दैलेख ।
जिल्लाको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर.के. कन्स्ट्रक्सन सुर्खेत र उक्त कम्पनीका सञ्चालक सुवास कार्कीलाई भ्रष्टाचारमा सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
आपसी मिलेमोतोमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको दाबी अख्तियारको छ । आयोगले आचार्यसहित सबैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप २२ लाख ४४ हजार ५०० रूपैयाँ बिगो असुल गरी त्यति नै जरिबाना र जेल सजायको माग गरेको छ ।
उनीहरूविरुद्ध कर्णाली नदी र लोहरेखोला क्षेत्र, तल्लो डुंगेश्वरबाट गिट्टी, बालुवा, ढुंगा र ग्राभेल उत्खनन, संकलन तथा बिक्री वितरणको ठेक्का सम्झौता गर्दा बैंक ग्यारेन्टी नलिई सम्झौता गरेर राजस्व हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत आचार्य र आर.के. कन्स्ट्रक्सनका सञ्चालक सुवास कार्कीको मिलेमतोमा आर्थिक वर्ष २०७८–०७९ मा घोटाला भएको हो । आरोपपत्रका अनुसार उनीहरूले गिट्टी, बालुवा, ढुंगा र ग्राभेल उत्खनन्, संकलन तथा बिक्री वितरणको लागि गरिएको ठेक्कामा गोलमाल गरेका थिए ।
अभियोग गरिएको दाबीअनुसार सम्झौताबमोजिम कबोल गरेको रकम र सरकारलाई नियमानुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर १३ प्रतिशतसमेत ३४ लाख ४६ हजार ५०० रूपैयाँ हो । तर सो रकम दाखिला गर्नुपर्नेमा बैंक जमानत रकम समेत नलिई १२ लाख दुई हजार मात्र कार्यालयमा दाखिला गरेको अख्तियारको अनुसन्धानमा भेटिएको छ ।









प्रतिक्रिया दिनुहोस्