नरेन्द्रजंग पिटर
जोखिमपूर्ण पहाडको घुम्तीमा ड्राइभरले गल्ती दोहो¥याउने मौकै नपाएझैँ, यो क्रूर समयमा लेखकका शब्द पनि आशय र सन्देशमा बुलेटजस्तै सटीक हुन जरुरी छ । यो समय आतंकको सुनामी हो । हे कवि, तिमी बरु मौन बस, प्रेमका गीत लेख वा भजनमा खैँजडी बजाऊ तर तिमी विम्ब र प्रतीकमा समेत फुल्दै गरेका कोपिलाहरूको वर्णन नगर । शिशुका कुनै प्रश्नको उत्तर नदेऊ । उसको चस्माको लेन्सले बाक्लो पर्दा छिचोलेर तिमीलाई निर्वस्त्र देख्न सक्छ । जिज्ञासाका अङ्कुरहरू नउमार लेखक ! कुनै पनि लेखमा ‘किन’ र ‘कसरी’को जवाफ नखोज । किनकि, हुकुम आउँदैछ— मौन बस्ने ! सायद, लेखेरै त मैले यो दुर्भाग्य निम्त्याएको हुँ । प्रिय पाठक, के अझै पत्तो पाएका छैनौ— लुकेका वास्तविकतालाई नाङ्गेझार पार्दै शक्तिसँग पौँठेजोरी खेल्नेहरूको हविगत ? तिमी पाठक हौ, तिम्रो काम पढ्नु होः पढ्नु पनि एउटा लत त हो, क्या। तर तिमी आफ्नो हितअनुकूल मात्र पढ्छौ । भिडमा फेरिएको यो बौलाएको समय र मात्तिएको समाजमा दिमाग खलबल्याउने सामग्री भने गल्तीले पनि नपढ । यो समय बजारमा बिक्ने भनेको ‘बुद्धि’ होइन— चाकरशास्त्र हो, लौलिता जस्ता कोकशास्त्र हुन् । सोच्न बाध्य पार्ने किताब, पत्रिका या विचार पढ्नु भनेको ‘आ बैल मुझे मार’ भन्नुसरह हो । बरु समय बिताउन गाह्रो भए मोबाइलको स्क्रिनमा आउने अल्गोरिदमको खेलमा अल्झिए भइहाल्यो फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबमा झुण्डिनु नै परम आनन्द । काजी पाजी भएको तिमीले देखिसक्यौः वायुपंखी अश्वधावकले कसरी समयलाई चाबुक हान्दा रहेछन् ? तिमी आफैँ भुक्तभोगी हौ— समय र शक्ति कसरी फेरिँदा रहेछन ! फेरिएका मानिसका सोच, भूमिका, विश्वास, सपना र सुन्दरताहरू…। व्यक्तिका लागि विश्वास, सत्य र सुन्दरता पनि समयको सापेक्षतामा फेरिनु पर्ने रहेछ प्यारे ! वाह, जिन्दगीका टर्निङ प्वाइन्टहरू ! हरेक छिचोलिएका घुम्तीहरूपछि देखिने कस्ता कस्ता दृश्य र अवस्था ! मनको टोड्कोः संसारमा कतै पनि सेयर गर्न नमिल्ने, खतरा लाग्ने कुरा मान्छेले मनैमा गुम्स्याउन नसकेपछि ऊ रुखको टोड्कोमा गएर भए पनि ओकल्छ । हरेक मान्छेको कहीँ न कहीँ, कोही न कोही ‘टोड्को’ हुन्छ नै । आखिर त्यही सुरक्षित टोड्कोभित्रै निजी कथा–व्यथाहरू सुरक्षित रहन्छन् । मैले पनि आफ्नो लेखनीसँगै एउटा टोड्को बनाएको छु । के तिम्रो पनि कतै यस्तै टोड्को छ ?
