रारातालमा पर्यटक आगमन उत्साहजनक रूपमा वृद्धि



मुगु ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने रारातालमा चालू आर्थिक वर्ष २०८२–०८३ को ११ महिनामा पर्यटक आगमन उत्साहजनक रूपमा बढेको देखिएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो ।

निकुञ्ज प्रशासनले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म ११ हजार बढी पर्यटकले रारातालको भ्रमण गरेका छन् । चालू आर्थिक वर्षको ११ महिनामा पर्यटक आगमन उत्साहजनक रूपमा बढेको हो । गत वैशाख १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा नेपाल, सार्क राष्ट्र र अन्य देशका गरी ११ हजार १४६ जना पर्यटकले रारा भ्रमण गरेका हुन् ।

निकुञ्ज कार्यालयका मुख्य वरिष्ठ वन संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार सो अवधिमा नेपालका आन्तरिक पर्यटक १० हजार ९७१ रहेका छन् भने सार्क राष्ट्रबाट ६९ र अन्य देशबाट १०६ जना पर्यटकले रारा भ्रमण गरेका छन् । उक्त अवधिमा पर्यटक प्रवेश शुल्कबाट मात्र २४ लाख १८ हजार ६३० रूपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।

त्यसैगरी दण्ड जरिवाना, रोयल्टी, वन पैदावार बिक्री तथा अन्य आय शीर्षकहरूबाट समेत उल्लेखनीय राजस्व संकलन भएको छ । यी सबै शीर्षक समेट्दा ११ महिनाको अवधिमा कुल ४९ लाख ७३ हजार ७५ रूपैयाँ राजस्व संकलन भएको हो । निकुञ्ज कार्यालयका अनुसार संकलित कूल राजस्वमध्ये ३० देखि ५० प्रतिशतसम्म रकम अर्थ मन्त्रालयमार्फत विनियोजन भई आगामी वर्षमा सम्बन्धित निकुञ्जको मध्यवर्ती क्षेत्र विकासमा खर्च गर्ने व्यवस्था रहेको छ ।

यसले स्थानीय समुदायको विकास, पूर्वाधार निर्माण तथा संरक्षण कार्यमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । राराको मनमोहक प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा पछिल्लो समय सडक यातायातमा भएको सुधारका कारण पर्यटकको आकर्षण क्रमशः बढ्दै गएको हो । पर्याप्त सुविधासम्पन्न होटल, स्थानीय परिकारको प्रवद्र्धन तथा सेवा सुविधाको थप विस्तार गर्न सके आगामी दिनमा पर्यटक सङ्ख्या अझै वृद्धि हुने विश्वास गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

पर्यटक आगमनमा वृद्धि हुनुमा सडक तथा हवाईसेवा निरन्तर सञ्चालनमा आउनु र सामाजिक सञ्जालमार्फत रारातालको प्रचारप्रसार प्रभावकारी हुनु मुख्य कारणका रूपमा लिइएको छ । साथै, पछिल्लो समय आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनु पनि सकारात्मक कारक बनेको निकुञ्जका अधिकृत श्रेष्ठले बताए ।

‘रारातालको स्वच्छ पानी, वरिपरिको हरियाली वन, हिमाली दृश्य तथा शान्त वातावरणले पर्यटकलाई आकर्षित गर्दै आएको छ,’ उनले भने, ‘पर्यटकको चाप बढेसँगै स्थानीय व्यवसायीहरू उत्साहित देखिएका छन् भने होटल तथा होमस्टे सञ्चालनमा समेत वृद्धि भएको छ ।’
तर पर्यटक आगमनसँगै वातावरण संरक्षणको चुनौती पनि थपिएको स्थानीय सरोकारवालाहरू बताउँछन् ।

निकुञ्ज प्रशासनले फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण र दिगो पर्यटन विकासमा ध्यान दिन आवश्यक रहेको जनाएको छ । स्थानीय तह र सरोकारवाला निकायहरूले समन्वयमा काम गर्दै रारा क्षेत्रलाई व्यवस्थित र दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार