इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन



काठमाडौं ।

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो ।प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेपछि भाडा दर बुधबारबाटै लागु हुनेगरि समायोजन गरिएको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको छ ।

नयाँ कायम गरिएको फ्यूल सरचार्ज अनुसार काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको छ । काठमाडौं–भरतपुर ६ हजार ८७५ मा झरेको छ भने काठमाडौं–विराटनगर ५ हजार ५ सय कायम भएको छ ।

त्यस्तै, नेपालगन्ज–भद्रपुर रुटमा फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ । यसअघि १५ हजार ७२५ रहेको थियो । साथै काठमाडौं–धनगढी रुटमा १० हजार १२० रुपैयाँ, काठमाडौं–सुर्खेत रुटमा ७ हजार ९१५ रुपैयाँ र काठमाडौं पोखरामा ३ हजार ६३५ रुपैयाँमा झरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार