
काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । काठमाडाैंकाे टोखा नगरपालिकाले आइतबार आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव संकलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको तर्क गरे । ‘अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,’ उनले भने ।
मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे ।
टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो । मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए । साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तर्राष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ।
यस्तै, बागमती प्रदेशकी सांसद हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताइन् ।सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने तर्क गरिन् । पूर्वमन्त्री डा वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने बताए । उ
नले स्थानीयको इच्छा आकांक्षाअनुसार स्थानीय सरकारले काम गर्नुपर्ने उल्लेख गरे । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने बताए । रासस









प्रतिक्रिया दिनुहोस्