चितवनमा रास्वपाको पहिलो महाधिवेशन



काठमाडौँ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ । भरतपुरस्थित गेस्टहाउस चौरमा विशेष समारोहका बीच सुरु भएको उक्त महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका थिए । महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई महाधिवेशनमा आमन्त्रण गरेको थियो । महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता रहेको थिएन् । रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चुन्नका लागि ४ हजार २११ महाधिवेशन प्रतिनिधि चितवनमा भेला भएका छन् । रास्वपाले नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ । संशोधित विधानअनुसार, १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन् ।

महाधिवेशन निर्वाचन समिति गठन

महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि २२ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिएको हो । पार्टीद्वारा सार्वजनिक विवरणअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत रहने गरी १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा. राम गुरुङ रहेका छन् । आयोगका सदस्यहरूमा कुमारआनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चलसिंह भण्डारी, बिपि दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली रहेका छन् । यसैगरी, महाधिवेशनलाई प्रत्यक्ष रूपमा सञ्चालन गर्न गठित निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा चयन भएका छन् ।

समितिको कार्यसम्पादनमा सहयोग पु¥याउन चार जना निर्वाचन कर्मचारीहरू समेत तोकिएको छ, जसमा शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्रकुमार श्रेष्ठ र मुकेश झा रहेका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक बनाउन र निर्वाचन प्रक्रियालाई पूर्ण लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गर्न यो समितिले भूमिका खेल्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले के–के भने ? 

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरणसँगै सरकारबारे भएका आलोचनाको खण्डन गर्ने प्रयत्न गरेका छन् । उनले थोरै कुरा पार्टीको महाधिवेशन, त्यसले चुन्ने नेतृत्व र सिंगो समितिबारे पनि बोलेका थिए । प्रधानमन्त्री बालेनले सम्बोधनको सुरूवात अन्य दलले आफू नेतृत्वको सरकारलाई लिएर गरेको चिन्ताबारे जवाफ दिएर गरेका थिए ।

एमाले नेता प्रदीप ज्ञवालीले उनीभन्दा अगाडि सम्बोधन गर्ने क्रममा सरकारको गाडीले एक्सिलेटर थिच्ने मात्रै नभई कहिलेकाहीँ ब्रेक लगाउनुपर्ने बताएका थिए । प्रधानमन्त्री बालेनको जवाफ त्यतै इंगित थियो । सरकार लोकल सडकमा हिँडेको गाडी नरहेको बताए । ‘त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँडेको गाडी भयो भने लिनुपर्छ । कहिले घुम्तीमा गाडी आउँछ कहिले दायाँ बायाँबाट आउँछ । हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन ।

एक्सप्रेस–वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लगाउन जरूरी हुँदैन । हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ,’ उनले भने । अघिल्ला वक्ताहरूले जनमत पनि हावाजस्तै कहिले पूर्व र कहिले पश्चिमबाट चल्न सक्ने चेतावनी पनि सरकार र रास्वपालाई दिएका थिए । प्रधानमन्त्री बालेनले रास्वपाले सानो हावा ल्याएर जनमत परिवर्तन गरेको नभई बाढी ल्याएर खोला नै फर्काएको जवाफ दिए ।

‘जनताको भोट भनेको हावाजस्तो हुन्छ । कहिले यताबाट बग्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ । हामीले बाढी ल्याएर खोला फर्काएका हौँ । खोला एकपटक आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटोमा बगिरहन्छ । हावाजस्तो पूर्व–पश्चिम बग्दैन । चिन्ता लिनुपर्दैन,’ उनले भने । प्रधानमन्त्री बालेन आफ्नो अभिव्यक्तिमा प्रष्टोक्ति दिएर दोस्रो विषयमा प्रवेश गरेमा थिए । जेठ १७ गते संसद्को रोस्ट्रमबाट उनको ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले अन्तर्राष्ट्रिय रूपमै चर्चा पाएको थियो । देशभित्र चर्को आलोचित पनि भए ।

भारतसँगको सिमाना विवाद समाधान गर्न ब्रिटिस मध्यस्थताको विषय उठान गरे । त्यसमा प्रधानमन्त्री बालेनले चितवनबाट प्रष्टोक्ति दिए । ‘हामी हाम्रो छिमेकीसँग आफैँ कुरा गरेर मिलाउँछौँ । हामीसँग प्रमाण छ । हामी ल्याउँछौँ । त्यो कुरा ल्याउँछौँ । यसमा आशंका मान्नुपर्दैन । मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन । कसैले मान्नुपर्दैन,’ उनले भने । भारतसँग सीमा विवादको समाधानका लागि सरकारले बेलायतको मध्यस्थता नखोजेको पनि उनले बताए ।

‘ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ । ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ,’ उनले भने । प्रधानमन्त्री बालेनले विधि र प्रक्रियाबारे उठेका प्रश्नको जवाफ दिँदै तेस्रो विषय प्रारम्भ गरेका थिए । केही दिनअघि मात्रै प्रधानमन्त्री बालेनको सचिवालयमा रहेका व्यक्तिहरूले अख्तियारको सिंगो टोलीलाई थुनेर जबरजस्ती राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालविरूद्ध पक्राउ पुर्जी जारी गर्न दबाब दिएको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री बालेनले यसमा जवाफ दिँदा अख्तियारका टोलीलाई ५ घन्टा राखिएको स्वीकार गरे । आवश्यक परे पाँचै वर्ष राखेर सोध्ने छलफल गर्ने पनि स्पष्ट रूपमा भनेका थिए । ‘हाम्रो पार्टीले विगतमा फट्याइँ भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौँ,’ उनले भने, ‘त्यो निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्न पर्छ, सरसल्लाह लिन पर्छ भने ५ घण्टा मात्रै होइन, हामी ५ वर्ष गर्छौँ । ५ वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्न पर्दैन।’