भिडको सुखः हिँडेर मात्र पुगिँदैन, पढेर मात्र ज्ञान, बुद्धि र विवेक पलाउँदैन । सोच्न छाडिएको यो समयमा भिडमा लतारिनु मै ‘हाई सन्चो’ हुन्छ । सोच्ने जिम्मा ‘हुजुर’को ! सुख पाउने एउटै मन्त्र हो— तर्क नगर्ने, भिडको बाटो लुरुलुरु पछ्याउने । तर पुस्तक, बाटो र सोच गलत भए गन्तव्यमा पुग्न सकिँदैन । तिम्रो बाटो भने कुन हो ? यो चाहिँ छान्न सक्नुपर्छ प्यारे ! साहित्य र दर्शनको फेरोः संगत नगर्नु ती साहित्यकार, जिज्ञासु र दर्शनप्रेमीहरूको । उनीहरू धेरै सोचेर बौलाउँछन् । त्यस्ताको कुरा सुन्नु हुँदैन । साहित्यकारहरू बुद्धिभन्दा भावनाप्रधान हुन्छन् । भावनालाई विचार र मानवताबोधले साहित्यमा अझ सशक्त बनाउँछ । तर बुद्धि त दर्शन र विज्ञानको आधारस्तम्भ हो, जहाँ भावनालाई हाबी हुने अनुमति हुँदैन । केवल भावनाले मात्र संसार चल्दैन । के तिमीले बिसेकै हो ः आफ्नो आदर्श राज्यमा कविहरूलाई स्थान दिनु हुँदैन भनेर प्रसिद्ध ग्रीक दार्शनिक प्लेटोले भनेका कुरा । ‘द रिपब्लिक’ आदर्श राज्यको परिकल्पना गर्दा कवि र कलाकारहरूलाई त्यहाँ प्रतिबन्ध लगाउनुपर्ने भनेका छन् नी । सम्बन्धको गणितः सम्बन्धका आफ्नै आधार हुन्छन्— ती बन्छन् र भत्कन्छन् । जसरी मान्छेहरूको ज्ञान र सूचनाको क्षेत्रफल फैलिँदै जान्छ, त्यसैअनुसार सम्बन्धमा उतारचढाव आउँछ । हरेक सम्बन्ध कतै न कतै स्वार्थसँग जोडिएको हुन्छ । स्वार्थ र उद्देश्य एकअर्काका पूरक हुन् । स्वार्थका रूप, चरित्र र आदर्श फरक हुन सक्छन्, जसलाई आस र लोभले निर्देशन गरिरहेको हुन्छ । सफा, चिरिच्याट्ट कपडामा सजिएर अत्तर घसेका मान्छे पनि हृदयमा मैला र चरित्रमा दुर्गन्धित हुन सक्छन् । ब्रान्डेड कपडा, अत्तरको सुगन्ध, लक्जरी गाडी र नामअगाडि ‘डाक्टर’ लेखिँदैमा तिमीले अपेक्षा गरेजस्तै ऊ सुसंस्कृत नहुन पनि सक्छ । बिरामीलाई केवल ‘क्लाइन्ट’ सोच्ने डाक्टरले ‘अपरेशन इज सक्सेस, बट द पेसेन्ट इज नो मोर’ भनेको कतै भेटेका छौ ? आत्म–सेंसरसिपः म देशको सत्ताधारी राजनीतिको त कुरै गर्दिनँ, सिधै ‘सेल्फ सेन्सर’ गर्छु । यसलाई भारतको कुरा भनेर बुझ्नु । फासीवाद कहिल्यै कर्नल (बिगुल) फुकेर आउँदैन ।
ऊ रचनात्मक आलोचना पचाउनै सक्दैन । आफ्नो सोच बन्धकी नराख्ने बुद्धिजीवीहरू नै उसका महादुश्मन हुन्छन् । अहिले संसारकै प्रतिष्ठित अर्थशास्त्रीहरूमध्ये जीन ड्रेज एक हुन्, जसले सधैँ गरिब र जनताको पक्ष रोजे । उनी भारत आए, भारतीय महिलासँग विवाह गरे । नोबेल विजेता अमत्र्य सेन लगायतले आफ्ना पुस्तकमा उनलाई ‘सन्दर्भ स्रोत’ बनाएका छन् । तर तिनै ड्रेजलाई भारतको झारखण्ड पुलिसले गिरफ्तार ग¥यो र विश्वबौद्धिक जगत्मा कम्पन आएपछि मात्र रिहा ग¥यो । बुद्धिजीवी, प्रतिपक्ष र आलोचकहरूलाई तह लगाउन त्यहाँ ‘इडी’ छ, ‘सिबिआई’ छ । अदालत सत्ताको हितअनुकूल अधिकांश फैसला गर्छ, तर केही ‘रीढको हड्डी’ भएका दरिला न्यायाधीश पनि हुँदा रहेछन्, न्यूजक्लिकको मुद्दाको फैसला हेर त ! बाँकी