रुबी कुमारीः ‘मधेशीकी बेटी’को कीर्तिमानी उडान



नेपालको संसदीय इतिहासमा जुन जिम्मेवारी प्राप्त गरिन् रुबी कुमारीकै भाषामा त्यो ‘सरप्राइज’ थियो । उनी नेपालको संसदीय इतिहासमै सबैभन्दा कान्छी उपसभामुख हुन् । नेपालजस्तै संसदीय इतिहास भएका मुलुकमा हाल बहाल रहेका उपसभामुखहरूमध्ये पनि उनी कान्छी उपसभामुख नै हुन् । नेपालको उपसभामुख निर्वाचित हुँदा उनी २६ वर्षकी मात्र छन्। उनले नेपालकै कान्छी उपसभामुखको कीर्तिमान रचेकी छन् ।

    शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

२७ चैत २०८२ साँझ ६ः४५ बजे । प्रतिनिधिसभा बैठक भरिभराउ थियो । बैठक दिउँसो ४ः०० बजे सुरु भएको थियो । बैठक ठ्याक्कै ३ घण्टा ९ मिनेट २० सेकेण्ड चल्यो । बैठक सञ्चालन भएको २ घण्टा ४३ मिनेट ५३ सेकेण्ड जाँदा सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे, ‘यस सभाका माननीय रुबी कुमारीलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।’

सभामुखले प्रतिनिधिसभाको उपसभामुख बनेको घोषणा गर्दा श्रम संस्कृति पार्टीका सांसदहरूसँगै बसेकी रुबी कुमारी मन्द मुस्कुराइन् । सभामा सहभागी सदस्यहरूले टेबल ठटाएर उनलाई बधाई ज्ञापन गरे । फेरि, सभामुख अर्यालले ‘प्रतिनिधिसभाको उपसभामुख जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा माननीय रुबी कुमारीलाई मेरो व्यक्तिगत एवंम् प्रतिनिधिसभाको तर्फबाट कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दछु’ भनेर बधाई ज्ञापन गर्दा रुबी कुमारीले दुई हात जोडेर हल्का उठ्दै सभामुखप्रति सम्मान प्रकट गर्दा उनको मुहारमा स्पष्ट रूपमा खुसी देखिन्थ्यो ।

हुन पनि अत्यन्त छोटो राजनीतिक जीवनमा उनको छलाङ र प्राप्त जिम्मेवारी कम्ता चमत्कारिक छैन । नेपालको संसदीय इतिहासमा जुन जिम्मेवारी प्राप्त गरिन् रुबी कुमारीकै भाषामा त्यो ‘सरप्राइज’ थियो । उनी नेपालको संसदीय इतिहासमै सबैभन्दा कान्छी उपसभामुख हुन् । नेपालजस्तै संसदीय इतिहास भएका मुलुकमा हाल बहाल रहेका उपसभामुखहरूमध्ये पनि उनी कान्छी उपसभामुख नै हुन् । नेपालको उपसभामुख निर्वाचित हुँदा उनी २६ वर्षकी मात्र छन् । उनले नेपालकै कान्छी उपसभामुखको कीर्तिमान रचेकी छन् ।

‘नाई’की छोरीको ‘आदर्श’ बन्ने सपना

रुबी कुमारीको जन्म १८ चैत २०५६ मा भएको हो । उनी धनुषा जिल्लाको जनकपुरधाम नगरपालिका–१४ मुझेलियाकी स्थायी बासिन्दा हुन् । उनका बुबाको नाम सोगारथ ठाकुर र आमाको नाम रेणुका ठाकुर हो । सोगारथ साउदीमा मजदुरी गर्छन् । आमा गृहिणी हुन् । ठाकुर परिवारकी उनी साइली सन्तान हुन् ।

