मानिस जुनसुकै धर्म, जाति, सम्प्रदाय र मुलुकको भए पनि मानिसले मानिसलाई संरक्षण र कल्याण गर्ने शिक्षा भनेको मानव मूल्य शिक्षा हो, मानिसले मानिसलाई पीडामा देख्यो भने उसलाई पीडामुक्त गर्नका लागि अर्को मानिसभित्र करुणा र सह्दयताको जागरण गर्ने शिक्षा भनेको मानव मूल्य शिक्षा हो । त्यही भएर हिजो आज नैतिक शिक्षालाई मानव मूल्य शिक्षा भनेर बुझ्ने गरिन्छ र तदनुसार सिक्ने सिकाउने पनि गरिन्छ ।
जीतबहादुर शाह
अहिले मानिसहरूले नैतिक शिक्षाको माग गरिरहेका देखिन्छन् । सरकारले नैतिक शिक्षा हटाएको कारणले आफ्ना बालबालिकाहरू अनैतिक भएको कुरा उठाएर अभिभावकहरूले सरकारतिर धारेहात लगाइरहेको अवस्था पनि छ । यस्तै परिवेशलाई परिलक्षित गर्दै केही दिनपहिले फेसबुकमा मैले एउटा स्टाटस लेखेको थिएँ – ‘नैतिक शिक्षा किताबमा लेखेर घोकाउने विषय त होइन हजुर । योत त घरका अभिभावक र विद्यालयका शिक्षकहरूले असल व्यवहारको प्रदर्शन गरेर सिक्ने सिकाउने विषय हो ।’ मेरो भनाइमा अलि चित्त नबझुेर होला एकजना फेसबुक मित्रले कमेन्टमा लेख्नु भएको थियो – ‘विज्ञान पनि ल्याबमा पढाउने विषय होला है सर । किताब बनाएर सरकारले फोकटिया खर्च बढाएको छ । ‘मलाई उहाँको कुरा पनि चित्त बुझ्यो । यी दुवै विषयहरू किताब नभए पनि पढ्न मिल्ने र सिक्न सकिने विषयहरू हुन् । यसको मतलब किताब चाहिँदै नचाहिने पनि होइन । प्रमुख कुरा यसप्रकारका विषयहरूका किताबभन्दा पनि यसको व्यावहारिक पक्ष महत्वपूर्ण हुने गर्दछ ।
नैतिक शिक्षा केवल नियमहरूको संग्रह वा सही र गलतको सूची मात्र होइन । यो कुनै अर्तिउपदेशले भरिएको बधुशिक्षा वा मनुस्मृति पनि होइन । यो त मानिसको चरित्र निर्माण गर्ने र भित्री विवेकलाई जागृत गराउने एउटा प्रक्रिया हो । मेरा बिचारमा नैतिक शिक्षा त्यस्तो शिक्षा हो जसले व्यक्तिलाई इमानदार, दयालु र जिम्मेवार बन्न सिकाउँछ । बाहिरी दबाबबिना नै जब व्यक्तिले आफ्नो स्वविवेकले उचित निर्णय लिन्छ, त्यही नै वास्तविक नैतिक शिक्षाको उपलब्धि हो । मानवीय सेवा, परोपकार, सम्मान र सहिष्णुता जस्ता मानवीयमूल्यहरूलाई व्यवहारमा उतार्नु यसको मुख्य उद्देश्य हो । यसले ‘म’भन्दा माथि उठेर ‘हामी’ र समाजको हितमा सोच्न प्रेरित गर्दछ । हाम्रो पूर्वीय दर्शनमा भनिए झैँ, यसले बौद्धिक विकाससँगै आत्मिक र मानसिक विकासलाई पनि जोड्छ । शिक्षाले केवल जीविकोपार्जन गर्न मात्र होइन, मरणोपरान्तसम्म पुग्ने गरी जीवन जिउने कला पनि सिकाउने गर्दछ । समाजमा रहेका विभिन्न बिचार र संस्कृतिप्रति आदरभाव राख्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्न नैतिक शिक्षाले पुलको काम गर्छ ।
