पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो



मुस्ताङ ।

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ। अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको पाइएको हो।

जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१र८२ को साउनदेखि असार महिनासम्ममा २६ हजार ६४२ यात्रुले पोखरा–जोमसोम हवाई मार्गबाट सेवा लिएका थिए । गत वर्ष पोखराबाट जोमसोम १४ हजार १७२ र जोमसोमबाट पोखरा १२ हजार ४७० यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए।

गत वर्ष तारा एयर र समिट एयरलाइन्सको टुइनेटर साना जहाजले पोखरा–जोमसोम र जोमसोम–पोखरा गरी दुई हजार ४०६ उडान भरेको प्रमुख पोखरेलले बताउनुभयो । चालु आव २०८२÷८३ को साउनदेखि चैत महिनासम्ममा सात हजार ५८६ यात्रुले पोखरा–जोमसोम र जोमसोम–पोखरा हवाई सेवा प्रयोग गरेका उनले बताए ।

प्रमुख पोखरेलका अनुसार चालु वर्षको नौ महिनामा ६ हजार १०५ विदेशी र एक हजार ४८२ नेपाली यात्रुले हवाई सेवा प्रयोग गरेका छन् । चालु आवमा पोेखराबाट जोमसोम जाने हवाई यात्रुको सङ्ख्या तीन हजार ७९ र जोमसोमबाट पोखरा उड्ने यात्रुको सङ्ख्या चार हजार ५३९ रहेको प्रमुख पोखरेलले बताए।यसैगरी चालु आवको नौ महिनामा पोखरा–जोमसोम दुईतर्फी उडान सङ्ख्या ९७० रहेको छ ।

जोमसोम नागरिक उड्डयन कार्यालयको तथ्याङ्क अनुसार गत आवको तुलनामा चालु आवको नौ महिनामा ४०।३१ प्रतिशत मात्रै हवाई उडान भएको छ । गत आवको हवाई यात्रुको तुलनामा चालु आवको नौ महिनामा १९ हजार ५६ कम यात्रुले हवाई यात्रा गरेको तथ्याङ्क छ।

पोखरा–जोमसोम हवाई उडान तथा यात्रुसङ्ख्या बर्सेनि घट्दै गइरहेको जोमसोमस्थित तारा एयरलाइन्सका स्टेशन इञ्चार्ज सुजन लालचनले बताउनुभयो । विगत वर्षमा पोखरा–जोमसोम दैनिक २५ उडानसम्म हुने गरेकामा पछिल्लो समय १० वटा उडान पनि हुन नसकेको उनको भनाइ छ। रासस

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार