कोहलपुर (बाँके) ।
सञ्चारिका समूह नेपाल बाँके शाखाको २४औँ स्थापना दिवसको अवसरमा २०८३ सालको भित्तपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमको नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाहले उद्घाटन गरेकी थिइन् ।
शाखाद्वारा प्रकाशित भित्तेपात्रो समेत विमोचन गरिएको थियो । उपाध्यक्ष शाहले सञ्चारिका समूहले बाँके जिल्लामा उत्कृष्ट गतिविधि सञ्चालन गरिरहेको बताइन् । ‘बाँकेमा सञ्चारिका समूहको गौरवपूर्ण विगत छ । अग्रज महिला पत्रकारहरूको सक्रियता र योगदानका कारण २४ वर्षमा प्रवेश गरेको छ । नयाँ महिला पत्रकारहरूले निकै उत्कृष्ट काम गरिरहेका छन् ।
महासंघका तर्फबाट गर्नुपर्ने सहयोग गर्न म तयार छु,’ उपाध्यक्ष शाहले भनिन् । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप वाग्लेले सञ्चारिका समूहले बाँके जिल्लामा क्रियाशील रूपमा आफ्ना गतिविधि गरिरहेको भन्दै आगामी वर्षमा पनि थप क्रियाशील रूपमा अघि बढ्न आग्रह गरे ।
उनले वर्तमान सरकारले निजी मिडियालाई निरुत्साहित गर्ने नीति लिएकोले सम्पूर्ण पत्रकारहरू सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए । शाखाकी अध्यक्ष पवित्रा परियारले समूहको नियमित कार्यक्रमअन्तर्गत स्थापना दिवस र भित्तेपात्रो विमोचन गरिएको बताइन् । उनका अनुसार सञ्चारिका समूहले वर्षभरी विभिन्न गतिविधि सञ्चालन गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्