आयोगहरू त सत्ताको सुविधा अनुसारकै अध्ययन प्रतिवेदन बुझाउन व्यस्त छन् । फेरिएको समयको ‘गीता’ः आफ्नैभित्र मौलाइरहेको डर र लोभलाई छिमल्न पनि बोल्नु र लेख्नुपर्छ । लोभी मानिस नै ठगहरूका लागि सबैभन्दा उत्तम ग्राहक हुन् । कुनै महान् आदर्शवादीलाई सत्तामा पु¥याइदिनुस्, ऊ हिजोकै आदर्शलाई सराप्न थाल्छ । जसलाई उसले हिजो अपराधी, खलनायक वा जनशत्रु भनेको थियो, स्वयम् त्यस्तैमा रूपान्तरित हुन्छ । अवसरको सम्भावनाभित्रै लोभ मौलाउँछ र मानिस चाकरमा फेरिन्छ । अवसर नपाउन्जेल आदर्शको गफ दिन सजिलो छ, तर अवसर पाउँदा वा पाउने निश्चित सम्भावना हुँदा पनि लोभमा नफसेको मान्छे नै वास्तवमा आदर्शवादी हो, जसलाई संसारले नायक मान्छ ।
बुझेर पनि मैले नबोल्ने कुराहरू
आज विश्व राजनीति वैचारिक संकटबाट गुज्रिरहेको छ । वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, लैङ्गिक, अल्पसंख्यक समुदाय, जलवायु परिवर्तन, यौनिक अल्पसंख्यक, सूचना प्रविधिबाट दीक्षित नयाँ युवावर्ग, र भूमण्डलीकरणको नाममा विश्वभरका तमाम समुदायको मानसिक र शारीरिक शोषण, बजारमाथिको पूर्ण निर्भरता, पूँजीको अत्यधिक केन्द्रीकरण, सांस्कृतिक साम्राज्यवादी शोषण आदिको व्यवस्थित ढङ्गले संश्लेषण म गर्नेवाला छैनँ । यो पनि भन्दिनँः पूँजीवादी राष्ट्रवाद र माक्र्सवाद आफैँमा आजको चुनौतीको सामना गर्न सकिरहेका छैनन् । त्यसैले नयाँ ढङ्गले समाजवादको बाटोमा जान निधार खुम्च्याउने कि नखुम्च्याउने ? कि यथास्थितिवादको अगाडि आत्मसमर्पण गर्ने ? म त भन्दै भन्दिनँ— मानिसको मूल्यांकन उसको विगतको योगदानमा होइन, वर्तमानको भूमिकामा गरिन्छ; इतिहासले पनि नायक वा खलनायक छुट्याउँदा पछिल्लो भूमिकालाई नै मुख्य आधार मान्छ । नभन्ने कुराहरू धेरै छन्ः जिज्ञासाको उत्तर, ज्ञानको खोज, आविष्कारको चाहना, जीवन र जगत्प्रतिको महाअध्ययन, अदृश्य भयको सामना, कर्महीन मिथ्या अपेक्षा, मानव सभ्यता र इतिहासको वस्तुवादी अध्ययन, अनि विज्ञान र प्रविधिको विकासले मानव सभ्यतामा पारेको असर… जति एउटा नास्तिकले चिरफार गर्न सक्छ, त्यति भक्तजन अर्थात् आस्तिकहरू कहिल्यै गर्न सक्दैनन् । यो पनि भन्दिनँः हिन्दू, मुस्लिम, शिख, इसाई वा यहुदी भक्तजनका प्रार्थनास्थल फरक भए पनि, उनीहरूको (अन्धभक्तिको) सोच र संस्कृति भने एउटै हुन्छ । कति छन् कति नभन्ने कुराहरूः ‘नेगेटिभ ग्रन्थि’ भएका मनुवाहरूको विशेषता भनेकै अर्काको विरोधमा दिल खुस हुनु हो । उनीहरू सदा त्यस्तै नकारात्मक शीर्षकको खोजीमा रहन्छन् । फर्जी सत्यतामा रमाउने मात्र होइन, त्यसमै उनीहरूको हड्डीसमेत हाँस्छ, तो क्या करें भाई ? कुनै पनि विषयको सत्यता जाँच्ने कष्ट गर्नुभन्दा पूर्वाग्रह नै उनीहरूको सोच बन्छ र त्यहीँबाट धारणा बनाएर कर्ममा उत्रिन्छन् । दासताहरूमा सबैभन्दा निम्न कोटीको दासता भनेकै ‘मानसिक दासता’ हो । तर यो कुरा हजुरलाई पच्दैन । हजुरलाई मन नलाग्ने कुरा गरेर म किन आपत् मोल्ने ?