उनका चार दिदीबहिी र दुई भाइ छन् । सामान्य परिवारमा अभावमा हुर्किएकी रुबी कुमारीले २०७४ सालमा एसइई उत्र्तीण गरेकी थिइन् । धनुषाकै बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लो (इन्जिनियरिङ) अध्ययन पूरा गरेकी उनी हाल धनुषामै ब्याचलर इन इन्जिनियरिङ पढ्दै छिन्। सांसद बन्नुअघि उनी कन्सल्टेन्सीमा काम गर्थिन् । मासिक २० हजार तलब लिएर उनी पढाई खर्च जोहो गरिरहेकी थिइन् । उनको पारिवारिक आर्थिक अवस्था अहिले पनि अत्यन्त कमजोर छ ।

उनी भन्छिन्, ‘पहिला घरको आर्थिक अवस्था गम्भीर थियो । अहिले भने ठिकै छ ।’ उनी सांसद बन्नुअघिसम्म मासिक २० हजार रूपैयाँमा जागिर गर्थिन् । बुवा दश वर्षदेखि विदेशमा मजदुरी गर्छन् । आमाले अहिले पनि गाउँमा दुई बिघा जमिन अधियामा लिएर खेती गर्छिन् । उनको परिवारको प्रमुख जीविकोपार्जनको मुख्य स्रोत नै खेतीपाती हो । अहिले उनले जुन सफलता हासिल गरेकी छन् ।

त्यसका पछाडि मुझेलियाको सामान्य ठाकुर दम्पत्तिको संघर्षको कथा निकै कारुणिक छ । आफ्नो परिवार पाल्न बुवा सोगारथले इँटाभट्टामा काम गरे । सैलुन खोले । छोरीको विवाह गर्दा ऋणको भारीले थिचिएपछि सोगारथ साउदी अरेबिया हान्निए । अहिले पनि उनी त्यही मजदुरी गर्छन् । हाल स्वदेश फर्किएका उनी दुई महिने बिदामा घर आएका छन् ।

बुवाको संघर्षबारे रुबी कुमारी भन्छिन्, ‘हाम्रो समाजमा अहिले पनि छोरीलाई तल्लो दर्जामा राखिन्छ । मेरो बुवाले धेरै दुःख ग¥यो । हामीलाई पढायो । कहिल्यै अभाव महशुस हुन दिएन ।’ त्यसो त निरक्षर आमाको भूमिका समेत कम्ती छैन । आफू निरक्षर भए पनि उनकी आमा रेणुकाले कहिल्यै पनि विद्यालयको बाटो रोकिनन् । सधै हौसला दिइरहिन् ।

आफ्ना अभिभावकको संघर्षका अगाडि आफूले भोगेको दुःख र अभाव सामान्य भएको रुबी बताउँछिन् । मधेशमा छोरीलाई अहिले पनि पढाउन हुँदैन भन्ने मान्यता रहेको बताउँदै उनी भन्छिन्, ‘गाउँलेले बुवालाई छोरी नपढाउ भन्थे । तर बाबा मानेन् । स्कुल जान कहिल्यै रोकेन हामीलाई ।’ परिवारलाई लिएर उनको इच्छा छ, ‘बाबालाई विदेश जान नपरोस् । आमाले पनि दुःख गर्नु नपरोस् । भाइ बहिनीहरूले राम्रोसँग पढून् । ठूलो मान्छे बनून् । आफू सधैँ उनीहरूको आदर्श बनिरहूँ ।’

मधेशलाई दाइजोमुक्त बनाउने संकल्प

मधेशको एक सूदुर गाउँमा हुँदासम्म रुबी कुमारीको ठूलो सपना थिएन । उनी अध्यनन र जागिरलाई ध्यान दिइरहेकी थिइन् । तर भित्री मनमा भने ठूलै संकल्प गढेर बसेको थियो उनको मनमा । जसका लागि उनी वर्तमानमा संघर्ष गरिरहेकी थिइन् आफैसँग, समाजसँग । अहिले पनि मधेशका आम बेटीहरूले जस्तो नारकीय जीवन बिताइरहेका छन् रुबीको हकमा त्यति अभाव र अत्यासपूर्ण जीवन थिएन ।

