका लागि बरु परियोजना कार्यका लागि भनेर बजेट विनियोजन गर्न सके झनै राम्रो हुन्थ्यो । यसरी परियोजना कार्यलाई प्रभावकारी बनाउन सकियो भने हाम्रा पाठशालामा खुम्चिएका विद्यालयहरू जीवनशालाको रूपमा अघि बढ्ने देखिन्छ । हाम्रा अहिलेका पाठशालाहरूलाई प्रयोगात्मक क्रियाकलापहरू सञ्चालन गर्ने र जीवन जिउने कला सिक्ने विद्यालयहरूको रूपमा विकास गर्न सकियो भने त्यस्ता विद्यालयहरू जीवनशालामा रुपान्तरण हुन सक्छन् । जहाँ विद्यार्थीलाई कठिनाइ प¥यो वा समस्या बल्झियो भने समस्याको गाँठो फुकाउने काम हुन्छ । जीवनलाई सजिलो, सहज र आनन्दित बनाउने उपायहरूको उत्खनन, उत्पादन र उपयोग गरिन्छ । जसरी झिमरुकको विद्यालयले आशा नानुको जीवनमा उज्यालो प्रदान ग¥यो ।
यसबाट एकातिर विद्यार्थीहरूले आफ्नो बाल्यकालको ऊर्जालाई उपयोग गर्ने अवसर पाउँछन् भने अर्कोतिर तिनै उर्जाको प्रयोग गर्दै जीवनमा काम लाग्ने अनगिन्ती जीवनोपयोगी सीपहरू सिकेर विद्यालयबाटै जीवनलाई उज्यालो बनाउने अवसर पाउँदै जान्छन् । काम समूहमा मिलेर गरिन्छ । यसरी समूहमा मिलेर काम गर्दा एकअर्कालाई सहयोग गर्ने स्वभाव र आचरणको पनि विकास हुन्छ । व्यावहारिक कठिनाइहरूको सामना गर्ने क्रममा समस्याको महसुस गर्ने र समाधानका विकल्पहरूको पहिचान र परीक्षण गर्ने क्षमताको समेत विकास हुन्छ । यसले व्यक्तिमा परिपक्वता र आत्मविश्वासको विकास हुन्छ । अन्यथा शिक्षा भनेको जहाज उडाउने बारेको सैद्धान्तिक ज्ञान सिक्ने तर प्रयोग गर्ने अवसर मिलेन भने त्यो पाइलटको अवस्था कस्तो होला ! कम्प्युटरको बारेमा किताबमा भएको कुरा अध्ययन गर्ने तर कम्प्युटर छुन पनि नपाउने स्थिति भयो भने त्यो मानिस कम्प्युटरमा कत्तिको दक्ष होला ! हाम्रो शिक्षा अहिले यस्तै यस्तै भइरहेको छ । किनभने पाठशालाहरूमा जीवनमा चाहिने कुराको प्रयोग हुँदैन, घोँक्ने मात्र हुन्छ । शिक्षालाई जीवनमा प्रयोग गर्नका लागि त हाम्रा विद्यालयहरू जीवनशालामा परिणत हुनु पर्दछ ।









प्रतिक्रिया दिनुहोस्