अझै स्पष्ट रूपमा भन्नुपर्दा जसरी एउटा रुखको बलियो आधार त्यसको जरामा हुन्छ, त्यसरी नै एउटा सभ्य समाजको आधार त्यहाँका नागरिकहरूको नैतिक धरातलमा हुन्छ । विद्यालयको पाठ्यक्रमदेखि घरको वातावरणसम्म, जहाँ सकारात्मक व्यवहार र सत्यको अभ्यास गरिन्छ, त्यहाँ नै वास्तविक नैतिक शिक्षा जीवित हुन्छ । नैतिक शिक्षालाई कतिपयले धार्मिक शिक्षा पनि भन्ने गर्दछन् भने कतिपयले यसलाई मानव मूल्य शिक्षा हो भनेर पनि बुझ्ने गर्दछन् । मलाई पनि नैतिक शिक्षा धर्मसँग जोडिएर अघि बढ्यो भने यसको मार्ग साँघुरो हुन्छ कि जस्तो लाग्छ । किन कि एउटा धर्म र अर्को धर्मका आचरण र क्रियाकलापहरूमा भिन्नता मात्र नभइ धर्मका भक्तहरूको बीचमा मतभिन्नताहरू पनि हुने गर्दछन् । यिनै भिन्नता र मतभिन्नताहरूकै कारणले धार्मिक युद्धहरू निम्तिएका अवस्थाहरू पनि छन् । जुन धार्मिक युद्धहरूमा हजारौँ र लाखौँ मानिसहरूले ज्यान गुमाउनु प¥यो र साना बालबालिकाहरूले अनाथ भएर कहालीलाग्दो जीवन बिताउनु प¥यो । बरु नैतिक शिक्षालाई मानव मूल्य शिक्षासँग आबद्ध गरेर बुझ्ने हो भने यसको अर्थ व्यापक लाग्ने गर्दछ । यो भनेको मानिसले मानिसलाई मानिसकै निम्ति न्याय गर्ने शिक्षा हो भनेर बुझ्ने गरिएको छ । मानिस जुनसुकै धर्म, जाति, सम्प्रदाय र मुलुकको भए पनि मानिसले मानिसलाई संरक्षण र कल्याण गर्ने शिक्षा भनेको मानव मूल्य शिक्षा हो, मानिसले मानिसलाई पीडामा देख्यो भने उसलाई पीडामुक्त गर्नका लागि अर्को मानिसभित्र करुणा र सह्दयताको जागरण गर्ने शिक्षा भनेको मानव मूल्य शिक्षा हो । त्यही भएर हिजो आज नैतिक शिक्षालाई मानव मूल्य शिक्षा भनेर बुझ्ने गरिन्छ र तदनुसार सिक्ने सिकाउने पनि गरिन्छ । धर्मले नैतिकता सिकाउनका लागि एउटा बलियो आधार र अनुशासन प्रदान त गर्छ नै । धेरै मानिसहरूले धर्मको माध्यमबाटै इमानदारी र करुणा जस्ता गुणहरू पनि सिक्छन् तथापि यसले उचाइमा गएर एउटा धर्म मान्ने र अर्को धर्म मान्नेहरूको बीचमा सदाशयता प्रकट गर्न सकिएन र एउटा धर्मले अर्को धर्मको बीउ मास्नतिर लाग्ने हो भने नैतिक शिक्षाको अर्थमा सङ्कुचन देखा पर्दछ ।
