शेरबहादुर ऐर । कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । १५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न नसक्दा विवाद बढेपछि लम्की क्षेत्रमा तनाव भएको हो । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पठाएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टरसहितका कर्मचारीलाई हाजिर गर्न नदिएको भन्दै नगरप्रमुख सुशीला शाहीविरुद्ध स्थानीय आन्दोलित भएका छन्।
अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग राख्दै स्थानीय आन्दोलित भएका हुन् । उनीहरूले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । सो क्रममा नेपाल प्रहरी र नगर प्रहरीसँग स्थानीयको भनाभन भएको छ । स्थानीयले वडा नम्बर ४ को कार्यालयमा समेत तालाबन्दी गरेका छन् । आन्दोलनरत पक्षका पारश देवकोटाले प्रादेशिक अस्पताल सञ्चालनका लागि आएका डाक्टर र कर्मचारीलाई नगरप्रमुखले अवरोध गरेको विरोधमा नगरपालिकामा तालाबन्दी गरिएको बताए ।
एनका अनुसार शीघ्र प्रादेशिक अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग गर्दै नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहितका तीन जना कर्मचारी सोमबार पठाएको थियो । तर नगरप्रमुख शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई अवरोध गरेकी थिइन् ।
कर्मचारीलाई हाजिर हुन नदिएपछि भएको विवाद थप चर्किएको छ । तत्कालीन समयमा नगरपालिकाकै सहमतिमा लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया प्रदेश सरकारले थालेको थियो ।
प्रदेशले पठाएका कर्मचारीलाई प्रवेश निषेध
प्रादेशिक अस्पताल बनाउने सबै प्रक्रिया पूरा गरेर प्रदेशले बजेट समेत विनियोजन गरिसकेको छ, तर नगरपालिकाले अस्पताल हस्तान्तरण गर्न नमान्दा विवाद भइरहेको छ । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र नगरप्रमुख सुशीला शाहीबीचको आन्तरिक द्वन्द्वका कारण समस्या सिर्जना भएको दाबी गरिएको छ ।
अस्पतालको विषयलाई लिएर नगरपालिकामा तालाबन्दी गरिएपछि नगरप्रमुख शाही समर्थक युवाहरू समेत भेला हुन थालेपछि सुरक्षा चुनौती बढेको विश्लेषण गरिएको छ । दुई समूहबीच हुनसक्ने सम्भावित मुडभेडलाई ध्यानमा राखेर लम्की क्षेत्रमा थप सुरक्षा तैनाथी बढाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्