घुम्ती गोठबाट पर्यटकीय स्थलमा परिणत भएको दोभान



म्याग्दी ।

वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबिच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरबिर आवाज । घरपालुवा पशुहरूको घुम्ती गोठ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा रहेको दोभान मनमोहक र रमणीय छ । करिब २० वर्षअघि बगरका बासिन्दाले बर्खायाममा घुम्ती पशु गोठ राख्ने थलोमा सीमित दोभान पछिल्लो समय धौलागिरि चक्रीय पदमार्गको गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभान पछिल्लो समय घुम्ती पशु गोठ राख्ने खर्कबाट पर्यटकीय स्थलमा रूपान्तरण भएको स्थानीयवासी लक्ष्मण घर्तीले बताए ।“धौलागिरि चौथोको फेदबाट बगेर आउने कुनावाङ र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदी मिसिने भएकाले दोभान नामकरण भएको यो ठाउँ केही वर्ष अघिसम्म खर्कमा सीमित थियो,” उनले भने, “धौलागिरि हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्ग भएर म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले एक रात दोभानमा बिताउन थालेपछि पर्यटकीयस्थलका रूपमा विकास भएको छ।”

दोभानदेखि एक दिनको पैदलयात्रापछि धौलागिरि हिमालको इटाली आधार शिविर र धौलागिरि चौथो हिमालको फेदमा रहेको कुनावाङ तालमा पुगिन्छ । गोलो आकारको कुनावाङ तालमा पातपतिङ्गर खसेमा चराले टिपेर सफा गर्दै आएको स्थानीय सोम पुनले बताए । “कुनावाङ क्षेत्रमा जापानी अनुसन्धानकर्ताले हिममानवको वासस्थानको पनि अध्ययन गरिरहेका छन्,” उनले भने “बगर हुँदै दोभान जोड्ने सडकको मार्ग खुलेपछि अझै चहलपहल बढेको छ ।”

दोभान नजिकैको पहाडमा मृग, झारल, घोरललगायत वन्यजन्तुको पनि अवलोकन गर्न पाइने पुनले बताउनुभयो । बस्ती देखि टाढा रहेको दोभान प्रकृतिमा रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य भएको आन्तरिक पर्यटक चिरन्जिवी पौडेलले बताए । बसन्तयाममा लालीगुराँस फुलेर रंगिने वनपाखामा बर्खामा बुकी फुल्दा झनै मनमोहक हुन्छ ।दोभानमा पर्यटकको सुविधाका लागि दुई वटा होटल छन् ।

त्यहाँ ५० जना बास बस्न सक्छन् । रातो च्याउ, निगालोको टुसाका परिकारको स्वाद लिन पाइन्छ । म्याग्दीखोला जलविद्युत आयोजनाले बाँध निर्माणस्थल दोभानसम्म पहुँच मार्ग निर्माण गरेपछि त्यहाँ जिप र मोटरसाइकल पुग्न थालेका छन् ।

धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माण स्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवत जावत र ढुवानीमा सहज भएको छ यसअघि बगरदेखि दोभान पुग्न पुरै दिन भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्ने थियो । बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । पछिल्लो समय विदेशी पर्यटकले मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि चहलपहल घटेको दोभानमा यातायात सुविधा पुगेपछि आन्तरिक पर्यटक घुम्नका लागि आउन थालेका छन् । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार