वीरेन्द्र जैसी । नेपालगन्ज ।
सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल परीक्षा) भएको तीन दिनभित्र नतिजा प्रकाशित गरिसक्नुपर्ने व्यवस्था छ । तर, अहिलेसम्म यातायात कार्यालयहरूले ट्रायलको नतिजा प्रकाशन नगरी लुकाउने गरेका छन् ।
यातायात व्यवस्था कार्यालयहरूले लिखित परीक्षाको नतिजा प्रायः परीक्षा सम्पन्न भएकै दिन प्रकाशित गर्ने गरेका छन् । जसलाई उनीहरूले आफ्नो फेसबुक पेजमा गुगल ड्राइभ लिंक शेयर गरेर वा सिधै नतिजाको फोटा प्रकाशित गरेर सार्वजनिक गर्छन् । तर, प्रयोगात्मक परीक्षाको नतिजा भने सार्वजनिक नै गर्दैनन् ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जले पनि लिखित परीक्षाको नतिजा गुगल ड्राइभ लिंक फेसबुकमा राखेर सार्वजनिक गर्छ । तर, अहिलेसम्म कुनैपनि प्रयोगात्मक परीक्षाको नतिजा कार्यालयले सार्वजनिक गर्ने गरेको छैन । नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय त्यही कार्यालय हो, जसमा यसअघि कार्यरत कर्मचारीहरूको पूरै सेट र केही बिचौलियासमेतका नाममा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
उक्त मुद्धामा कर्मचारीहरूमाथि लगाइएको आरोपले परीक्षाको नतिजा लुकाउनुका पछाडि अनुचित आर्थिक लाभ लिएर नतिजा हेरफेर गर्ने उदेश्य रहेको हुनुसक्नेतर्फ संकेत गर्छ । अख्तियारले २०८२ साल फागुन १४ गते विशेष अदालतमा दायर गरेको आरोपपत्रमा कार्यालयका कर्मचारीहरूले ड्राइभिङ सेन्टर सञ्चालन गर्ने बिचौलियाले उपलब्ध गराएको परीक्षार्थीको विवरणका आधारमा नतिजामा हेरफेर गर्ने र त्यसवापत घुस तथा रिसवत लिने गरेको आरोप लगाइएको छ ।
तर, अहिलेपनि उक्त कार्यालयले प्रयोगात्मक परीक्षाको नतिजा लुकाइरहेकै छ । परीक्षार्थीले आफ्नो नतिजा थाहा पाउन कार्यालयमा पुगेर परीक्षा फाँटमा काम गर्ने कर्मचारीलाई सोधेपछि मात्रै नतिजा थाहा पाउन सक्छन् । कार्यालयका निमित्त प्रमुख कालीदास बस्यालले उक्त नतिजा किन प्रकाशन नगरिएको हो भन्ने कारण बताउन सकेनन् ।
यद्धपि उनले अब छिट्टै उक्त नतिजा पनि प्रकाशन गर्ने तयारीमा रहेको दाबी गरे । उनले देशभरका कुनैपनि कार्यालयले नतिजा प्रकाशन नगर्ने गरेको बताउँदै भने, ‘उक्त नतिजा प्रकाशन गर्नेमा हामी नै पहिलो कार्यालय हुनेछौँ ।’ लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदी यस सम्बन्धमा यसअघि परिपत्र गरिएपनि कार्यान्वयन नभएकोबारे कार्यालय जानकार नरहेको बताउँछन् ।
‘यस सम्बन्धमा तपाईंले जानकारी दिएपछि थाहा भयो । म यो कुरा सचिवसमक्ष पु¥याउँछु,’ सुवेदीले भने । तर, प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक नगर्ने विषयमा सरकार जानकार नरहेको विषय पत्यार लाग्ने खालको छैन । किनकी अहिलेसम्म लाइसेन्सको निर्णायक परीक्षाको नतिजा गुपचुपमै राख्ने गरिएको विषय सरकारलाई थाहा नहुने विषय होइन ।
परीक्षाको नतिजा लुकाउँदा सेवाग्राहीहरूले कि त आफै कार्यालयमा पुगेर जानकारी लिनुपर्ने हुन्छ भने कि त बिचौलियाको सहारा लिनुपर्ने हुन्छ। ट्रायलका क्रममा सामान्यतया परीक्षार्थी उतीर्ण भए नभएको भने थाहा हुने भएपनि कार्यविधिको अनुसूची ७ मा तोकिएबमोजिम अंक घटाउनुपर्ने परीक्षार्थीहरूको नतिजा भने तुरुन्तै थाहा हुन सक्दैन । प्रहरीले ट्रायल परीक्षा लिँदा उतीर्ण भए नभएको अनौपचारिक रूपमा जानकारी दिएपनि औपचारिक रूपमा जानकारी लिन कार्यालयमै पुग्नुपर्ने अवस्था छ ।
कार्यविधिमा प्रयोगात्मक परीक्षा सम्पन्न भई परीक्षा दिई उत्तिर्ण भएका परीक्षार्थीहरूको रोल नम्बर तथा नाम थर खुलाई दुई प्रति सूची तयार गरी एक प्रति परीक्षा स्थलमा र एक प्रति कार्यालयको सूचना पाटीमा टाँस्नु पर्ने व्यवस्था छ । सम्भव भएसम्म उक्त सूचीको एक प्रति कार्यालयको वेवसाइटमा समेत प्रयोगात्मक परीक्षा सम्पन्न भएको दिनदेखि अधिकतम तीन कार्यदिन भित्र प्रकाशन गर्नु पर्ने उक्त निर्देशिकाले भनेको छ ।









प्रतिक्रिया दिनुहोस्