कर्णालीमा वार्षिक १७ लाख पर्यटक भित्र्याउने योजना



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले वार्षिक १७ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । सन् २०३० सम्म वार्षिक १५ लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने योजना अघि सारिएको मन्त्रालयका सचिव अजितकुमार कर्णले बताए ।

कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनको सम्भावनालाई उजागर गर्दै पर्यटक आगमन वृद्धि गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । सोमबार कर्णाली उत्सवको सातौँ संस्करणको ‘घुमिफिरी कर्नाली’ सत्रमा बोल्दै उनले यस्तो बताएका हु्न् । उक्त सत्रको सहजीकरण पत्रकार ललित बुढाले गरेका थिए । सचिव कर्णले भने, ‘पर्यटक भित्र्याउने लक्ष्य प्राप्तिका लागि पूर्वाधार विकास, पर्यटन गन्तव्यको प्रवद्र्धन र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइने छ ।’

पत्रकार बुढाको प्रश्नमा उत्तर दिँदै उनले सडक, हवाई पहुँच तथा आवासीय सुविधाको विस्तारमा जोड दिँदै पर्यटकमैत्री वातावरण निर्माण गरिने जानकारी दिए । साथै, कर्णालीका दुर्गम तथा कम परिचित क्षेत्रलाई पर्यटन नक्सामा ल्याउने गरी विशेष कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे । योजनाको सफल कार्यान्वयनबाट स्थानीय रोजगारी सिर्जना हुनुका साथै प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको अपेक्षा छ।

‘कर्णालीको पर्यटन विकासका लागि १० वर्षे दीर्घकालीन गुरुयोजना तयार पारेर अघि बढेको छ,’ उनले भने, ‘गन्तव्य कर्णाली’ मोबाइल एपमार्फत पर्यटकहरूलाई सूचना दिन एक वर्षअघि नै मोबाइल एप निर्माण गरिएको छ । यसलाई थप परिष्कृत र अपडेट गर्ने काम भइरहेको छ ।’ उनका अनुसार मोवाइल एपमा होटल, रुट, शुल्क र दूरीको विस्तृत जानकारी रहनेछन् । भने कर्णालीलाई ‘पवित्र र शुद्ध’ क्षेत्रका रूपमा ब्राण्डिङ गरिँदैछ । यहाँको अर्गानिक कृषि र प्राकृतिक शुद्धतालाई विश्व बजारमा चिनाउने लक्ष्य प्रदेश सरकारको छ ।

‘हाल पर्यटकको कर्णालीमा औसत बसाइँ चार दिन रहेकोमा त्यसलाई बढाएर १० देखि २१ दिनसम्म पु¥याउने योजनासहित प्रदेश सरकार अघि बढेको छ,’ उनले भने, ‘यसका लागि हवाई उडानलाई सुर्खेतबाट सिधै हिमाली जिल्लाहरूमा जोड्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको छ । पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक पूर्वाधार निर्माण गर्न भौतिक मन्त्रालयसँग समन्वय गरेर प्रक्रिया अघि बढाएका छौँ ।’
पर्यटक दोस्रो पटक फर्किँदैनन्

बहसमा बोल्ने अन्य वक्ताहरूले पनि प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आवश्यक योजना तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताएका थिए । कर्णाली पर्यटकीय सम्भावनाले भरिएको भए पनि घुम्न आउनेहरू आतिथ्यताकै कारण दोस्रो पटक फर्केर नआउने गरेको उनीहरूले जानकारी दिए ।

कर्णाली प्रदेशमा पर्यटकहरू दोहोरिएर नआउनुमा आतिथ्यताको कमी मुख्य कारण रहेको वक्ताहरूको निष्कर्ष छ । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले पर्यटकको स्वागत र आतिथ्यताको कमीले कर्णाली पुगेका ८० प्रतिशले दोस्रो पटक आउँदिन भन्ने गरेको दृष्टान्त सुनाए ।

‘रारा पुगेर फर्किएका ८० प्रतिशत पर्यटकहरूले ‘अब अर्को पटक आउँदिन’ भन्ने गरेको तितो यथार्थ हामीमाझ छ,’ उनले भने, ‘बाटोमा दुःख पाउनु, महँगो शुल्क तिर्नुपर्नुे तर गुणस्तरीय खाना र बसाइँ नपाउने समस्याकै कारण पर्यटकहरू दोस्रो पटक फर्केर आउँदैनन् ।’ काठमाडौँ–नेपालगन्जको हवाई भाडा र काठमाडौँ–सुर्खेतको भाडामा रहेको ठूलो भिन्नतालाई कर्णालीको पर्यटन विकासको बाधक भएको दाबी उनले गरे।

समान दूरी भए पनि सुर्खेतको भाडा दोब्बर हुनुले पर्यटकहरू यहाँ आउन हिचकिचाउँने गरेको उनले बताए । ‘पर्यटकहरूलाई स्थानीय कोदो, फापर र सिमी खुवाउनुको साटो सहरबाट लगिएका चाउचाउ र बिस्कुट खुवाउने प्रवृत्तिले स्थानीय अर्थतन्त्रलाई फाइदा पुगेको छैन,’ उनले थपे, ‘पर्यटकहरूले यहाँको फोहोर मात्र छोडेर जाने तर पैसा खर्च नगर्ने अवस्थाको अन्त्य हुनुपर्छ । तर स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि प्रयास थाले पनि स्रोत अभाव झेलिरहेको छ ।’

विसीले डाँडाकाँडामा प्राकृतिक दृश्य हेर्न टावर बनाउने होडबाजीको पनि कडा आलोचना गरे । टावरबाट देखिने दृश्य र डाँडाबाट देखिने दृश्यमा खासै भिन्नता नदेखिने उल्लेख गर्दै त्यो बजेट पर्यटकीय पूर्वाधारमा खर्चिनुपर्ने उनले धारणा राखे । यस्तै, पर्यटन उद्यमी देवराज जैशीले कर्णाली र भेरी नदी विश्वकै उत्कृष्ट राफ्टिङ गन्तव्यमध्येमा पर्ने भए पनि प्रचार प्रसार र पूर्वाधार अभावले लाभ लिन नसकिएको बताए ।

कर्णाली नदी विश्वका उत्कृष्ट पाँच नदीभित्र समेटिएको उल्लेख गर्दै यति हुँदाहुँदै पनि यस क्षेत्रमा केही गम्भीर समस्याहरू रहेको अवगत गराए ।
उनका अनुसार ‘रिभर गाइड’ केवल डुङ्गा चालक मात्र नभएर उनीहरू प्राथमिक उपचारक, कुक र दोभाषे पनि हुन् । हाल सुर्खेत र कर्णालीमा यस्ता दक्ष गाइडको अभाव छ र बाहिरबाट ल्याउँदा निकै महँगो पर्ने गरेको जेशीले बताए ।

नेपाल पर्यटन बोर्डले गर्ने अन्तर्राष्ट्रिय मेलाहरूमा कर्णालीका उद्यमीहरूको पहुँच पुग्न सकेको छैन । ‘युरोप वा अमेरिकाका मेलामा स्टल राख्न लाखौँ खर्च हुने भएकाले व्यक्तिगत लगानीमा बजारीकरण गर्न सम्भव छैन,’ उनले भने, ‘अब मोटा पुस्तक र ब्रोसरको जमाना गइसकेको छ । टिकटक, इन्स्टाग्राम र फेसबुक जस्ता सामाजिक सञ्जालमा कर्णालीलाई ‘डिस्कभर कर्णाली’ वा ‘एडभेन्चर कर्णाली’ जस्ता ब्राण्डका नाममा प्रचार गर्न आवश्यक छ ।’

यस्तै, सत्रका वक्ता आरोग्य अभियान्ता राधा पौडेलले कर्णालीलाई आरोग्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावनाबारे औँल्याइन् । उनका अनुसार आरोग्य पर्यटन भनेको केवल घुम्नु मात्र होइन । यो व्यक्तिको शारीरिक, मानसिक, आध्यात्मिक, भावनात्मक, सामाजिक र वातावरणीय स्वास्थ्यसँग जोडिएको विषय पनि हो ।

‘कर्णालीको स्वच्छ वातावरण, जडीबुटी र प्राकृतिक सुन्दरता यसका लागि सबैभन्दा उपयुक्त छ,’ उनले भने, ‘कर्णालीमा पाइने अमूल्य जडीबुटीहरूलाई प्रशोधन गरी आयुर्वेदिक उपचारसँग जोड्न सकिन्छ ।’ उनका अनुसार जुम्लाको तातोपानी जस्ता क्षेत्रहरूलाई केवल नुहाउने ठाउँका रूपमा मात्र नभई ‘हाइड्रोथेरापी’ केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यसले बाह्य पर्यटकलाई आकर्षित गर्न ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।

‘दैलेखको महाबु जस्ता शान्त र उचाइमा रहेका ठाउँहरूमा ध्यान केन्द्र स्थापना गरी पर्यटकहरूलाई कम्तीमा एक हप्ता बस्ने गरीका प्याकेज बनाउँन सकिए आरोग्य पर्यटनबाट लाभ लिन सकिन्छ,’ उनले थपिन्, ‘कर्णालीको रैथाने खानपान र जीवनशैली आफैमा आरोग्यको स्रोत हो । यसलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, जसले हजारौँ युवाहरूले रोजगारी पनि पाउँछन् ।’

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार