माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै देशभरका हजारौँ विद्यार्थी र अभिभावक नयाँ शैक्षिक यात्राको तयारीमा जुट्छन् । एसइई एउटा परीक्षा मात्र नभएर यो विद्यार्थी जीवनको एउटा महत्त्वपूर्ण मोड पनि हो । यो मोडपछि विद्यार्थीले आफ्नो रुचि, क्षमता, भविष्यको लक्ष्य र अवसरलाई ध्यानमा राख्दै अगाडिको अध्ययनको दिशा तय गर्नुपर्ने हुन्छ । तर यतिबेला धेरै विद्यार्थीहरू ‘अब के पढ्ने ?’ र ‘कहाँ पढ्ने ?’ भन्ने प्रश्नमा अलमलिएको देखिन्छन् । यस्तो द्विविधा हुनु स्वाभाविक भए पनि सही जानकारी र उचित मार्गदर्शनको अभावले कतिपय विद्यार्थीलाई गलत निर्णयतर्फ पनि लैजान सक्छ । हाम्रो समाजमा अझै पनि अध्ययनका विषय छनोट गर्दा विद्यार्थीको इच्छा र क्षमताभन्दा समाजको सोच, परिवारको दबाब वा अरूको प्रभाव बढी देखिन्छ । धेरै अभिभावकले आफ्ना छोराछोरीलाई विज्ञान (साइन्स) पढ्न प्रेरित गर्छन्, किनभने विज्ञान पढेपछि मात्र राम्रो भविष्य बन्ने धारणा समाजमा गहिरो रूपमा बसेको छ । तर वास्तविकता फरक छ । विज्ञान मात्र सफलताको एकमात्र माध्यम होइन । व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, कृषि, प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका क्षेत्रहरू पनि उत्तिकै महत्त्वपूर्ण र सम्भावनायुक्त छन् । विद्यार्थीले अध्ययनको विषय छनोट गर्दा सबैभन्दा पहिले आफ्नै रुचि र क्षमता बुझ्न आवश्यक छ।
यदि कुनै विद्यार्थीलाई विज्ञान र गणितमा रुचि छैन भने केवल अरूको प्रभावमा विज्ञान रोज्नु बुद्धिमानी हुँदैन । त्यसरी रोजिएको विषयले पछि अध्ययनमा दबाब, तनाव र असफलताको अवस्था सिर्जना गर्न सक्छ । त्यसैले ‘अरूले के पढे ?’ भन्दा पनि ‘म के गर्न सक्छु ?’ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । यस्तै, कुन विद्यालय वा कलेजमा पढ्ने भन्ने विषय पनि अर्को चुनौती बनेको छ । आजकल कलेजहरूबीच आकर्षक विज्ञापन, उच्च नतिजाको दाबी, छात्रवृत्ति र विभिन्न सुविधाको प्रचार व्यापक रूपमा हुने गरेको छ । कतिपय विद्यार्थी र अभिभावक यस्ता प्रचारबाट प्रभावित भएर निर्णय गर्छन् । तर केवल विज्ञापनका आधारमा शैक्षिक संस्था छनोट गर्नु उचित हुँदैन । कलेजको शैक्षिक वातावरण, शिक्षकको दक्षता, पूर्वाधार, अतिरिक्त गतिविधि, व्यवस्थापन र विगतको शैक्षिक उपलब्धिको अध्ययन गरेर मात्र निर्णय लिनुपर्छ । अर्कोतर्फ, ग्रामीण क्षेत्रका विद्यार्थीहरू अझ बढी समस्यामा देखिन्छन् । आवश्यक सूचना र परामर्शको अभावमा उनीहरू अन्य व्यक्तिको सल्लाहमा निर्भर हुन बाध्य हुन्छन् । कतिपयले आर्थिक अवस्था कमजोर भएका कारण चाहेको विषय पढ्न पनि सक्दैनन् ।
यस्ता समस्यालाई सम्बोधन गर्न विद्यालय तथा स्थानीय तहले करिअर परामर्श कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । विद्यार्थीलाई भविष्यका सम्भावित अवसर, विभिन्न विषयको उपयोगिता र रोजगारीको अवस्थाबारे जानकारी दिन सकिएमा उनीहरूलाई निर्णय लिन सहज हुनेछ । आजको युगमा शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र होइन, जीवन र करिअर निर्माण गर्ने आधार हो । त्यसैले एसइईपछि विद्यार्थीले तत्कालको आकर्षण वा सामाजिक दबाबलाई आधार नबनाई दीर्घकालीन सोचसहित निर्णय लिनुपर्छ । अभिभावकले पनि आफ्ना अधुरा सपना सन्तानमाथि थोपर्नुभन्दा उनीहरूको क्षमता र रुचिलाई सम्मान गर्नुपर्छ । एसइईपछि आउने द्विविधा हटाउन विद्यार्थी, अभिभावक, विद्यालय र राज्य सबैको साझा भूमिका आवश्यक छ । सही मार्गदर्शन, पर्याप्त सूचना र विद्यार्थीमैत्री वातावरण उपलब्ध गराउन सके प्रत्येक विद्यार्थीले आफ्नो भविष्यको बाटो स्पष्ट रूपमा तय गर्न सक्नेछन् । आखिर सही विषय र सही स्थानको छनोटले मात्र सफल भविष्य निर्माणको बलियो आधार तयार पार्न सक्छ । साथै, डिजिटल युगमा विद्यार्थीहरूले इन्टरनेट, करिअर परामर्श कार्यक्रम, अनुभवी तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सुझावलाई पनि उपयोग गर्नुपर्छ । सही निर्णयले भविष्य उज्यालो बनाउँछ भने हतारमा गरिएको निर्णयले पछुतोको अवस्था पनि सिर्जना गर्न सक्छ ।









प्रतिक्रिया दिनुहोस्