अतः धर्मसँग जोडिएको नैतिकताले कहिलेकाहीँ बाटो बिराएर मानवताको विरुद्धमा पनि उभिने हो कि भन्ने भय देखापर्दछ । वास्तवमै नैतिकता वा नैतिक शिक्षा भनेको त माथि उल्लेख गरिएझैँ जीवन जिउने कला हो, जुन धार्मिक हुन पनि सक्छ र नहुन पनि सक्छ । एउटा व्यक्ति कुनै पनि धर्ममा आस्था नराखिकन पनि अत्यन्तै नैतिकवान् हुन सक्छ । हामीले अहिले खोजेको नैतिक शिक्षा भनेको त्यही हो जसले मानिसलाई मानवीय व्यवहार र संवेदनाले सिञ्चित गरेको हुन्छ । त्यसैले, नैतिक शिक्षालाई कुनै एउटा धर्मको घेराभित्र मात्र सीमित राख्नु हुँदैन । यो त मान्छेलाई ‘मान्छे’ बनाउने व्यापक प्रक्रिया हो । मानव मूल्य शिक्षाको प्रकृति र उद्देश्यलाई हेर्दा, यो नैतिक शिक्षासँग बढी नजिक देखिन्छ । यद्यपि, धार्मिक शिक्षा, नैतिक शिक्षा र मानव मूल्य शिक्षा यी तीनवटै अवधारणा एकअर्कासँग जेलिएका छन्, तर यिनीहरूको कार्यक्षेत्र र दृष्टिकोणमा केही आधारभूत भिन्नताहरू पनि छन् । मानव मूल्य शिक्षाले सत्य, सद्व्यवहार, शान्ति, प्रेम र अहिंसा जस्ता आधारभूत मूल्यहरूमा जोड दिन्छ । यी मूल्यहरू कुनै विशेष भूगोल वा धर्ममा मात्र सीमित हुँदैनन् । नैतिक शिक्षाले पनि यही विश्वव्यापी मान्यतालाई आत्मसात् गर्छ, त्यसैले यी दुईबीच गहिरो तादात्म्य देखिन्छ । धार्मिक शिक्षाले प्रायः अलौकिक शक्ति, परम्परा र निश्चित नियमहरूको पालनामा जोड दिन्छ । यसको केन्द्रबिन्दु ‘आस्था’ हो । नैतिक शिक्षा र मानव मूल्य शिक्षा, यी दुवैको केन्द्रबिन्दु ‘मानव’ र उसको ‘व्यवहार’ हो । यसले मानिसलाई आफ्नो भित्री गुणहरू पहिचान गर्न र त्यसलाई दैनिक जीवनमा उतार्न सिकाउँछ । कथंकदाचित धार्मिक अन्धताभित्र नैतिकता फस्यो भने र कुनै धर्म विशेषको आदेशमा नैतिकता चल्न थाल्यो भने त्यस्तो अवस्थामा त्यो शिक्षालाई नैतिक शिक्षाभन्दा पनि धार्मिक शिक्षा भन्नु बढी सान्दर्भिक हुने गर्दछ ।
अध्येताहरूले भन्ने गरेका छन् कि धार्मिक शिक्षाको मुख्य केन्द्र र स्रोत भनेको ईश्वर, सम्प्रदाय, धर्मग्रन्थ र परम्परा हुने गर्दछ । नैतिक शिक्षाको मुख्य केन्द्र र स्रोत भनेको चरित्र, आचरण, विवेक र सामाजिक मर्यादा हुने गर्दछ । त्यसैगरी मानव मूल्य शिक्षाको मुख्य केन्द्र मानवीय गुण र विश्वबन्धुत्वमा अडेको हुन्छ भने यसको मुख्य स्रोत भनेको मानवता र मानवीय हित र परोपकार हो । अतः नैतिक शिक्षा र मानव मूल्य शिक्षामा एकअर्कासँग अन्योन्याश्रित छन् । धार्मिक शिक्षाले मूल्यहरू सिकाउनका लागि एउटा माध्यम वा प्रेरणाको काम त गर्न सक्छ, तर मानव मूल्यको वास्तविक प्रयोग र विस्तार नैतिक धरातलमा नै