उनी आफ्नो सवलतासँग फिटिक्कै सन्तुष्ट थिइनन् । सिंगो मधेशमा रहेको विभेद र अन्यायको जरो उखेल्ने संकल्प बोकेकी थिइन् । उनी भन्छिन्, ‘मधेशमा धेरै समस्या छ । दाइजो प्रथा र बेरोजगारी । कृषि र शिक्षा क्षेत्रमा उत्तिकै दयनीय अवस्था छ । बालविवाह मधेशका छोरीको मृत्युको अर्को कारण हो । अनेकन समस्यासँग गु्रजिरहेको छ मधेश अहिले पनि ।’

उनले मधेशमा दाइजोका कारण मारिएको देखेकी छन् । जिउँदै जलाइएको घटनाको साक्षी बनेकी छन् । दाइजो नदिँदा हात काटिदिएको, खुट्टा काटिदिएको आँखै अगाडि देखेकी छन् । उनी भन्छिन्, ‘मधेशमा छोरीहरू गर्भमै मारिन्छन् । हाम्रोतिर गर्भ बस्दा भिडिओ एक्सरे गर्छन् । छोरा हुँदा जन्म दिन्छन् । छोरी हुँदा मारिदिन्छन् ।’ मधेशमा मुख्य समस्याका रूपमा दाइजो प्रथा नै भएको जिकिर गर्ने रुबी परिवार समेत यसबाट पीडित छ ।

आफ्नो घरमा जेठी दिदीको विवाह गर्दा चार लाख रूपैयाँ नगद र एउटा मोटरसाइकल दाइजो स्वरुप दिएको उनले बताइन् । उनका अनुसार घरको आर्थिक अवस्था कमजोर थियो । त्यत्रो पैसा दिने हामीसँग हैसियत छैन । एक पडकाष्टमा रुबी रुदैँ सुनाउँछिन्, ‘त्यतिबेला मेरो बाबाले साहुबाट ऋण निकाल्यो । त्यो ऋण तिर्न विदेश जानुप¥यो । अहिले पनि किस्ता तिरिरहेछ ।’ यही विषयमा चैत २५ गतेको प्रतिनिधिसभामा पहिलोपटक बोल्दै उनले मधेशमा अहिले पनि दाइजोका कारण धेरै महिला पीडित भइरहेको बताइन् ।

उनले मधेशमा दाइजो मुक्त गर्न सरकारको ध्यानाकर्षण गराइन् । बैठकमा उनले भनिन्, ‘सरकारलाई मेरो आग्रह छ । मधेशमा दहेज मुक्त होस् । यसका कारण धेरै छोरी पीडित र हरेक दिन मरिरहेको छ ।’ यसैगरी मधेशमा युवाहरूमा बेरोजगारीको समेत विकराल रहेको उनको भनाइ थियो । मधेशमा रोजगारी सिर्जना गर्न रुबी कुमारीले माग गरिन् ।

यस्तै कृषि क्षेत्रमा समेत विकराल समस्या रहेको बताउँदै उनले सिँचाइ नहुँदा जमिन बाँझो रहेको बताइन् । ‘म पनि एउटा किसानको छोरी हुँ । यी सबै दुःख मैले भोगेर आएको छु । सरकार परिवर्तन भएको छ । कृषिको समस्या समाधान गरियोस्’ उनको भनाइ थियो । प्रतिनिधिसभाको उपसभामुख बनेकी रुबी कुमारीको एउटा अठोट छ, ‘मधेश र सिंगो नेपाललाई दाइजो मुक्त बनाउने ।’

श्रम अभियानको प्रभाव, जेनजी आन्दोलनपछि राजनीति

२३ र २४ भदौ २०८२ मा जेनजी आन्दोलन भयो । आन्दोलनका कारण तत्कालीन सरकार नै ढल्यो । आन्दोलनपछि सुशीला कार्की नेपालको प्रथम महिला प्रधानमन्त्री बनिन् । अन्तरिम सरकारले २१ फागुनमा निर्वाचनको मिति तोक्यो । त्यसपछि विभिन्न पार्टी जन्मिए । त्यसमध्येको एक थियो, श्रम संस्कृति पार्टी ।

