काठमाडौँ।
नेपालका प्रमुख कम्युनिस्ट पार्टीका नेताहरू लामो समयपछि एकै ठाउँमा देखिएका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी नामक कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट पार्टीका प्रमुख नेताहरू एउटै ठाउँमा देखिएका हुन् । मदन भण्डारी फाउण्डेसनको आयोजनामा आइतबार राजधानीमा भएको कार्यक्रममा पाँचजना शीर्ष कम्युनिस्ट नेताहरू एउटै कार्यक्रममा देखा परेका हुन् ।
जुन कार्यक्रमको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधव नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरू सँगै देखिएका हुन् । दुईपटक राष्ट्रपति भइसकेकी नेकपा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी र तीनजना पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उभिएको यो खासगरी २०८२ भदौ २३ र २४ को जेनजी विद्रोहपछि पहिलोपटक हो ।
त्यतिबेला ओली प्रधानमन्त्री थिए । जेनजी विद्रोहपछि ओलीको सत्ता मात्रै ढलेन त्यसपछि भएको आम निर्वाचनमा नेपालका कम्युनिस्ट दलहरू रक्षात्मक अवस्थामा पुगे । त्यसबीचमा प्रचण्डले झण्डै दुई दर्जन विभिन्न घटक मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाए । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी झण्डै दुईतिहाइ बहुमतसहित सत्तामा पुग्यो । कम्युनिस्ट दलहरू भने प्रतिपक्ष दलमा सीमित भए ।
उनीहरूको जनमतसमेत अभूतपूर्व रूपमा खुम्चियो । नेकपा एमाले अहिले संसद्को तेस्रो र नेकपा चौथो दलको रूपमा प्रतिपक्ष दलको भूमिकामा छन् । पछिल्लो समय भने कम्युनिस्ट दलहरूबीच एकता हुने चर्चाकाबीच शीर्ष कम्युनिस्ट नेताहरू एउटै थलोमा देखिएका हुन् । कम्युनिस्ट नेताहरूलाई एउटै थलोमा ल्याउने मियो बनेको छ, मदन भण्डारी फाउण्डेसन ।
सो अवसरमा बोल्दै पूर्वराष्ट्रपति विद्या भण्डारीले कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको संघारमा उभिएको धारणा व्यक्त गरिन् । उनका अनुसार कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु उचित हुँदैन । ‘रुपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवापुस्तामा नयाँ आकांक्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिस्ट आन्दोलनले आफ्ना मूल आदर्श बनाउनुपर्छ । समयअनुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यक छ ।’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितविपरीत गएर आफूहरूले गल्ती कमजोरी नगरेको दाबी गरे । अहिले कम्युनिस्ट पार्टीहरूले केही पनि गरेनन् भनेर जनतामा अनावश्यक भ्रम छरिएको समेत बताए । नेकपा एमालेको नीति तथा कार्यक्रम र सही र समसामयिक भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यगत एकताका माध्यमबाट अगाडि बढ्नुपर्ने धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक क्षेत्रमा एमालेले सही नीति निर्धारण गरेको दाबी गरे । उनले जनताको बहुदलीय जनवाद (जबज)लाई समयानुकूल बनाइँदै लैजाने धारणा राखे । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वद्र्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरुरी भएको बताए ।
उनले परिवर्तित सन्दर्भमा कम्युनिस्ट शक्तिबीच सहकार्य आवश्यक भएको बताएका हुन् । संवैधानिक अधिकार रक्षाका निम्ति सबै राजनीतिक वामशक्तिबीच साझेदारी अपरिहार्य भएको उनको भनाइ थियो । प्रचण्डले भने, ‘चाँडोभन्दा चाँडो समान विचार भएका दल एकताबद्ध हुन जरुरी छ ।,’ नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै युवापुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।
उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कम्युनिस्ट शक्ति अगाडि बढ्नुपर्नेमा जोड दिए । कम्युनिस्ट पार्टीहरूले आत्ममूल्यांकन गर्न ढिलो भएको धारणा व्यक्त गर्दै नेता नेपालले एकता नै बल हो भन्ने वास्तविकता बिर्सन नहुने बताए । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट पार्टीहरूबीच एकताको विकल्प नभएको बताए । उनले एकताको प्रक्रिया प्रारम्भ गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने दृढ संकल्प गर्न आह्वान गरेका छन् । गौतमले मदन भण्डारी र जीवराज आश्रितको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी न्याय दिलाउने प्रतिबद्धतासहित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने संकल्प गर्नुपर्ने बताएका हुन् ।









प्रतिक्रिया दिनुहोस्