मुस्ताङ ।
हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनुकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन ।
बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताए । हिउँ परेसँगै आसपासका नाङ्गा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उनको भनाइ छ ।
गर्मीयाम सुरु भइसक्दा पनि मुक्तिनाथमा बेमौसमी हिमपातले दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असहज भएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गरे । मुक्तिनाथ क्षेत्रमा योसँगै यस वर्ष आठौँ पटक हिमपात भएको हो । यसलाई स्थानीय जानकारकर्ताले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन् । वसन्त ऋतुको समयमा पालुवा पलाएर मौसम पनि गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए ।









प्रतिक्रिया दिनुहोस्