धरानका तत्कालीन नगरप्रमुख हर्क साङपाङ राईको नेतृत्वमा १६ कात्तिकमा निर्वाचन आयोगबाट दलको मान्यता पायो । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुबी कुमारी सोही पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनिन् । सांसद बनेको एक महिनामै उपसभामुख नै बनेकी छन् । सामान्य परिवारमा हुर्के पढेकी रुबी कुमारीको राजनीतिमा आउने कुनै सपना थिएन । तर, आफू मुख्य तीन कारणले राजनीतिमा होमिएको उनी बताउँछिन् ।

पहिलो, उनी केही वर्षदेखि हर्क साङपाङको श्रम अभियानबाट प्रभावित थिइन् । दोस्रो कारण, जेनजी आन्दोलनले उनलाई राजनीतिमा लागेर केही योगदान गर्नुपर्छ भन्ने जागरण ल्याइदियो । तेस्रो कारण भनेको मधेशमा उनले दाइजो लगायतका विकराल समस्या भोगेकी थिइन् । आफ्नो तर्फबाट केही गर्नुपर्छ भन्ने थियो । जेनजी आन्दोलनपछि उनी व्यक्तिगत सक्रियतामा श्रम संस्कृति पार्टीसँग आबद्ध भइन् । संयोगले सांसद बन्ने सौभाग्य मिल्यो । उपसभामुख उनको जीवनकै सबैभन्दा ठूलो ‘सरप्राइज’ हो ।

उनी भन्छिन्, ‘जेनजी आन्दोलन भयो । मलाई लाग्यो म पनि केही गर्छु । म मधेशको छोरी हो । केही त गर्नुपर्छ ।’ उनले हर्क साङपाङ धरानको मेयर हुँदा चलाएको श्रम अभियानलाई नजिकबाट नियालेकी थिइन् । आफू सो अभियानबाट निकै प्रभावित भएको उनी बताउँछिन् । जेनजी आन्दोलनले उनलाई थप बल दियो । साङपाङले पार्टीसमेत खोले । उनी मधेशस्थित सो पार्टीका मानिस खोज्दै गइन् । खोज्दै जाँदा उनले श्रम संस्कृति पार्टीका मधेशका प्रतिनिधि दीपकजंग ठाकुरलाई भेटिन् ।

रुबी सुनाउँछिन्, ‘सो पार्टीका मान्छे खोजेँ । नम्बर खोजेर फोन गरेँ । भेटेरै मलाई पार्टीमा राख्नुहोस् । म सानो पद लिएर पार्टीमा काम गर्छु । म पनि श्रमदान गर्छु ।’ त्यसपछि उनी ठाकुरसँग निरन्तर सम्पर्कमा रहिन् । चुनावी अभियानकै क्रममा मंसिर महिनामा बर्दिबासमा भएको कार्यक्रमलाई हर्क साङपाङलाई पहिलोपटक देखिन् । उनको समूहले साङपाङलाई स्वागत र सम्मान समेत गरेको थियो । पछि पार्टीले निर्वाचनमा भाग लिने भएपछि दीपकले रुबीलाई घरमै पुगेर राजनीति गर्नेबारे सोधेका थिए । उनलाई पार्टीले समानुपातिक सूचीमा राखेको रहेछ ।

दीपकले फोन गरेरै समानुपातिक सूचीमा नाम राखेको भन्दा आफू सरप्राइज भएको उनको भनाइ छ । निर्वाचनपछि उनी सांसद बनिन् । त्यतिबेला हर्कसँग पहिलोपटक भेटेको रुबी बताउँछिन् । उनी सांसद बनेपछि निकै चर्चामा रहिन् । प्रतिनिधिसभामा झण्डै दुईतिहाइ बहुमतप्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उपसभामुख बन्नु उनको जीवनको अर्को सरप्राइज हो । जेनजी आन्दोलनकै बलमा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिको पुरातन भरिभाषा नै बदलिदिएको छ । प्रचण्डले भन्ने गरेझैँ वर्तमान व्यवस्थाका सुन्दर फूलहरूमध्येकी एक हुन्, रुबी कुमारी ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार