लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता



बाँके : प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले मंगलबार नेपालगन्जमा अवस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थलगत तथा नीतिगत अवस्थाबारे जानकारी लिएका छन् । विश्वविद्यालयमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा जग्गा प्राप्ति, नीतिगत जटिलता तथा स्थायी दरबन्दीसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो ।सो अवसरमा माननीय सुनारले आफू निर्वाचित बाँके क्षेत्र नं.३ मा विश्वविद्यालय सञ्चालन भइरहेको उल्लेख गर्दै यससँग सम्बन्धित सबै कामलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले विश्वविद्यालयको दीर्घकालीन विकासका लागि आवश्यक सहयोग र समन्वय गर्न आफु तयार रहेको समेत स्पष्ट पारे ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्मको समग्र अवस्थाबारे जानकारी गराउँदै विकासका प्रयास र चुनौतीहरू प्रस्तुत गरेका थिए । हालसम्म विश्वविद्यालयको आफ्नै भवन नभएकाले अस्थायी रूपमा शैक्षिक विस्तारमा कठिनाइहरू देखिएको बताए । त्यसैगरी, डिन डा.निरज के.सी.ले प्रदेश सरकारले विश्वविद्यालयलाई गौरवको योजनामा समावेश गरे पनि अस्पष्टताका कारण आवश्यक जग्गा प्राप्त गर्न समस्या भइरहेको बताएका थिए । उनले समयमै नीति सुधार नभए शैक्षिक विकास प्रक्रियामा थप अवरोध आउन सक्ने संकेत गरे । त्यस्तै विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेले विश्वविद्यालयमा कृषि, पर्यटनलगायतका संकाय थप गर्न सके शैक्षिक दायरा विस्तार हुने र क्षेत्रीय आवश्यकतासमेत सम्बोधन हुने बताए । साथै उनले विश्वविद्यालय स्थापना गर्दा स्थायी दरबन्दीको निर्क्योल गर्नुपर्ने धारणा राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार