लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच सहकार्य



काठमाडौँ ।

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवाप्रदायक– टिएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको लाभ लिन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ । साथै, आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुनेछन् । यस सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायकका रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ । जसमार्फत योग्य उद्यमहरूले आफ्नो इआरपी प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा डिजिटल माध्यमबाट कर्जा आवेदन तथा प्रक्रिया पूरा गर्न सक्नेछन् ।

यसले कर्जा प्राप्तिको प्रक्रिया थप सरल, छरितो र पारदर्शी बनाउनुका साथै व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ । बैंकका अनुसार यो पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पु¥याउनुका साथै व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहित गर्नेछ ।
लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीचको यस सहकार्यमा डेटा आधारित मूल्यांकन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया प्रभावकारी बन्ने भएकाले यसले नेपालका साना तथा मझौला उद्यमहरूको दिगो विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

लक्ष्मी सनराइज बैंकको बैंकिङ विशेषज्ञता तथा आइएमएस सफ्टवेयरको प्राविधिक सेवा प्रदायकका रूपमा रहेको प्रविधिगत क्षमताको संयोजनले व्यवसायहरूलाई छिटो, सहज र पारदर्शी रूपमा कर्जा पहुँच उपलब्ध गराउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार