जीवनका खाली पानाहरूमा प्रेम र मुस्कान भर्ने कसरी ?



अधिकांश मानिसहरू जीवनमा आउने आँधीहुरीहरूमा पनि ठिङ्ग उभिन सक्ने सतिसाल हुन सक्दा रहेनछन् । अधिकांश मानिसहरू सानोतिनो हुरीबतास र बाढीपहिरोले बगाउन नसक्ने कालो पत्थरको पहाड पनि हुन सक्दा रहेनछन् । अधिकांश मानिसहरू मसिनो र सुस्तरी चलिरहेको सिरसिरे हावाले पनि उडाउन सक्ने मन लिएर बाँच्दा रहेछन् । यस्तो मन सानातिना कुराहरूमै अल्झिएर लत्रँदै–लत्रँदै बाँच्दो रहेछ ।

जीतबहादुर शाह

‘जीवन आफैँमा एउटा नोटबुक हो । यसको सुरुको र अन्तिम पानामा जीवन दिने जीवनदाताले पहिले नै लेखिसकेको छ । पहिलो पानामा जन्मको बारेमा लेखेको छ भने अन्तिम पानामा मृत्युको बारेमा लेखेको छ । बीचका पानाहरू भने खाली र रित्ता छन् । ‘आफ्नो जीवनप्रति अलिकति पनि आशा र विश्वास छ भने जीवनका ती खाली पानाहरूलाई प्रेम र मुस्कानले भर्ने गर ।’ सामाजिक सञ्जालमा भेटिएको यो भनाइले घोत्लिन बाध्य हुने गरी भित्रभित्रै छोयो । यही भनाइलाई मस्तिष्कको केन्द्रविन्दुमा राखेर घण्टौँसम्म घोत्लिरहन मन लाग्यो र त्यसै गरेँ । घोत्लिने क्रममा थाहा भएन, म आफँैभित्र हराएछु । मैले ल्यापटप खोलेर के काम गर्न खोज्दै थिएँ भन्ने कुरा समेत पछिसम्म सम्झन खोज्दा पनि सम्झनामा आउनै सकेन । जीवन जिउने यति सजिलो तरिका पनि हामीले किन आफ्नो जीवनमा चरितार्थ गर्न नसकेको होला भन्दै अरुलाई भन्दा पनि आफैँलाई सूक्ष्म किसिमले नियाल्न मन लाग्यो । अन्तमा मेसेजबक्समा मेसेजको रूपमा यो सुन्दर भावना पठाउने साथीलाई मेसेजबाटै धन्यवाद दिएँ । अधिकांश मानिसहरू जीवनमा आउने आँधीहुरीहरूमा पनि ठिङ्ग उभिन सक्ने सतिसाल हुन सक्दा रहेनछन् । अधिकांश मानिसहरू सानोतिनो हुरीबतास र बाढीपहिरोले बगाउन नसक्ने कालो पत्थरको पहाड पनि हुन सक्दा रहेनछन् । अधिकांश मानिसहरू मसिनो र सुस्तरी चलिरहेको सिरसिरे हावाले पनि उडाउन सक्ने मन लिएर बाँच्दा रहेछन् । यस्तो मन सानातिना कुराहरूमै अल्झिएर लत्रँदै–लत्रँदै बाँच्दो रहेछ । यस्तो मनलाई परिवेशले निर्देशित गर्दो रहेछ । यस्तो मनलाई रेडियो, टिभी र छापामा आउने खबरहरूले बिहानैदेखि यता र उता हल्लाउँदै बेचयन र अनिर्णयको बन्दी बनाउँदो रहेछ । यस्तो मनलाई साथीसँगी, घरपरिवारका सदस्यहरूसँगको भलाकुसारी र व्यवहारले समेत असर पार्दो रहेछ । जब सानातिना कुराहरूले मन र मथिङ्गल हल्लिन सुरु गर्दछ अनि मानिस बिनाउद्देश्यको जीवन बाँचिरहेको महसुस गर्न थाल्छ । वा भनौँ सामुन्नेको परिवेशले उसको जीवनको उद्देश्य निर्धारणमा कोशेढुङ्गाको कामम गर्दछ ।

अन्ततः एउटा उल्लासमय जीवन सगौरव बाँच्न सक्ने मानिस पनि मर्न नसकेर बाँचेको अभिनय गर्दै एउटा उदास जिन्दगीमा अनुवाद हुन पुग्दो रहेछ । हामी अधिकांश मानिसहरू यस्तै जीवन बाँच्दा रहेछौँ, मर्न नसकेर बाँचेको जिन्दगी । आफ्नो भरविश्वासमा भन्दा पनि अरुकै भरविश्वासमा बाँचेकोे जिन्दगी । आफूभित्रको ताकतबाट होइन कि बाहिरतिरको वैशाखी टेकेर उभिएको जिन्दगी । हामी बाँच्दा रहेछौँ, आफ्नो पखेटामा विश्वास गरेको कारण रूखको कमजोर हाँगामा पनि निर्भिकतापूर्वक कावा खाँदै बसिरहेको चराको जस्तो चङ्गा जिन्दगी भन्दा पनि एउटा निराशा र अनिश्चितताले भरिएको भयभित जिन्दगी । चिनिया सन्त लाओत्सुले भनेका छन् – ‘उदास छौँ भने विगतमा बाँचिरहेका छौँ भनेर जान । ब्यग्र छाँै भने भविष्यमा बाँचिरहेका छौँ भनेर जान । शान्त र आनन्दित छौँ भने वर्तमानमा बाँचिरहेका छाँै भनेर जान ।’ लाओत्सुले भनेजस्तै हामी वर्तमानमा बाँच्न सकिरहेका छैनौँ । त्यसकारण शान्त र आनन्दित पनि हुन सकिरहेका छैनौँ । जीवनको यही पश्चगामी प्रवृत्तिका कारण हाम्रा जीवनका खाली पानाहरू प्रेम र मुस्कानले पनि भरिभराउ हुन सकिरहेका छैनन् । बरु जीवनका खाली पानाहरू द्वेष, इष्र्या, पीडा, आक्रोश, छटपटी र तनावबाट ठेलमठेल गर्दै भरिएको महसुस हुँदैछ । मदर टेरेसाको भनाइ छ– ‘सधैँ एकअर्कासँग मुस्कानका साथ भेट र भलाकुसारी गर । किनभने मुस्कान प्रेमको सुरुवात हो ।’ मदर टेरेसाले यस्तो भने पनि कसैसँगको भेट र भलाकुसारीमा मुस्कुराउनका लागि एकअर्कासँग आत्मियता, हार्दिकता र सकारात्मक सोच हुनु भने आवश्यक छ । हरेक व्यक्तिले सोच्नु आवश्यक छ कि कुनै व्यक्तिलाई भेट्नेबित्तिकै त्यतिबेला मुस्कुराउन सकिन्छ जति बेला ऊप्रतिको हाम्रो सोच र भावना सकारात्मक छ, घनीभूत आत्मियता छ, सुमधुर हार्दिकता छ र भेटौँ भेटौँ लाग्ने जिजीविषा छ । यी सबै कुराहरू मान्छेभित्रबाट उत्पादन हुँदा रहेछन् । खराब भावनाहरू पनि मान्छेभित्रबाटै उत्पादन हुँदा रहेछन् र असल भावनाहरू पनि मान्छेभित्रैबाट उत्पादन हुँदा रहेछन् । मान्छे भावना, विचार र सोचहरू उत्पादन गर्ने उद्योग रहेछ ।

आफूभित्र खराब भावना, खराब विचार र खराब सोचहरू उत्पादन गर्ने उद्योग स्थापना गरेको मान्छेले मेरो साथीले फेसबुकमा पठाएको सन्देशमाजस्तै जीवनका खाली पानाहरू मुस्कान र प्रेमले भरेर आफूलाई प्रफुल्लित बनाउन नसक्दो रहेछ । कतै एउटा लोककथा सुनेको थिएँ, जङ्गलको एउटा बाँदर र त्यही जङ्गलको बाटो भएर बग्ने खोलामा रहेको एउटा माछाको बीचमा निकै राम्रो सम्बन्ध र आत्मीयता रहेछ । एकअर्काले एकअर्काको सुखदुःखमा साथ दिँदै आएका रहेछन् । एकपटक खोलामा ठूलो बाढी आएछ । बाँदरलाई लागेछ कि यति ठूलो बाढीमा मेरो प्यारो साथी माछा मर्छ । त्यसैले उसले आफ्नो प्यारो साथी माछालाई दुई हातले चपक्क समातेर काखमा सुम्सुम्याउँदै रूखको हाँगामा गएर बसेछ । त्यसपछि भनिरहन पर्दैन कि माछाको हालत के भयो होला ! हामी पनि कसैलाई प्रेम त गर्छौँ तर हाम्रा व्यवहार प्रेमपूर्ण नहुँदा रहेछन् । माया गरेकै कारणले एकजोडी अभिभावकले एकाबिहानै बिउँझिएर आफ्ना सन्तानहरूसँग राम्रो हुनका लागि अर्तिउपदेश, आदेश र आक्रोस मिश्रित वार्तालाप सुरु गर्छन् । सन्तानहरूलाई भने अभिभावकको एकबिहानैको वार्तालाप कर्कश जस्तो लाग्छ । यति कर्कश जस्तो लाग्छ कि मानौँ, उनीहरूलाई पनि उनका अभिभावकले माया गर्ने नाममा बाँदरले माछालाई रूखको हाँगामा लिएर सुम्सुम्याउँदै रेखदेख गरिरहेका छन् । धेरै मानिसहरूले माया र प्रेम गर्ने बाहनामा जसलाई प्रेम गरेको भन्छन् त्यसैलाई दुःख र सास्ती दिइरहेका हुन्छन् । उसलाई आफ्नो अनुकूल परिचालन हुनका लागि अपेक्षा गरिरहेका हुन्छन् । आफ्ना कामना र भावनाहरू उसबाटै परिपूर्ति गर्ने गराउने चक्करमा लागि रहेका हुन्छन् । धेरै मानिसहरूले गर्ने प्रेम अरुलाई केही दिने भन्दा पनि अरुबाट केही पाउने कुराबाट निर्देशित हुने गर्दछ । ज्याक्सन ब्राउनले त भनेका छन्– ‘प्रेम त त्यतिबेला सम्भव हुन्छ जति बेला व्यक्तिले आफ्नो भन्दा अरुको खुसीलाई बढी महत्वपूर्ण ठान्दछ ।’ तथापि मानिसहरू कसैलाई गरिने प्रेमबाट अरुभन्दा पनि आफू बढी खुसी हुन चाहन्छन् । घरपरिवारकै कुरा गर्ने हो भने लोग्नेले पत्नीलाई गर्ने प्रेमबाट पत्नी कति खुसी छ भन्ने कुराभन्दा पनि लोग्ने आफू कति खुसी भएँ भन्ने कुराले महत्व राख्दछ । उता स्वास्नीले लोग्नेलाई गर्ने प्रेमबाट पनि स्वास्नीले त्यही अपेक्षा गर्दछ, जुनकुरा लोग्नेले अपेक्षा गर्दछ । यसले गर्दा प्रेम व्यापार र विनिमयको साधन जस्तो भएको छ । त्यही भएरै मानिसका जीवनका खाली पानाहरू प्रेमले भरिभराउ हुन सकिरहेका देखिँदैनन् । कन्फुसियसले भनेका छन् – ‘तिमीले आफूले अगाध प्रेम गर्ने पेसा वा व्यवसाय रोज । यसरी तिमीले आफूले प्रेम गर्ने पेसा वा व्यवसाय रोज्यौ भने जीवनमा एक दिन पनि काम गर्नुपर्ने छैन ।’ कन्फुसियसको भनाइको अर्थ यो हो कि मानिसले आफूले रोजेको काम गर्न पायो भने उसलाई काम गरेको अनुभूति हुँदैन बरु कुनै खेल खेलेको वा मनोरञ्जनमा सहभागी भएको अनुभूति भइरहेको हुन्छ ।