उनले बाहिरबाट हेर्दा सरकार अनियन्त्रित देखिए पनि विधिको नियन्त्रणमै रहेर काम गरिएको बताए । ‘हाउभाउ हेर्दा, सोसल मिडिया, मिडिया हेर्दा अलिकति अनियन्त्रित देखिएला । त्यो देखिएको मात्रै हो । सबै चिज नियन्त्रित नै छ । कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन,’ उनले भने । त्यसपछि प्रधानमन्त्री बालेनले रास्वपा र पहिलो महाधिवेशनको विषय उठान गरेका थिए । पार्टी र महाधिवेशनबारे दुइवटा कुरा गरेका थिए ।

पार्टीभित्रको सम्भावित गुटबारे बोल्दै प्रधानमन्त्री बालेनले मतदान हुँदा गुट नबनाउन प्रतिनिधिहरूलाई सचेत गराए । ‘राम्रो नेता बन्न, राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था, माया जित्नुपर्छ । कुनै एउटा समूहको मायाले हुँदैन । त्यसैले समूह बनाउने पछाडि नलाग्नुहोला । त्यस्तो बीउ अहिले नरोप्नु, कि भोलि बीचबाट फाँड्नुपरोस्,’ उनले भने । पुराना दलबाट पनि यो सिक्नुपर्ने उनले बताए । चुनाव भयो र त्यसमा पराजित हुँदा पनि हतास नहुन प्रधानमन्त्री बालेनले आग्रह गरे ।

‘चिन्ता लिनुपर्दैन । यो गठनबन्धको सरकार होइन । एकल पार्टीको सरकार हो । एकल पार्टीको सरकार हुँदा हेरक मन्त्री, प्रधानमन्त्री, हरेक सांसद, हरेक पदाधिकारी, हरेक केन्द्रीय सदस्य र हरेक समर्थक प्रधानमन्त्री हो । म पदाधिकारी भएको भए यस्तो गर्थेँ भन्नुहुन्छ भने त्यो योजना ल्याउनुस् हामी गर्छौँ,’ उनले भने । पार्टीको भविष्य र आगामी निर्वाचनबारे बोल्दै उनले रास्वपा सधैँ एउटै मुद्दा बोकेर नहिँड्ने बताएका थिए ।

निर्वाचनअघि उठाएका विषय यही कार्यकालमा सम्पन्न गर्ने र अर्को निर्वाचनमा अर्कै मुद्दा लिएर जनताकहाँ जाने उनको भनाइ थियो । ‘यही कार्याकालमा सहकारी समस्या समाधान गर्छौँ । यही कार्यकालमा सुकुम्वासी समस्या समाधान गर्छौँ । अर्को चुनावमा यही एजेन्डा बोकेर जाँदैनौँ । नयाँ बोकेर जाने हो,’ उनले भने ।

निर्वाचन कार्यतालिका संशोधन 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार आइतबार बिहान ७ बजे महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ । पछिल्लो अपडेटअनुसार ४ हजार बढी महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिएको केन्द्रीय निर्वाचन उपप्रमुख राम गुरूङले जानकारी दिए । उक्त नामावलीमा दाबी विरोध आज सोमबार बिहानसम्म लिइने छ ।

कोशीको ३१३, गण्डकी ४७७, बागमती ७४४, सुदूरपश्चिम ५५०, कर्णाली ३४३, लुम्बिनी ६३६, प्रवासी १६३ छन् । रास्वपाको वेबसाइटमा राखिएको यो सूचीमा मधेश प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिको नाम भने छैन । आज सोमबार १० बजे निर्वाचन कार्यालयले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
सोमबार १ बजेदेखि पहिलो चरणको निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य) उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फाराम वितरण सुरू गरिने छ ।

दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन पत्र दर्ता सुरू गरिने छ । दर्ता ४ बजेसम्म गरिने छ । सोमबार राति ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । पार्टीको वेबसाइट र निर्वाचन आयोगको सम्पर्क सचिवालयमा नामावली प्रकाशन गरिने छ । उम्मेदवारहरूविरूद्ध दाबी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि १ घण्टा दिइएको छ । ७ बजेदेखि ९ बजेसम्म ती दाबी परेका उम्मेदवारहरूबारे जाँचबुझ गरिने छ ।

सोमबार राति ९ बजेर १५ मिनेटसम्म उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन पाउने अन्तिम समय तोकिएको छ । राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । मंगलबार बिहान ७ देखि ८ः३० सम्म मौन अवधि तोकिएको छ । त्यसपछि ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ । त्यसपछि दोस्रो चरणको (पार्टी पदाधिकारीका लागि) निर्वाचन प्रक्रिया सुरू हुने छ । तर दोस्रो चरणको कार्यतालिका पछि तोकिने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार