काठमाडौँ।
नेपाल बीमा प्राधिकरणले चालू आर्थिक वर्ष २०८२–०८३ को चैत मसान्तसम्मको निर्जीवन बीमा व्यवसायको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार यस अवधिमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनी र लघु बीमकहरूले कूल ३७ अर्ब ५६ करोड ८९ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरूको कूल बीमा शुल्क आर्जन गत आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा १३.८६ प्रतिशतले वृद्धि भएको छ । बीमा कम्पनीहरूले गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब १२ करोड ९९ लाख रूपैयाँ कूल बीमा शुल्क आर्जन गरेका थिए । यो अवधिमा कम्पनीहरूले कूल २५ लाख ८४ हजार ६ सय ४९ वटा बीमालेखहरू जारी गरेका छन् ।
व्यावसायिक रूपमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ४ अर्ब ८० करोड १२ लाख रूपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । त्यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख रूपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७४ करोड ३० लाख रूपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १२ करोड ९ लाख रूपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
कूल जारी बीमालेख सङ्ख्याका आधारमा भने युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ जसले ३ लाख ५३ हजार ७ सय ३८ वटा बीमालेख जारी गर्दै २ अर्ब ५६ करोड ४६ लाख रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसैगरी एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड ५ लाख रूपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १० करोड ३३ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख रूपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ८ करोड १९ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड ८१ लाख रूपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६६ करोड ८६ लाख रूपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् भने नेपाल इन्स्योरेन्सको संकलन ९८ करोड १२ लाख रूपैयाँ रहेको छ ।
त्यस्तै दी ओरिएन्टलले २ अर्ब ४२ करोड ६८ लाख र नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । लघु बीमा व्यवसाय गर्ने बीमकहरूले पनि चैत मसान्तसम्म कूल ९८ करोड ६९ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
यस क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी २७ करोड ८२ लाख रूपैयाँ संकलन गर्दा नेपाल माइक्रोले २४ करोड ८९ लाख, स्टार माइक्रोले २३ करोड र ट्रस्ट माइक्रोले २२ करोड ९६ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा कूल ३ लाख ७९ हजार ७ सय ६० वटा लघु बीमालेख जारी भएका छन् ।









प्रतिक्रिया दिनुहोस्