म्याग्दी ।
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हावाहुरीले उडाएको छ। कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो।
हावाहुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको प्रधानाध्यापक न्याउली छन्त्यालले बताए । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठाको अभाव भएको उनले बताए।यसैगरी आज अन्नपूर्ण गाउँपालिकाको शिख, घार क्षेत्रमा परेको असिनाले हिउँदे र बर्खेबालीमा क्षति पुर्याएको छ ।
असिनापानीपछिको बाढीले विभिन्न ठाउँमा सडक, खानेपानी, सिँचाइका संरचनामा क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तानको जनजीवन हावाहुरी, बर्सात र असिनाले प्रभावित बनाएको छ। रासस









प्रतिक्रिया दिनुहोस्