यो त झन् भन्दिनँः त्यस्ता मान्छेले ‘हुस्सु दण्ड’ तिर्नैपर्छ, जसले विज्ञानको नियम थाहा पाउँदापाउँदै पनि निमको रूखमा सुन्तला फल्छ भन्ने मिथ्या विश्वास गर्छन् । कण्ठी बाँधेको वा तिलकधारी हुँदैमा ब्वाँसो कहिल्यै शाकाहारी बन्न सक्दैन भन्ने कुरा बुझ्न आवश्यक हुन्थ्यो, तर म यो पनि भन्दिनँ ।
हरेक समाजमा द्वन्द्व भइरहेको हुन्छ । जहाँ जीवन छ, त्यहाँ द्वन्द्व अनिवार्य छ । द्वन्द्वका रूपहरू समयक्रममा संघर्षमा फेरिन्छन् । परिस्थितिले मानिसको सोच र कल्पनालाई असर पार्छ र त्यसको अमिट छाप लेखक र लेखनमा पर्छ । मञ्चमा उभिएर भाषण ठोक्नेहरूभन्दा अक्षर लेख्ने लेखकहरूलाई सधैँ ठूलो चुनौती हुन्छ । भाषणकर्ताहरू प्रायः आफ्नै बोलीको हेक्का राख्दैनन् । धेरैजसो भाषणहरू कहीँ सङ्कलन नहुने हुँदा तिनको हिसाबकिताब पनि हुँदैन । भाषणबाजी गर्नेहरू त वैकल्पिकतर्क दिँदै सजिलै उम्कन सक्छन् । मानौँ, उनीहरू पुराना मान्यतालाई यसरी काट्छन्— जसरी कसाईले बोको रेट्दा उसको चुपीमा रगतको एक थोपा पनि लागेको नदेखोस् । कुनै जवाफदेही बन्नु नपर्ने हुँदा मौखिक व्याख्याताहरू उम्किन्छन्, तर लेखकीय समीक्षा भविष्यमा पनि हुने भएकाले लेखनले लेखकको कहिल्यै पिछा छोड्दैन । ऊ जिउँदो हुँदा पनि समीक्षित हुन्छ र मृत्युपश्चात् पनि । आफ्नो जमानामा अत्यन्तै सामथ्र्यवान् लेखक थिए— गोरख पाण्डे, रसियन साहित्यका लेर्मेन्तोभजस्तै । तर उनीहरूले सिल्भियाप्लाथले झैँ यौवनमै इहलीला समाप्त गरे । आत्महत्या सायद डरपोकहरूको अन्तिम विश्राम थलो होला । तर, जब देखेको सपनामा गहिरो चोट पुग्छ र परिस्थितिलाई बदल्ने शक्ति पनि बाँकी रहँदैन— त्यस्तो बेला भावनाप्रधान मानिसहरू आत्महत्या गर्दछन् होला । आत्महत्या पनि त अन्ततः आफैँले आफैँविरुद्ध गरेको एउटा कठोर विद्रोह नै हो । तर, सत्ताको भजन र चाकरीमा लेखिने स्तुतिगानले भने लेखकलाई जिउँदै आत्महत्या गराइसकेको हुन्छ । निकोलाई गोगोलबारे अलेक्जेन्डर हर्जिनले यस्तै सुन्दर विश्लेषण गरेका छन् । प्रतिबद्ध भनिएका लेखकहरूले सत्ताको चाकरी गरेका हाम्रै आँखै अगाडिका अनुभवहरू पनि प्रशस्तै छन् । विगतको गल्तीबोधबाट छुटकारा पाउने छटपटी वा कतैबाट आफ्नै आदर्शको अपहरण हुनु नै अन्ततः यस्ता लेखकहरूको आत्मिक वा भौतिक आत्महत्याको मुख्य कारक बन्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्