सम्भव छ । किनकि धार्मिक शिक्षा कहिलेकाही पण्डित्याइँ मात्र छाँट्ने पाखण्डीपनमा परिणत भएका दृश्यहरूले मानिसहरूलाई लामो श्वास फेर्न बाध्य बनाएका अवस्थाहरू पनि छन् । परोपकार पुण्यायको पाठ सिकाउने पण्डितहरू नै अहिले आएर दानदक्षिणाको पनि दररेट तोकेर हिँड्न थालेपछि कतै धार्मिक शिक्षा नैतिकतामा आधारित हुन सकेन् कि भन्ने गुनासाहरू मानववस्तीहरूमा सुनिन थालेको अवस्था छ । उल्लिखित द्विविधा, आशङ्का र अस्पष्टताहरूका कारणले अहिले धेरै मुलुकहरूले नैतिक शिक्षालाई मानव मूल्य शिक्षाको नाम दिएर अघि बढाएको अवस्था छ । यो यसकारण स्पष्ट छ कि यसले मानवीय कल्याण र मानव हितभन्दा कुनै पनि मानेमा पछि हटेर काम गर्दैन । यसले के नैतिक र के अनैतिक भन्ने कुरामा मानवीय हित र कल्याणलाई उचाइमा राखेर निर्णयको अधिकार स्वविवेक र अन्तरात्मालाई प्रदान गरिरहेको हुन्छ । किनभने बाहिरी रूपमा मानिसले जे कुरा गरे पनि उसको भित्री आवाजले प्रायः मानिसलाई सही र गलतको सङ्केत दिइरहेको हुन्छ ।
यसरी भन्नुपर्दा, कुनै काम गरिसकेपछि जब मनमा शान्ति, सन्तोष र गौरवको अनुभूति हुन्छ, त्यो नैतिक कार्य हो । यसको विपरीत, जुन काम गर्दा मनमा डर, संकोच वा पश्चात्ताप हुन्छ, वा जुन कुरा अरूले थाहा पाउलान् कि भनेर लुकाउनुपर्ने हुन्छ, त्यो प्रायः अनैतिक हुन्छ । नैतिकतामा नियत निस्वार्थ र सामूहिक हित हुनु पर्दछ, परिणाम विश्वास र सद्भावको विकास हुनुपर्दछ, सम्बन्ध सुमधुर बनाउने हुनु पर्दछ भने प्रमाणको रूपमा पारदर्शिता र साहस भने जरुर हुनुपर्दछ । पूर्वीय दर्शनमा भनिएको पनि छ— ‘परोपकाराय पुण्याय पापाय परपीडनम्’। पूर्वीय दर्शनमा अरूलाई मद्दत गर्ने, कसैको अधिकारको रक्षा गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य नैतिक हो भने आफ्नो स्वार्थका लागि अरूलाई धोका दिनु, चोरी गर्नु, हिंसा गर्नु वा कसैको आत्मसम्मानमा चोट पु¥याउनु अनैतिक हो । यसको परीक्षणको कसीको रूपमा ‘मैले गर्न लागेको काम अरू सबैले गरे भने यो संसार कस्तो होला ? भनेर सोच्नु नै नैतिकता जाँच्ने एउटा उत्तम तरिका हो । अझै दृष्टान्त दिएर भन्नुपर्दा यदि सबैले ‘झुट’ बोल्ने हो भने समाजको विश्वास नै समाप्त हुन्छ, त्यसैले झुट बोल्नु अनैतिक हो र यदि सबै इमान्दार हुने हो भने समाज सुन्दर हुन्छ, त्यसैले इमानदार हुनु भनेको नैतिक हो । त्यसरी नै कर्तव्य र उत्तरदायित्वको सवालमा समाज, परिवार र पेसाप्रतिको आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउनु नैतिक हो भने जिम्मेवारीबाट पन्छिनु, भ्रष्टाचार गर्नु वा आफ्नो पदको दुरुपयोग गर्नु अनैतिक हो । मानव मूल्य शिक्षा वा नैतिक शिक्षा अध्यापन गर्ने शिक्षक सधैभरि रोलमोडेल हुनु आवश्यक छ । यो शिक्षकको निम्ति विकास गरिएको विश्वव्यापी मान्यता नै हो । त्यसैले नैतिक शिक्षा वा मानव मूल्य शिक्षाको सहजीकरणका लागि मुख्य केन्द्रविन्दु भनेको शिक्षक वा सहजकर्ताकाको व्यवहार हो । कक्षामा अध्यापन गर्ने शिक्षकहरू मात्र नभइ बालकका निम्ति हरेक वयस्कहरू शिक्षकहरू हुन् ।
पाठ्यक्रम र पाठ्यपुस्तकमा सघन रूपमा नैतिक शिक्षा वा मानव मूल्य शिक्षाका विषयवस्तुहरू राख्ने तर विद्यार्थीहरूलाई सिकाउने शिक्षक, अभिभावक र समाजका वयस्कहरू सिक्नलायक स्वभाव र बानी भएका नहुने हो भने त्यसको कुनै अर्थ हुँदैन । त्यसैले मलाई त लाग्छ, पाठ्यक्रम वा पाठ्यपुस्तकहरूमा नैतिक शिक्षा वा मानव मूल्य शिक्षा कतै उल्लेख नगरिए पनि शिक्षक, अभिभावक र समाजका वयस्क मानिसहरूसँग बालकले सिक्नलायक कुराहरू बग्रेल्ती रहेछन् भने बालकले जीवनका हरेक पलहरूमा नजाँनिदो किसिमले मानवीय र नैतिकवान हुने कुराहरू सिकेरहेको हुन्छ । हामीमा अहिले पनि ठुलाले जे गरे पनि हुन्छ भन्ने संस्कार जिउँदै छ । जब कि ठुलाले जे गरे बालबालिकाले त्यही सिक्छन् । बालबालिकाका लागि ठुला र अग्रज व्यक्ति भनेका कानुन र मागनिर्देशनका दस्ताबेजहरू हुन् । ठुलाले यो कुरा अझै पनि राम्रो सँग बुझ्न बाँकी छ । या त उनीहरू यो कुरा बुझेर पनि मुलुक र बालबालिकाको भविष्यप्रति त्यत्ति गम्भीर छैनन् । आफ्नै सरकारको नीति र कार्यक्रम सम्माननीय सभामुखमार्फत प्रस्तुत हुँदै गरेको भव्य कार्यक्रमको बीचमै उठेर सम्माननीय प्रधानमन्त्री बाहिरिन्छन् ।
सरकारको मन्त्री नै प्रमुख अतिथि भएको कार्यक्रम प्रमुख अतिथि समयमा नआएको कारणले दुई घण्टा ढिला सुरु हुन्छ र समयमा आउनेहरूलाई सजाय दिएको जस्तो महसुस हुन्छ । आज त बाबासँग केही कुरा गर्छु भनेर पर्खिरहेकी छोरीको बाबा नै रक्सी खाएर रल्लिँदै अबेर गरी घर फर्किन्छन् । सामाजिक विषय अध्यापन गर्ने शिक्षक नखाँदासम्म बोल्न नसक्ने गरी दुव्र्यसनी भएका छन् र खाएपछि मात्रै कक्षामा आउने गरेका छन् । यस्तो अवस्थामा छापाबाट सुन्दर किसिमले प्रकाशन भएर आएको नैतिक शिक्षाको पुस्तकको मात्रै केही जोर चल्छ जस्तो लाग्दैन मलाई । बाँकी जो हजुरहरूको मर्जी !









प्रतिक्रिया दिनुहोस्