कति बज्यो भनेर घडी हेरिरहनु पनि पर्दैन, काम गर्दागर्दै समय बितेको थाहै हुँदैन । मन नपरेको पुस्तक पढ्दा मानिसले पटकपटक कति पाना पढेँ र कति पाना बाँकी छ भनेर गन्ती गर्दछ । तथापि मन परेको पुस्तक पढ्दा भने उसले कति पढे भनेर हिसाबकिताब गर्दैन बरु त्यति ठूलो पुस्तक पनि पढेर सिध्याएको पत्तै पाउँदैन । त्यसैले कुनै काममा संलग्न हुनुभन्दा पहिले म यो काममा रमाउन सक्छु कि सक्दैन भन्ने बारेमा आफैसँग मनोवाद गरेर उक्त कामको बारेमा निर्णय गर्नुपर्दछ । त्यसैगरी कुनै व्यक्तिलाई आफ्नो ठान्नु वा बनाउनु भन्दा पहिले त्यो व्यक्तिको बारेमा पनि त्यसरी नै सोच्नु त्यत्तिकै आवश्यक छ । धेरै मानिसहरू जीन्दगीभित्र नपसेर जिन्दगी बाँचिरहेका हुन्छन् अर्थात् जिन्दगी बाहिरबाटै तैरिएर जिन्दगी बाँचिरहेका हुन्छन् । धेरै मानिसहरू बाहिरबाटै नियालेर भित्रको बारेमा पनि निर्णय गर्दछन् । चर्मचक्षुले देखेका कुरा सत्य ठान्दै जो जो मानिसहरू ज्ञानचक्षुलाई बेवास्ता गरेर बाहिरको सुन्दरताको पछि लाग्छन् ती सबै मानिसहरूको अवस्था चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरेको भन्दा भिन्न हुन सकेको देखिँदैन । त्यस्ता मानिसहरू सुखको सागरमा पौडिने चाहनामा दुःखको भवसागरभित्र डुबेको पत्तै हुँदैन । त्यसैले जे कुरा पनि अन्तरात्मादेखि नियालेर अन्तरात्मासम्मको विश्लेषण गर्नु आवश्यक छ । जसरी एउटा तलाउको गहिराइ शान्त र स्वच्छ भए पनि बाहिरी सतहको पानी फोहर र अशान्त हुन्छ त्यसरी नै बाहिरबाटै विश्लेषण गरेर बर्बराउनेहरू पनि दुःखी र अशान्त हुन्छन् ।  एउटा सन्तयोगी सब कुरा छोडेर जति सुखी देखिन्छ, एउटा गृहस्थीमा अल्झिएको मानिस सबै कुरा पाउँदा पनि अन्ततः सुख शान्ति नपाएर पासोमा बल्झिएको चराको जस्तो जीवन बाँचिरहेको हुन्छ । त्यसैले पनि भन्ने गरिन्छ, पासोमा बल्झिएको चरा र गृहस्थीमा अल्झिएको मानिसको जीवन उस्तैउस्तै हुने गर्दछ यदि मानिस गृहस्थीमा रमाउन सकेको छैन भने । आफ्नो जीवनमा खुसीको बहार ल्याउने हो भने अलिकति काम अरुको खुसीको निम्तिगर्नु पर्ने रहेछ । मार्टिन लुथर किङले भनेझैँ मानिसलाई अनन्त खुसीका लागि मानिस स्वयम्लाई अन्ततः ‘तिमीले अरुको निम्ति के ग¥यौ’ भन्ने प्रश्न सोधेर जिन्दगीले परीक्षा लिँदो रहेछ । त्यत्तिबेला तिमीले अरुका निम्ति गरेका कामहरूको फेहरिस्त दिने क्रममा नै नचाहेर पनि अनुहारमा मुस्कानको रङ्गीन क्रिम देखिँदो रहेछ । यत्ति भएपछि परीक्षाको नतिजा कुर्नै परेन ।

परीक्षा दिने क्रममा नै खुसी छचल्किन थाल्छ जीवनका अङ्गप्रत्यङ्गमा । तथापि जीवनमा यसो नगरी मात्र आफ्नो निम्ति सम्पत्ति थुपारेर खुसी बटुल्ने अभियानमा लागि भने खुसी भेट्न नसकिँदो रहेछ । किनभने हामीले जति सम्पत्ति थुपारे पनि त्यो सम्पत्ति हाम्रा निम्ति जहिले पनि थोरै हुँदो रहेछ । जति भए पनि त्यही थोरै देखिने सम्पत्ति नै मानिसको निम्ति दुःख र विनाशको कारण भएर उभिँदो रहेछ । खुसी र सफलताका निम्ति कमाएको सम्पत्ति विधि बिग्र्यो भने दुःख र विनाशमा परिणत हुने कुरा असल मानिसहरूले पहिले नै पत्ता लगाउँछन् तर धेरै मानिसहरूले मर्नुभन्दा केही पल पहिले मात्र थाहा पाउँछन् । त्यसकारण उनीहरूको थाहा पाएको ज्ञान र फर्किएको बुद्धिअनुसार केही गर्नका लागि उनीहरूसँग समय नै हुँदैन । सारमा भन्न मन लागिरहेको छ कि बाँच्न त बाँचौँ तर यसको शैली बदलौँ । चर्मचक्षुलाई होइन कि दिब्यचक्षुलाई विश्वास गरेर तदनुरुप बाँच्ने गरौंँ । व्यवहार पनि यसरी नै बदलौँ । सतहमा होइन कि गहिराइमा पुगेर विश्लेषण गर्ने प्रयत्न गरौँ । उद्देश्य पनि यसरी नै बदलौँ । हामी जहाँ छौँ र जे गरिरहेका छौँ त्यसमै पनि हामी खुसी हुने अनगिन्ति विषयहरू छन्, पहिचान गरेर खुसी हुने प्रयत्न गरौँ । अरुबाट खुसी र सुख पाउने भन्दा पनि अरुलाई खुसी र सुख दिने गरी आफ्नो उद्देश्यलाई पुनरावलोकन गरौँ । प्रेमलाई आशक्तिमा नबदल्ने कुरामा सधैँ होसियार रहौँ । शान्ति बाहिर होइन कि आफैँभित्र खोजौँ । यो धर्तीमा सकारात्मक पक्ष नभएको कुनै व्यक्ति र वस्तु नै छैन, त्यसैले हरेकमा सकारात्मक कुराको खोजी गरौँ । कुरामा होइन कि कामका आधारमा परिचय दिने र लिने गरौँ । यसरी आफूलाई परिवर्तन र परिमार्जन गर्दै जाने हो भने सबै चिजहरूमा सुन्दरता भेटिनेछ, सबै चिजहरू देख्नेबित्तिकै अनायासै अनुहार मुस्कुराउनेछ र स्वभावैले हाम्रो जीवनका खाली र रित्ता पानाहरू प्रेम र मुस्कानले ले भरिभराउ हुँदै जानेछन् । बाँकी जो हजुरको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार